पूर्वराजाको आह्वानपछि जोशिएको राप्रपा- बुटबलमा शनिबार शक्ति प्रदर्शन गर्ने


रूपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टी लुम्बिनीले फागुन १७ गते शनिबार प्रदेशस्तरीय आमसभा बुटवलमा गर्ने भएको छ । ट्राफिक चोकमा गरिने यो कार्यक्रममा राप्रपाले शक्ति प्रदर्शनसमेत गर्ने भएको छ ।
बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरेर राप्रपाले शनिबार आयोजना गर्ने कार्यक्रमबारे जानकारी दिएको छ ।
प्रदेश अध्यक्ष प्रदीप उदयले सातै प्रदेशमा यस्तो जनसभा गरिरहेको र बुटवलमा प्रदेशको शक्ति प्रदर्शन गरिने र पार्टीका सबै शीर्ष नेताहरूले सम्बोधन गर्ने जनाए ।
‘सरकारविरूद्वको खबरदारी हो, विभिन्न क्षेत्रबाट मोटरसाइकल र्याली पनि गरिने छ, देशमा बढेका विकृति र विसंगतिविरूद्वको अभियान राप्रपाले सुरू गरेको ।
यसलाई जनजागरणका रूपमा लिएका हौं’, उनले भने, ‘मुलुकले निकास खोजेको छ, सबै अट्ने नयाँ समझदारी गरेर अगाडि जानुपर्छ । राष्ट्रियता संकटमा परेकोले सबै जाग्न जरुरत छ ।’
उदयले अहिलेको गणतन्त्र र प्रदेश संरचना नै नमानेको तर यही संविधानलाई मानेर आन्दोलन गरेको बताए ।
कार्यक्रममा केन्द्रीय सल्लाहकार समिति अध्यक्ष तथा पूर्वमन्त्री निरन्जन थापाले देशमा अहिलेको अवस्थाले धेरैलाई चिन्ता थपेकोले पार्टीले यस्तो अभियान थालेको बताएका छन् ।
‘राजा ज्ञानेन्द्र शाहबाट सम्बोधनका क्रममा मेलमिलापको स्पष्ट कुरा आएको छ, प्रष्ट कुरा बाहिर ल्याएको समयमा केही गलत व्याख्या भएको तर देशलाई निकास दिन तयारी । राजासहितको व्यवस्था देशमा जरुरत रहेको छ’, उनले भने । थापाका अनुसार ज्ञानेन्द्र शाहलाई जनमतका आधारमा नहटाइको उनको तर्क थियो ।
‘यो मुलुकमा राजसंस्था चाहिन्छ, हिन्दू राज्य चाहिन्छ भनेर हामीले पहिलेदेखि नै भन्दै आएका छौ, त्यसैलाई आधार बनाएर काम गरेका छौ’, उनले भने ।
१७ गतेको कार्यक्रममा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, धवलशमशेर राणा, ज्ञानेन्द्र शाही सहितका शीर्ष नेताहरूले सम्बोधन गर्ने राप्रपाले जनाएको छ ।