पहाडका खाली जमिनमा टिमुर र केतुकीबाट भविष्य देखेका तुलसीप्रसाद
खोटाङ–भोजपुर–दिल्ली–काठमाडाैं–रुपन्देही हुँदै अर्घाखाँची पुगेर थाले कृषि उद्यममा नयाँ आयाम

रुपन्देही । पूर्वीनेपालको खोटाङस्थित साकेला गाउँपालिका वडा नं २ माटिममा जन्मेका ६१ वर्षीय तुलसीप्रसाद अधिकारी नेपाल–भारतका विभिन्न स्थानमा जागिर–उद्यम–व्यवसाय गर्दै अहिले अर्घाखाँचीमा पुगेर कसैले नगरेको र नसोचेको व्यवसाय थालेर चर्चामा आएका छन् ।
छोरा र छोरी कोरियामा पिएचडी सकेर अध्यापन क्षेत्रमा राम्रै कमाई गरेका छन् तर, तुलसीप्रसाद श्रीमती सावित्रा अधिकारीको साथमा अर्घाखाँचीको शितगंगा वडा नं. २ मा फलाचौर पुगेर ठूलो क्षेत्रफलमा टिमुर खेती गरेर यसैमा भविष्य खोजिरहेका छन् ।
संघर्ष नै संघर्षको अनुभूति संगालेका अधिकारीले आफ्नो जीवनमा नयाँ अध्यायका रुपमा यो काम थालेको बताउँछन् । छोरा अर्जुन अधिकारी कृषि विज्ञानमा बीएससीएजी पछि पिएचडी पास गरेर कोरियाको गेजु विश्वविद्यालयमा अध्यापन गरिरहेका छन् । छोरी अनुपमा अधिकारी बायोकेमेष्ट्रिमा अध्ययन सकेर कोरियामै पिएचडी अध्ययन गरिरहेकी छन् ।
तर, तुलसीप्रसाद–सावित्राको जोडी अर्घाखाँचीको डाँडामा बसेर कृषि क्षेत्रमा रमाउन थालेका छन् । तुलसीप्रसादका दम्पत्ति छोराको दिक्षान्त समारोहमा कोरियामा पनि पुगेका थिए, केही समय त्यहाँ बसेका उनीहरु पुनः फर्केर आफ्नो अभियानमा लागेका हुन् । तुलसीप्रसाद ६ वर्षअघि यो ठाउँमा पुगेर टिमुर र केतुकीको खोजी गर्दै यसको खेतीमा लागेको बताउँछन् ।
तुलसीप्रसादको अहिलेसम्मको जीवन यात्रा सामान्य छैन । छोराछोरी पढाउन काठमाडाैं गएको उनको परिवारले निकै संघर्ष गरेको थियो । ’पस्मिनाबाट काम सुरु गरेका हौं, पछि खरायोको रौंबाट धागो निकालेर कपडा बनाएर पनि राम्रो बजार बन्यो तर त्यो दीगो भएन’ उनले भने ।
काठमाडाैंको सडकमा १५ वर्ष कपडा बेचेर छोराछोरीलाई पढाएर अहिलेको अवस्थामा पुगेको उनले बताए । ‘१५ वर्ष त काठमाडाैंमा सडकमा कपडा बेचियो, तर छोराछोरीले निकै मेहनत गरेर पढे, हामीले त्यो वातावरण बनाउन सकियो यसमै खुसी छौं’ उनले आफ्नो जीवनको संघर्ष सुनाए–‘०३६ सालको जनमत संग्रहमा १० कक्षामा पढ्थेँ, तत्कालीन अखिलमा क्रियाशील भएपछि मुद्दा लगाएर गाउँमा बस्न दिइएन, केही समय भोजपुरमा पढेपछि प्रवासतिर लागेँ, ०४६ सालपछि नेपाल आएर काठमाण्डौं गएको हुँ, दाईहरु उतै जानुभएकोले ।’
कपडाको काम गरेपछि केही अनुभव नि संगालेपछि काठमाण्डौबाट यसैमा नयाँ काम थाल्न लुम्बिनीलाई केन्द्र मानेर रुपन्देही आएको अधिकारीले बताउँछन् ।
‘लुम्बिनी क्षेत्रमा पर्यटकहरूको आवतजावत बढेपछि नेपाली कच्चा पदार्थबाट बनेका कपडाहरूको माग बढ्ने सम्भावना देखेर यस क्षेत्रमा आकर्षित भएँ । दुई ठाउँमा आफै उत्पादन गर्ने र बेच्ने गरेपछि राम्रो आम्दानी भयो, ५ वर्षमा डेढ करोड जति कमाउन सकिएको थियो’ उनले भने –‘कोरोनाकालमा केही डुब्यो, पछि दुई पसल ८१ लाखमा बेचेर अर्घाखाँची आएका हौं, छोरी पनि बाहिर गएपछि मेडमले एक्लै चलाउन सक्ने कुरा भएन, अनि यतै आइयो ।’
केतुकीबाट कपडा उत्पादनको सुरुवात
तुलसीप्रसादले सर्वप्रथम रुपन्देहीको योगिकुटीमा नौ वटा कपडा वुन्ने तान राखेर काम सुरु गरेका थिए । भारतबाट आयात गरिएको केतुकीको धागोबाट कपडा तयार गरी बजारमा वितरण गर्न थालेपछि उनले राम्रो ब्यापारको सम्भावना देखे । यसले गर्दा उनको नेपालमै धागो उत्पादन गर्ने इच्छा जाग्यो ।
केतुकी खेतीका लागि उनी बुटवलदेखि पाल्पा, गुल्मी, अर्घाखाँची हुँदै फर्कदै गर्दा अर्घाखाँचीको नरपानीदेखि ओरालो लागेको जग्गामा टिमुरका विरुवा भेटेपछि उनको ध्यान टिमुरतर्फ गएको हो । ०७६ साउनमा यो ठाउँमा जग्गा किनेदेखि उनी यही पेशामा रमाएका छन् ।
तर, उनी टिमुरकै लागि सो ठाउँमा गएका भने हैनन् । लुम्विनीमा पर्यटक आउने भएकोले नेपाली कच्चा पदार्थ केतुकीबाट बन्ने कपडाको सम्भावना देखेर त्यसको अध्ययनमा गएको बेला यसमा लागेको उनको भनाइ छ ।
टिमुर खेतीमा सफलता
तुलसीप्रसादले १३७ रोपनी जग्गामा ४ हजार ११६ टिमुरका विरुवा रोपेका छन् । उनले स्थानीय तीन जनाको जग्गा किनेका हुन् । अहिले ८५ रोपनीमा विरुवा लगाइसकेका छन् भने अरुमा तयारी गरिरहेका छन् ।
उनले खरिद गरेको जग्गामा नै ४ सय रैथाने टिमुरका बोट रहेछन् त्यसलाई उनले संरक्षण गरेका छन् भने आफूले लगाएका पनि हुर्किसकेका छन् । उनले लगाएर पहिलो वर्षमा ५ सय विरुवा बाँचेकोमा प्रतिविरुवा ३ सय ग्राम जति उत्पादन पाएका थिए । पूर्ण वयस्क विरुवा भएपछि प्रतिविरुवा ६ देखि ७ किलोग्रामसम्म उत्पादन हुने अनुमान छ । उनले पुराना बोट बेचेर पनि प्रतिकिलो १ हजार ८ सय रुपैयाँका दरले ११३ किलो टिमुर बेचिसकेका छन् ।
केतुकीबाट बनेका कपडाको बजार
तुलसीप्रसादले केतुकीबाट बनेका कपडाहरू बनाउन थालेपछि विदेशी पर्यटकहरूले उनको उत्पादनलाई धेरै मन पराए । उनले झोला, इष्टकोट, र पर्स तयार गरी बेच्दै गर्दा करिब ३० लाख रुपैयाँ कमाउन सफल भएर उत्साहित भएका थिए । उनले यसलाई आफ्नो गौरवको विषय मान्छन् । तर उनको गुनासो के छ भने एकै जनाले सबै काम गर्न सक्दैन ।
उनी आफ्नो अनुभव र ज्ञान अरूलाई साझा गर्न तयार छन् । अधिकारीका अनुसार तान्जानियामा केतुकी खेतीलाई प्रमुख पेशाको रुपमा लिइने गरिन्छ भने यसवाट जुस पनि बनाइने रहेछ र गानोबाट उत्कृष्ट रक्सी (टकीला) पनि बन्दोरहेछ । जापानमा जुत्ता बनाइन्छ । बहुउपयोगी भएकाले यसलाई संरक्षण गर्नुपर्ने उनको भनाइ छ । केतुकी पानीमा डुवाएर रेसा निकाली त्यसबाट दाम्ला बुन्ने प्रचलन पुरानै रहेको बुढापाकाहरु बताउँछन् ।
कृषि उद्यममा परिवारको सहयोग
तुलसीप्रसादका छोरा अर्जुन अधिकारी कोरियाबाट कृषि विज्ञानमा पीएचडी गरेका छन् । उनी आफ्नो बुबालाई कृषि सम्बन्धी सल्लाह दिन सक्षम छन् । छोरी मेडिकल चिकित्सक भएपनि उनी पनि कृषिप्रति आकर्षित छिन् । उनी पनि थप अध्ययनका लागि अहिले कोरियामा गएकी छन् ।
अर्घाखाँचीमा अहिले तुलसीप्रसाद र उनकी श्रीमतिले भौतिक रुपमा काम गरेका छन् भने छोराछोरीले कोरियाबाट कृषि उद्यमलाई अघि बढाउन साथ दिइरहेका छन् ।
पहाडी क्षेत्रका लागि टिमुर र केतुकी खेतीको सम्भावना
अहिले पहाडी क्षेत्र अधिकांश बाँझो रहेको छ । भएका स्थानमा पनि वाँदरको समस्या बढेकोले धेरैले खेती नै गर्न छाडेका छन् । यस्तो अवस्थामा बाहिरी देशबाट आउने टिमुर र केतुकीको धागो कम गर्न पहाडी क्षेत्रमा यसको खेती राम्रो विकल्प हुनसक्ने र आफूले त्यो प्रयोग गरेर हेरेको अधिकारी बताउँछन् ।
तुलसीप्रसादले यसलाई नेपालको कृषि क्षेत्रमा नयाँ आयामका रूपमा देख्छन् । उनले केतुकीबाट जुस र रक्सी बनाउने, जापानमा जुत्ता बनाउने जस्ता विभिन्न उत्पादनका सम्भावनाहरू पनि देखाएका छन् । केही स्थानमा यसबाट स्थानीय उत्पादनको मदिरा पनि बनाउने गरिएकाले त्यसमा पनि आधार बनाउन सकिने उनको भनाइ छ । केतुकीमा विशाल सम्भावना रहेको तर यो विषयमा कसैले विश्वास नगरेको अधिकारीको बुझाई छ ।
तुलसीप्रसाद अधिकारीको कृषि उद्यम नेपालको पहाडी क्षेत्रमा कृषि व्यवसायको नयाँ सम्भावना भएको उनका समर्थकहरुले बताउँदै आएका छन् । उनले टिमुर र केतुकीको खेतीबाट न केवल आफ्नो जीवनमा परिवर्तन ल्याएका छन्, तर अरू किसानहरूलाई पनि यस क्षेत्रमा अगाडि बढ्न प्रेरणा दिएका छन् ।
उनको यो प्रयास नेपालको कृषि क्षेत्रमा नयाँ मार्ग प्रशस्त गर्ने भन्दै धेरैले सामाजिक सन्जालमा धन्यवाद दिएका छन् । ‘मैले स्थानीयको उत्पादन नै खरिदको ग्यारेन्टी लिएको छु टिमुरको, मूल्य नै प्रतिकेही १४ सयमा मैले स्थानीयबाट खरिद गरिरहेको छ, मैले एकमुष्ठ जम्मा गरेर बाहिर बेचेको छु’ अधिकारीले सुनाए–‘तराईमा कमाएको अहिलेसम्म जग्गा किनेर व्यवस्थापन गर्दैमा सकियो अब त उत्पादन हुन थालेपछि सहज हुन लायो ।’
२०२० सालमा जन्मेका तुलसीप्रसाद अहिले पनि बिहानदेखि साँझसम्म आफै काममा खटिने गरेका हुन्छन् । ‘अहिले पनि दुई जना स्थानीय कर्मचारी नियमित राखेको छु, सिजनमा दैनिक ज्यालादारीमा राखेर चलाउँछु, दशैंदेखि पानी नपरेर समस्या परेको छ विरुवालाई दिनदिनै पानी राख्नुपरेको छ’ उनले भने ।
कुनैपनि उत्पादनलाई व्यवसायिक बनाउन उत्पादनको परिणाम नै ठूलो बनाउनु पर्ने र त्यसलाई दीर्घकालीन योजना बनाएर गर्नुपर्ने उनको सुझाव छ । लुम्बिनी प्रदेशका पहाडी जिल्लामध्ये अर्घाखाँचीसहित गुल्मी, पाल्पा, प्यूठान, रुकुम, रोल्पाका वनजंगल र खर्यानमा परम्परागत टिमुर खेती भएपनि यसलाई धेरै क्षेत्रमा व्यवसायिक रुपमा अगाडि बढाउन नसकिएको उनले बताएका छन् ।
यसलाई भारतसहित युरोप अमेरिकमा बेच्न सकिने प्रशस्त आधार भएको उनको बुझाई छ । अधिकारीलाई स्थानीय धेरै आएर आफ्नो क्षेत्रमा पनि यस्तै खेती गर्न आग्रह गरेका छन् केही पालिका र वडाका जनप्रतिनिधिहरु नै आएर यसको सेवा बिस्तार गर्न आग्रह गरेका छन् तर अधिकारीले पहिले आफ्नो क्षेत्रमा सबै सकेपछि मात्रै बाहिर जाने तर आवश्यक सल्लाह सुझाव भने दिने गरेका छन् ।
संरक्षणमा राज्यको पनि ध्यान पुगोस् ।