पूर्वराजाको आह्वानपछि जुर्मुराए राजावादी, ज्ञानेन्द्र शाही भन्छन्- अब जनमत संग्रहका लागि संघर्ष
राप्रपा पूर्वअध्यक्ष लोहनीले गरे कार्यसम्पादन समितिको बैठक बोलाउन माग


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसका सन्दर्भमा दिएको शुभकामना सन्देशले राजावादी वृत्तमा सकारात्मक तरंग फैलिएको छ । अब राजतन्त्र पुन:स्थापनका लागि निर्णायक संघर्ष हुने भन्दै उनीहरू जुर्मुराएका छन् ।
आफ्नो शुभकामना सन्देशमा पूर्वराजाले ‘देश जोगाउका लागि आफूलाई साथ दिन’ आह्वान गरेका थिए । आफूले गरेको त्यागलाई कमजोरी नठान्न पनि उनले दलहरूलाई चेतावनी दिएका छन् ।
पूर्वराजाको शुभकामना सन्देशमा भनिएको छ, ‘हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौं । नेपालको उन्नतिका लागि हामीबाट अरु के-के त्याग गर्नुपर्ने हो, हामी तयार छौं । अब समय आयो । राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्छौं ।’
पूर्वराजाबाट देशको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै आफू फेरि शक्तिमा फर्किने चाहना अभिव्यक्त भएको यो पहिलोपटक भने होइन । विभिन्न शुभकामना मन्तव्यहरूमा उनले घुमाउरो तरिकाले यस्तो चाहना मुखरित गरिरहेका हुन्छन् । तर, अरुबेला मौन बस्छन् । यिनै वक्तव्यवाजीभन्दा बाहेक राजतन्त्र पुन:स्थापनाका लागि उनले आफ्नोतर्फबाट कुनै ठोस प्रयास अघि बढाएको पाइँदैन ।
यसपालिको वक्तव्यमा भने उनले मुर्तरूपमा नै आफूलाई साथ दिन आह्वान गरेकाले राजावादी क्याम्प उत्साहित बनेको छ । ‘अब राजाले केही गर्दैछन्’ भन्ने भाव राजावादीहरूमा पैदा भएको छ ।
पूर्वराजाको यो अभिव्यक्तिलाई साहसिलो सम्बोधनको रूपमा लिन्छन् राप्रपाका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘फागुन ७ नेपालीहरूको लागि ऐतिहासिक महत्व र उपलब्धिको दिन हो । यस सन्दर्भमा राजा ज्ञानेन्द्रबाट राष्ट्रियता, प्रजातन्त्र र जनताको पक्षमा भएको साहसिलो सम्बोधन प्रशंसनीय र सबै पक्षबाट मननीय छ ।’
पूर्वराजाको यो अभिव्यक्तिपछि राष्ट्रियता, प्रजातन्त्र, जनताको हित र सर्वोच्चतालाई केन्द्रबिन्दुमा राखेर गम्भीर छलफल गर्न चाँडै राप्रपा कार्यसम्पादन समितिको बैठक राख्नुपर्ने उनको माग छ ।
राप्रपा महामन्त्री डा. धवलशम्शेर राणाले पनि पूर्वराजाको सम्वोधनलाई समर्थन जनाउँदै स्टाटस लेखेका छन् ।
‘राष्ट्रिय एकता सुदृढ गरी देश बचाउने र बनाउने महत्वपूर्ण अभिभारा आजको पुस्ताको कॉधमाथि इतिहासले सुम्पिएको छ,’ उनी लेख्छन्, ‘यसै क्रममा प्रजातन्त्रलाई सुदृढ गर्ने र प्रजातन्त्रको सार्थक प्रतिफल जनतासमक्ष पुर्याउने उद्देश्यसाथ देशलाई संकटबाट निकास दिन राजाबाट सम्पूर्ण नेपालीको साथ खोजिबक्सेको छ, त्यसप्रति हाम्रो पार्टी राप्रपा र मेरो पनि पूर्ण समर्थन छ ।’
राप्रपाको केन्द्रीय कार्यसमितिले ‘अवस्था बदल्न व्यवस्था बदलौं’ भन्ने मूल नारासहित निषेधको राजनीतिलाई अन्त्य गर्दै युगानुकूल नेपालको पहिचान र गौरव कायम गरौं भने लक्ष्य लिई आन्दोलनको थालनी गरिसकेको र यसलाई निरन्तररूपमा चलाइने उनको भनाइ छ ।
राणा थप्छन्, ‘राजाको पछिल्लो आव्हानप्रति संवेदनशील हुँदै देशलाई गम्भीर संकटबाट बाहिर निकाल्न आजकै दिनबाट सबै पार्टी, समुह र नेपालीले मिलेर अघि बढौं ।’
राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि देश बचाउन र बनाउनका निम्ति भएको आह्वानप्रति विनाआग्रह र पूर्वाग्रह सहयोगको हात बढाउन सबैसँग आग्रह गरेका छन् ।
उनले भनेका छन्, ‘नेपालको एकीकरण, प्रजातन्त्रको स्थापना र आधुनिकीकरण राजा र जनताको साझा प्रयासबाट हुँदै आएको इतिहास साक्षी छ । १८ वर्षअघि षड्यन्त्रपूर्वक टुटाइएको राजा र जनताबीच एकताको धागोलाई पुनः जोडेर देश बचाउन र बनाउन आजको दिनले प्रेरणा देओस् ।’
पछिल्लो समय नवराजावादीका रूपमा उदाएका व्यवसायी दुर्गा प्रसाईंले पनि पूर्वराजालाई समर्थन जनाउँदै स्टाटस लेखेका छन् । ‘राजा आफैंले समेत तदारुकता देखाएको बेला’ सबै जुट्नुपर्ने उनको मत छ ।
प्रसाईंले लेखेको स्टास यस्तो छः
अब भएन भनेर बस्ने होइन, राजा आफैँले समेत तदारुकता देखाएको यो क्षण हामी सबै जुट्ने बेला हो । हेर्दा सुन्दर लागेर मिठो होला भनेर टिपेको फल विषाक्त निस्किएको थाहा पाएपछि पनि खायौं भने असर गर्छ नै । त्यस्तै यो व्यवस्था पनि मिठो, पौष्टिक सोचेको तर विषाक्त फल निस्कियो । यो बिशाक्त व्यवस्था फालेर सारा नेपाली अट्ने, सिङ्गो नेपाल देखिने, राजा र बैद्दिक सनातन हिन्दू धर्मसहितको संवैधानिक राजसंस्था र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, जनतालाई सेतो हात्ती बनेको प्रदेश खारेज, समानुपातिक खारेज, धर्मनिरपेक्षता खारेज गरी हिन्दूराष्ट्रसहित को सुन्दर शान्त परिस्कृत नेपाल निर्माणको महाअभियानमा सबै जोडिन म सबै नेपाली नागरिक हरूलाई पुनः आव्हान गर्न चाहान्छु ! जय देश !’
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले हिजै फेसबुकमार्फत सबैलाई तयारी अवस्थामा रहन आह्वान गरेका छन् ।
उनी लेख्छन्, ‘प्रजातान्त्र दिवसको उपलक्ष्यमा शुभ सन्देश प्राप्त जो- जहाँ छौं त्यतै स्थानमा रहनका साथै तयारी अबस्थामा रहन अनुरोध गर्दछौं । यो सन्देश सबैमा पुर्याउन अपील गर्दछौं ।’
शाहीको यो स्टाटसको आशय के हो त ? हामीले उनैलाई सोध्यौँ । जवाफमा उनले अब राजतन्त्र र गणतन्त्रको छिनोफानोका लागि जनमत संग्रह गराउन निर्णायक दबाब दिइने बताए ।
‘पूर्वराजाको अभिव्यक्ति यत्तिकै हचुवामा आएको होइन । पूर्वराजालाई साथ दिन अब हामी अगाडि बढ्ने हो । संसददेखि सडकसम्म हामी जनमतसंग्रहको आवाज उठाउँछौं । यसको छिनोफानो हुनैपर्छ,’ उनले नेपाल प्रेससँग भने ।
उनले राजावादी सबै शक्ति र गणतन्त्रवादी पार्टीहरूमा रहेका राजाका शुभेच्छुकहरू एक ठाउँमा आएर आन्दोलनको आँधिबेहेरी ल्याउने उद्घोष गरे ।
मेरो बाउ बाजे पनि राष्ट्र निर्माण थिए मलाई देश जिम्मा देउ अरूलाई किन ? म चलाउछु देश भन्न सबै नेपालीलाई छुट झ र मलाई पनि त्यस्तै पुर्व राजा ज्ञानेन्द्र शाहको विचार होला
यो Bharat Kumar Thapa बहुलायो|