स्ववियू चुनाव- सिंगल भिड्ने तयारीमा नेविसंघ, अखिल र क्रान्तिकारी : रास्वपाको बहिस्कार – Nepal Press

स्ववियू चुनाव- सिंगल भिड्ने तयारीमा नेविसंघ, अखिल र क्रान्तिकारी : रास्वपाको बहिस्कार

रास्वपा भन्छ- शैक्षिक प्रतिष्ठान राजनीतिमुक्त हुनुपर्छ, स्ववियू चुनावमा पार्टीको कुनै संलग्नता रहँदैन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को चुनावी कार्यतालिका सार्वजनिक गरेपछि विद्यार्थी संगठनहरूले आन्तरिक तयारी तीव्र पारेका छन् । आगामी ५ चैतमा हुने चुनावका लागि फागुन १९ गते उम्मेदवारी दर्ता हुँदैछ ।

सबै दलहरूले स्ववियू निर्वाचन केन्द्रित हुन आफूनिकट संगठनहरूलाई निर्देशन दिइसकेका छन् । सत्तारुढ दुई ठूला दल कांग्रेसनिकट नेविसंघ र एमालेनिकट अनेरास्ववियू एक्लै प्रतिस्पर्धामा जाने तयारीमा छन् ।

तर, माओवादीनिकट अखिल क्रान्तिकारी, नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियू भने ‘पर्ख र हेर’ को अवस्थामा देखिन्छन् । यद्यपि, कुनै निर्णय भएको छैन । यस्तै, मधेशवादी दलनिकट विद्यार्थी संगठनले पनि आ-आफ्नो तयारी गरिरहेका छन् ।

यो पनि पढ्नुहोस्- त्रिविका ६२ आंगिक क्याम्पसमध्ये ४४ को आधिकारिक नतिजा सार्वजनिक, कसले कति जिते ? (सूचीसहित)

एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष समिक बडालले आफूहरू निर्वाचन केन्द्रित अभियानमा जुटिसकेको बताए ।

उनले भने, ‘अहिले हामीले तल्लो तहमा स्ववियू निर्वाचन केन्द्रित गरेर बैठकहरू राखेर डाटा लिने काम गरिरहेका छौं । तल्लो तहमा सर्वसम्मत हुनसक्ला कुनै क्याम्पसहरूमा तर, हामी ठूला क्यापसहरूमा निर्वाचन प्रणालीबाट नेतृत्व चयन गर्ने पक्षमा छौं ।’

उनले स्ववियू निर्वाचनमा आफ्नो संगठन एक्लै प्रतिस्पर्धामा उत्रिने बताए । उनले तोकिएको समयमै निर्वाचन हुने जिकिर गरे ।

उनले भने, ‘हामी एकल प्रतिस्पर्धा गर्छौँ । कसैसँग कुनै तालमेल गर्दैनौं । अहिलेसम्म अरु संगठनले के गर्छन् भन्ने टुंगाएको देखेका छैनौं पनि ।’

उनले स्ववियू निर्वाचनलाई निष्पक्ष ढंगबाट सम्पन्न गराउनुपर्छ भन्नेमा आफूहरू सचेत रहेको बताए । अघिल्ला चुनावहरूमा आफूले नजित्ने देखेपछि विद्यार्थी संगठनमा विथोल्ने प्रवृत्ति देखिएको थियो ।

उनले त्यसबारे भने, ‘अघिल्लो चुनावमा हामीले जित्ने क्याम्पसहरूमा पनि चुनाव नहुँदा सबैभन्दा प्रताडित हामी नै हौं । हामी निर्वाचन सहज गर्ने संगठन हो । हामी आफूले जित्ने हार्ने जे होस् तर निर्वाचन गराउनुपर्छ भनेर लागेका छौं ।’

सरकार र विश्वविद्यालयलाई पनि निर्वाचनको सुनिश्चित गराउने कुरामा अनेरास्ववियुले नै पहलकदमी लिइरहेको बडालले दाबी गरे ।

उनले थपे, ‘कतिपय तालबन्दी भएका ठाउँमा पनि हामीले नै खुलाउने नेतृत्व गरिरहेका छौं । हामी निर्वाचनमा सबैलाई इमान्दारिपूर्वक सहयोग गरेर गराउनुपर्छ भन्ने पक्षमा छौं । हामी निर्वाचन बिथोलिने स्थिति नहोस् भन्ने पक्षमा सचेत छौं । त्यसको भण्डाफोर गर्छौँ ।’

त्यसो त कांग्रेसले पनि स्ववियू निर्वाचनबारे छलफल थालिसकेको छ । फागुन १ नै सहमहामन्त्री किशोरसिंह राठोरको संयोजकत्वमा गठित समन्वय र सहजीकरण निर्देशक समितिले काठमाडौं उपत्यकाका विद्यार्थी नेताहरूसँग छलफल गरेको थियो ।

सहमहामन्त्री राठोरको नेतृत्वमा गठित समितिमा प्रतिमा गौतम र राजीव ढुंगाना सदस्य छन् । उनीहरूले उपत्यकाका क्याम्पसमा कांग्रेसबाट निर्वाचित सभापति र सचिवलगायतलाई बोलाएर तयारीबारे छलफल गरेका थिए ।

छलफलपछि निर्वाचनको वातावरण बनाउँदै क्याम्पसहरूमा नेविसंघको अवस्थाबारे छलफल अध्ययन गरेर समितिलाई भन्न निर्देशन दिइसकेको छ । पार्टीको निर्देशनअनुसार अहिले संगठनले निर्वाचनको तयारी तीव्र ढंगबाट गरिरहेको नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले बताए ।

उनले भने, ‘हामीले सबै ढंगबाट तयारी तीव्र बनाइरहेका छौं । यो चुनावमा हामी एक्लै प्रतिस्पर्धामा जान्छौं । कुनै संगठनसँग सहकार्य हुँदैन ।’

माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका अध्यक्ष विजयप्रकाश सापकोटाले स्ववियू निर्वाचनलाई लक्षित गरेर प्रदेशस्तरिय कार्याशाला चलिरहेको बताए । उनले आफूहरू पनि एक्लै चुनावी मैदानमा जाने दाबी गरे ।

उनले भने, ‘अहिलेसम्म एक्लै जाने भन्नेछ । तर, तल क्याम्पसहरूमा आवश्यकताअनुसार गर्नसक्छन् । तर, केन्द्रबाट हामीले एक्लै जाने भनेका छौं ।’

उनले समाजवादी मोर्चामा आबद्ध दलहरूसँग चुनावी सहकार्यबारे छलफल नभएको जिकिर गरे ।

सापकोटाले मात्रै होइन, नेकपा एसनिकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष महेश श्रेष्ठले पनि आफूहरू पनि एक्लै चुनावी प्रतिस्पर्धामा जाने दाबी गरे ।

उनले भने, ‘निर्वाचनको तयारीका लागि हामीले उपत्यकतास्तरीय भेला गरेर सबै क्याम्पसहरूमा केन्द्रीय प्रतिनिधि तोकेर पठाइसकेका छौं । संगठनको उपाध्यक्षहरूलाई प्रदेशको कमाण्डर पनि बनाएर पठाइसकेका छौं ।’

उनले अहिलेसम्म कुनै संगठनसँग तालमेल गरेर जाने भन्नेबारे कुनै छलफल नभएको दाबी गरे ।

उनले थपे, ‘केन्द्रबाट एक्लै लड्ने भनेका छौं । अब तल क्याम्पसहरूमा आवश्यकताको आधारमा जुन संगठनसँग पनि सहकार्य गर्ने बाटो खुला राखेका छौं । त्यस्तो सहकार्य गर्दा समाजवादी मोर्चामा आबद्ध दलसँग मात्रै हुन्छ भन्ने छैन, एमाले कांग्रेस जुन पार्टीनिकट विद्यार्थी संगठनसँग पनि हुनसक्छ ।’

यस्तै, चौथो ठूलो दल रास्वपाले भने स्ववियू निर्वाचनमा भाग नलिने निर्णय गरिसकेको छ । रास्वपाको गत साता बसेको सचिवालय बैठकले स्ववियू निर्वाचनमा भाग नलिने निर्णय गरेको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।

शैक्षिक संस्थाहरू राजनीतिमुक्त हुनुपर्ने पार्टीको नीति भएकाले स्ववियू चुनावमा कुनै संलग्नता नहुने बताए ।

उनले भने, ‘त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरूमा हुन स्ववियू चुनावमा विशुद्ध विद्यार्थीहरू मात्र संलग्न हुनुपर्ने, शैक्षिक प्रतिष्ठान राजनीतिमुक्त हुनुपर्ने पार्टीको नीति भएकोले उक्त निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार नहुने साथै पार्टीको कुनै संलग्नता समेत रहने छैन ।’

उनले स्ववियू चुनावलाई स्वस्थ रुपमा सञ्चालन गर्न सम्बन्धित सबैमा अपील गरे ।

२ वर्षअघि त्रिविका ६२ मध्ये ४६ वटा आंगिक क्याम्पसमा मात्र निर्वाचन सम्पन्न भएको थियो । अन्य १६ वटा क्याम्पसमा विवाद र तालाबन्दीका कारण निर्वाचन हुन सकेको थिएन । आरआर, त्रिचन्द्र, पृथ्वीनारायण क्यापस पोखरागायतका ठूला क्याम्पसमा निर्वाचन हुन सकेको थिएन ।

चुनाव भएका आंगिक क्याम्पसमध्ये एमालेनिकट अनेरास्ववियुले १९,कांग्रेस निकट नेविसंघले १८ र माओवादीनिकट अखिल क्रान्तिकारीले ४ क्याम्पसमा सभापति जितेका थिए । जसपानिकट र जनमतनिकट विद्यार्थीले एक एक क्याम्पसमा सभापति जित्दा दुई क्याम्पसको सभापति स्वतन्त्रले जितेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर