पहिलो उपाधिका लागि १३औँ फाइनल खेल्न लागेको नेपाल – Nepal Press

पहिलो उपाधिका लागि १३औँ फाइनल खेल्न लागेको नेपाल

पोखरा । फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोली नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्दै छ । दशरथ रङ्गशालामा बुधवार उक्त खेल साँझ ६ बजेबाट सुरु हुनेछ ।

हालसम्म उपाधि नजितेको नेपालले १३औँ पटक फाइनल खेल्दै छ । १२औँ पटक फाइनलमा असफल भएको नेपाललाई घरेलु मैदानमा फाइनल जित्दै पहिलो पटक उपाधि जित्ने अवसर छ । घरेलु मैदानमा फाइनलमा म्यानमारलाई हराउँदै गत कात्तिकमा साफ च्याम्पियनसिपको बङ्गलादेशसँग फाइनलमा हारेको बदला मात्रै होइन, उपाधि खडेरीलाई समेत तोड्ने लक्ष्यमा छ नेपालको ।

सन् २०१० यता नेपालले १२ पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा फाइनल खेलिसकेको छ । तर, हालसम्म सफल भने हुन सकेको छैन । फाइनलमा असफल हुँदा नेपाल सधैँ उपविजेतामा सीमित हुन पुगेको छ । गत कात्तिकमा भएको साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा घरेलु मैदानमा बङ्गलादेशसँग पराजित भएको थियो ।

यसअघि गत वर्षको फागुनमा भएको वेस्ट एसियन फुटबल फेडेरेसन वाफ वुमन्स च्याम्पियनसिपमा नेपाल जोर्डनसँग पनि फाइनलमा हार बेहोर्नुप¥यो ।

घरेलु मैदानमा जारी प्रतियोगिताको लिग चरणमा नेपालले किर्गिस्तान र लेबनानलाई समान १–० गोलले पराजित गर्दा म्यानमारले भने तीनै देशमाथि शानदार जित दर्ता गर्यो ।

म्यानमारले लेबनानमाथि ३–१ र कीर्गिस्तानमाथि ५–० को जित निकाल्यो । किर्गिस्तान र लेबनान तुलनात्मक रूपमा नेपालभन्दा कमजोर मुलुक हुन् । लिग चरणमा म्यानमारलाई २–२ को बराबरीमा रोक्दै नेपालले फाइनलका लागि तयार गरेको सङ्केत गर्यो ।

फिफा वरियतामा नेपालभन्दा म्यानमार धेरै माथि छ । नेपाल १ सय ३ र म्यानमार ५५औँ स्थानमा छन् ।

तुलनात्मक रूपमा पनि म्यानमार नेपालभन्दा बलियो टोली हो । त्यसैले पनि म्यानमारलाई हराउन नेपाललाई सहज भने हुने छैन । तर, असम्भव पनि छैन । म्यानमारसँग नेपालले हालसम्म ५ खेलमा प्रतिस्पर्धा गरेको छ ।

तर, कुनै पनि खेलमा जित हासिल गर्न सकेको छैन । ३ खेल गुमाउँदा नेपालले २ खेलमा बराबरी खेलेको छ । यसअघि नेपालले भारतमा सन् २०१९ मा भएको हिरो वुमन्स गोल्डकपमा फाइनलमा म्यानमारसँग पराजित भएको थियो ।

जारी प्रतियोगिताको लिग चरणको खेलमा म्यानमारविरुद्ध नेपालको खेल उत्कृष्ट थियो ।

फिफा वरियतामा ४८ स्थान माथि रहेको देशलाई नेपालले ठक्कर दियो । घरेलु मैदान र समर्थकका साथ दुई पटकको अग्रतालाई चिर्दै नेपालले म्यानमारलाई बराबरीमा रोक्न सफल रह्यो ।

फाइनलमा पनि सोही रणनीतिका साथ उच्च मनोबलका साथ म्यानमारसँग खेल्नेमा नेपाली समर्थक आशावादी छन् । म्यानमारका लागि सावित्रा भण्डारी ‘साम्बा’, प्रीति राई, सविता राना मगर र रेखा पौडेल जस्ता खेलाडी घातक बन्न सक्छन् ।

सावित्रा, प्रीति र सविताले यो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । युरोपमा फुटबल खेल्ने कप्तान तथा गोलकिपर एन्जिला तुम्बा सुब्बा पनि म्यानमारका खेलाडीको प्रहारलाई रोक्न आतुर छिन् ।

फाइनलअघि नेपालकी कप्तान एन्जिला तुम्बा सुब्बाले वेस्ट प्रदर्शन गर्ने बताइन् । उनले फाइनलमा जसले धेरै मिहेनत गर्छ उसैले उपाधि जित्ने बताइन् । फाइनलका आफ्नोतर्फबाट वेस्ट दिन तयार रहेको उनको भनाइ छ ।

नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले यसअघि भएका कमजोरीलाई सुधार्दै फाइनलमा राम्रो प्रदर्शन गर्ने विश्वास दिलाए । टिममा राम्रो माहौल र वातावरण बनाएर जसरी पनि ट्रफी जित्ने प्रशिक्षक तामाङको विश्वास छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *