खेलकुदमन्त्रीको अनविज्ञता : एनएसएललाई ‘एनसेल’ बुझेपछि…

काठमाडौं । नेपालको फुटबल फ्रेन्चाइज प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण आउँदो चैतमा हुँदैछ । फागुन १० गते अक्सन हुन लागेको उक्त प्रतियोगिताको लागि सहभागी टोलीले मार्की खेलाडी र रिटेन खेलाडी धमाधम भित्र्याइरहेका छन् ।
नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसईएम) को आयोजनामा एनएसएलको तेस्रो संस्करण आउने चैत १६ गतेदेखि हुन लागेको हो । २०७७ सालमा पहिलो संस्करण भएको उक्त फेन्चाइज प्रतियोगिताको तेस्रो संस्करण हुन लाग्दासम्म पनि खेलकुदको विभागीय मन्त्री भने यसबारे आधारभूतरूपमै अनविज्ञ देखिएका छन् । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले फुटबलमा हालसम्म कुनै पनि फ्रेन्चाइज प्रतियोगिता नभएको अभिव्यक्ति हालै दिए ।
गत पुस ९ गते नेपाल भलिबल संघको एक सार्वजनिक कार्यक्रममा खेलकुद मन्त्री चौधरीले ‘फुटबलले पनि अब फ्रेन्चाइज लिग गर्ने बेला भएको’ बताएका थिए ।
‘क्रिकेटमा निजी स्रोतको कारणले अघि बढ्यो । भलिबलमा त्यस्तै भइराखेको छ । अब कबड्डी पनि सुरूआत भइसकेको छ । एउटा चिजमात्रै बाँकी छ ग्रुप गेममा । अब फुटबल बाँकी छ । फुटबलका साथीहरू आउनुभएको छ भने तपाईँहरू सोच्नुस् । तपाईँहरूलाई सोच्न आग्रह गरेँ,’ उनले भनेका थिए ।
उक्त त्रुटिपूर्ण अभिव्यक्ति सुधार्नुको सट्टा ढाकछोप प्रयास गरिरहेका छन् मन्त्री चौधरी । केही दिनअघि एक टेलिभिजन अन्तर्वातामा पनि पुनः गल्ती दोहोर्याए । उनले फुटबल फेन्चाइजका लागि एन्फासँग कुरा अगाडी बढेको दाबी गरे ।
पत्रकारः फुटबलको फ्रेन्चाइज लिग हुनुपर्छ भनेर भन्नुभएछ । फुटबलमा त फ्रेन्चाइज लिगको तेस्रो संस्करण चल्दैछ होइन ?
मन्त्रीः लिग चलेता पनि… जुन तरिकाबाट प्राइभेट स्तरमा प्राइभेट लगानीकर्ताहरूको एउटा प्रायोजकको रूपमा कुनै छ । तर, जस्तै क्रिकेटमा एउटा टीम किन्यो । जनकपुर एक-दुई जनाले किन्यो । कर्णाली किन्यो । त्यो किसिमको त फुटबलमा छैन । मैले त्यो भन्न खोजेको हो ।
पत्रकारः तपाईंले सोचेको जस्तो ग्राण्ड फुटबलको लिग चाहीँ कहिले सुरू गर्नुहुन्छ त ?
मन्त्रीः एन्फासँग कुरा चलिराखेको छ । फुटबलको कुरा पनि अगाडि बढाएका छौं । हामीले दुई-तीन महिना खोज्दा-खोज्दा नजिक-नजिक आइपुगेका छौं ।
यस्तै आइतबार हिमालय टेलिभिजनबाट सार्वजनिक भएको अन्तर्वातामा पनि मन्त्रीले आफ्नो गल्ती सुधारेनन् । मन्त्रीले पटकपटक सार्वजनिक फोरममै गलत अभिव्यक्ति दिइरहदा उनको सचिवालयले ध्यान दिएको देखिँदैन । एउटा त्रुटि ढाकछोप गर्न उनी थप गलत कुरा बोलिराखेका छन् । अन्तर्वातामा उनले नेपाल सुपर लिगलाई छोटकरीमा ‘एनसेल’ भनिदिए ।
पत्रकारः एक सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि खेलकुद मन्त्री गएर भाषण गर्ने क्रममा जसरी क्रिकेटमा हामीसँग फेन्चाइज लिग आयो, त्यसैगरी फुटबलमा पनि फेन्चाइज लिग सुरु गर्नुपर्छ भन्दिनुभएछ । तपाईं फुटबलमा फेन्चाइज लिग सुरु भएको थाहा थिएन कि बिर्सिनुभो ?
मन्त्रीः मैले सोचेको फेन्चाइज लिग यो होइन । मैले भन्न खोजेको त्यो लिग होइन ।
पत्रकारः तपाईँको जिब्रो चिप्लियो ?
मन्त्रीः जिब्रो चिप्लिएको होइन । एनपीएल व्यक्ति, संस्थाले किनेको ८ वटा हो । करोड रूपैयाँ टीम किन्यो । खेलाडीहरूलाई लगानी भयो । अक्सन गरियो । २० लाख भयो, २५ लाख भयो, एउटा क्याटोगरी भयो । फुटबलमा हामीले त्यो चाहेको हो । लिग त १० वर्षदेखि गरिराखेको छ ।
पत्रकारः एनएसएल पनि भइराखेको छ नि !
मन्त्रीः एनसेल त प्रायोजकमात्र हो । मैले पनि एउटा टीम किनेँ भनि म पनि एउटा प्रायोजक हुन्छु । तपाईंले किन्नुभयो भने तपाईंको पनि एउटा टिमको प्रायोजक हुन्छ । जहाँबाट पैसा ल्याउनुस् । या जग्गा बेचेर ल्याउनुस् । खेलाडीको अक्सन गरेर मैले यो खेलाडी किन्छु है भनेर यसरी कल्पना गरेको जसरी एनपीएल भयो ।
खासमा एनएसएल पनि एनपीएलजस्तै फ्रेन्चाइज लिग नै हो, जसको कुरा उनी गरिरहेका छन् । एनएसएलको तेस्रो संस्करण हुन गइरहेको छ, जसमा ७ टीमले सहभागिता जनाएका छन् । ती टीमले एक-एक जना मार्की खेलाडी तोक्ने र चाहेका खेलाडी रिटेन गरेर र बाँकी फागुन १० गते अक्सनमार्फत खेलाडी भित्राउनेछन् ।
अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता सुरेश शाहले अन्य खेलभन्दा पहिले नै फुटबलमा फ्रेन्चाइन सुरू भएको बताए ।
‘मन्त्रीज्यू अपडेट नहुनुभएको हो कि सल्लाह दिनेले कसरी दिए । मन्त्रीज्यूको कुरामा मैले खण्डन त गर्दिनँ । त्यो उहाँको बुझाइ छ । तर, अरु खेलभन्दा पहिले नै फुटबलमा फेन्चाइज सुरु भएको हो,’ उनले भने ।
खासमा मन्त्री चौधरीसँग खेलकुदको कुनै पृष्ठभूमि थिएन । राजनीतिक भागबण्डाको क्रममा उनलाई खेलकुद मन्त्रालय आइपरेको हो । चौधरी कांग्रेसबाट निर्वाचित सांसद हुन् । उनले २०७९ को निर्वाचनमा उनी सप्तरी ४ बाट विजयी भएका थिए । मन्त्री चौधरीले हालै मन्त्रालयको एक नियमावलीमा ‘श्री ५ को सरकार’ लेखेर हस्ताक्षर गरेपछि ट्रोल हुनुपरेको थियो ।
यसअघि खेलकुद मन्त्रालयमा रास्वपाका विराजभक्त श्रेष्ठ थिए । उनी धेरै हदसम्म खेलकुद बुझेका युवा नेता हुन् । उनको कार्यकालमा खेल क्षेत्रमा सकारात्मक प्रभाव परेको थियो । तर, श्रेष्ठ छोटो समयमै मन्त्रालयबाट बिदा हुनुपर्यो ।
कालो काङ्ग्रेस-भ्रष्ट एमाले-हत्यारा माओवादीको उद्देश्य नै “मन्त्री , प्रधानमन्त्री खानु” मात्रै हो!
काम गर्ने उद्देश्यले यिनिहरु राजनीतिमा आएको नै हैनन!
अनि यस्तो कुरामा किन अचम्म मान्नु र!