नेपाली समाजको रित्तोपन र एक्लोपनको हिसाब खोजिरहेको नाटक ‘जून त लग्यो ताराले’

पक्कै तपाईंलाई थाहा छ, विदेश हिँडेको मान्छेले के-के लिएर जान्छ ? घरको संघार नाघेर जाँदै गरेको उसले सानो झोला र झोलाभित्र पासपोर्ट बोकेर जान्छ । आँगनको डिल नाघ्दै गरेको उसले अलिकति आँसु र केही मीठा सम्झनाहरू बोकेर जान्छ । एयरपोर्टबाट जहाज चढिरहेको उसले अलिकति माटोको सुगन्ध र राष्ट्रप्रेम लिएर जान्छ । वर्तमान नेपाली समाजले भोगिरहेको तीतो यथार्थ यही हो ।
वर्तमान नेपाली समाजको यो नियतिलाई न नकार्न सकिन्छ, न पन्छाउनै सकिन्छ । दुई गेडा चामलदेखि दुई बुँद तेलसम्ममा तिनै मुटु निचोरेर विदेशिएकाहरूको पसिना लतपतिएको हुन्छ । दुई-चार थान सुरक्षा गार्ड र दुईचार फाइल भ्रष्टाचारका योजनामा तिनै रुँदै रुँदै विदेशिएकाहरूको रगत लतपतिएको हुन्छ । तिनै विदेशिएकाहरूको सपनाका बुँदाहरूलाई केरमेट गरेर राजनीतिक दलका दुई/चार बुँदा घोषणापत्र र समृद्धिका दुईचार लाइनहरू लेखिन्छन् ।
के यतिमात्रै वर्तमान नेपाली समाजको नियति हो त ? पक्कै होइन । नेपाली समाजको यो तीतो यथार्थभित्र डरलाग्दो रित्तोपन पनि थपिँदै गइरहेको छ । भयानक एक्लोपनबाट गुज्रँदै गइरहेको छ नेपाली समाज ।
विदेशिएका श्रीमान् वा श्रीमतीसँगै माया, साथ र विश्वास घरको संघारभित्रै कतै छुटिरहेको छ । विदेशिएका आमा वा बाबुसँगै मातृत्व र पितृत्व कतै छुटिरहेको छ । विदेशिएका छोरा वा छोरीसँगै आमाबाबुको स्नेह र न्यानोपन छुटिरहेको छ ।
दुई/चार हजार ऋणको हिसाबकिताब मिल्न सक्छ । तर, यसरी छुटिरहेका स्नेह, माया, साथ, विश्वास, महसुस र न्यानोपनको हिसाबकिताब मिल्न सक्छ त ? यही प्रश्नको जवाफ खोज्ने कोसिस गरेको छ मण्डला थिएटरमा प्रदर्शन भइरहेको नाटक ‘जून त लग्यो ताराले’ ले । इँगिहोपो कोइँच सुनुवारको लेखन, परिकल्पना तथा निर्देशनमा निर्मित यो नाटकले एक्लो बनिरहेका मनहरूको हिसाबकिताब गर्ने कोसिस गरेको छ ।
नाटकमा ‘भूमि’ नामक पात्रमार्फत् सिंगो नेपाली समाजको रित्तोपनलाई खोतल्ने कोसिस गरेका छन् निर्देशक सुनुवारले । भूमिको बाल्यकाल, युवाकाल र वैवाहिक जीवनपछिको अवस्थालाई बिम्बको रूपमा प्रयोग गरेका छन् ।
नाटकमा भूमिको उमेरका तीनवटा अवस्था देखाइएको छ, बाल्यकाल, युवा उमेर र विवाहपछिको समय । उमेका यी तीनै तहमा भूमि केवल एक्ली छिन् । बाल्यकालमा भावनात्मकरूपले नजिक रहेका बुवा परदेशिन्छन् । अलि ठूलो भएपछि दाइ परदेशिन्छन् । र, विवाह गरेपछि श्रीमान् परदेशिन्छन् । अनि भूमिसँग केबल रिक्ततामात्रै बाँकी रहन्छ । यही रिक्तताको कथा हो ‘जून त लग्यो ताराले’।
‘भूमि’ नामक पात्रलाई निर्देशक सुनुवारले प्रतिकात्मकरूपमा जमिनसँग पनि लगेर जोडिदिएका छन् । जसरी हाम्रा जमिन दिनदिनै बन्जर र रुखो बन्दै गइरहेको छ, त्यसैगरी नेपाली समाज रित्तो र एक्लो बन्दै गइरहेको छ । यो रित्तोपन र एक्लोपनको वासलात कहिल्यै मिल्नेवाला छैन । त्यही नमिलेको वासलातको फेहरिस्त हो ‘जून त लग्यो ताराले’ ।
नाटकमा प्रकाशहरूको सुन्दर संयोजन गरिएको छ । तर, हतार-हतारमा गरिएको पो हो कि ! पात्रको मुभमेन्ट र प्रकाशको मुभमेन्टलाई अझै राम्रोसँग मिलाउन सकेको भए गज्जब हुन्थ्यो । ध्वनीको पनि गज्जबले संयोजन गरिएको छ । ध्वनीमा सारंगी चाहिँ खुब मिस हुन्छ । सायद नेपाली समाजको दुःख, वेदनासँग सारंगीको पुरानो साइनो भएकाले होला ।
ल्याब १६ का ब्याचका प्रशिक्षर्थीहरूले नाटकमा अभिनय गरेका छन् । तीन महिने कोर्स गरेका कलाकारहरू अझै निखारिन बाँकी हो कि भन्ने दर्शकलाई पर्नसक्छ । भूमि केटाकेटी नै हुँदा दाइसित ‘हट घोडा हट’ खेल्दाको दृश्य र संवादले यस्तो महसुस गराउँछ । तर, कलाकारहरूको अभिनयप्रतिको जुनुन प्रशंसालायक छ ।
अनि नाटकको क्लाइमेक्समा एक्लोपनसँग जुधिरहेकी भूमिको वर्तमान मनोविज्ञान र नोस्टालजियालाई जसरी देखाइएको छ, त्यो दृश्यले दर्शकलाई छुट्टै खालको सन्तुष्टि प्रदान गर्छ । नाटकको सबैभन्दा बलियो पक्ष नै यसको क्लाइमेक्स हो, जहाँ आफ्नै तरीकाले जीवन जिउनुपर्ने निष्कर्षमा नाटकलाई टुंग्याइन्छ ।
नाटक आउँदो १८ गतेसम्म मण्डला थिएटर, थापागाउँमा मञ्चन हुनेछ ।
तस्बिरहरू : jubair