आशबहादुरका ‘अन्तरे’ मानवीर : सोलुमा एमालेको इतिहास रचे, ओलीले ‘सरप्राइज’ दिए – Nepal Press

आशबहादुरका ‘अन्तरे’ मानवीर : सोलुमा एमालेको इतिहास रचे, ओलीले ‘सरप्राइज’ दिए

बाबु आशबहादुरको पथमा रक्षामन्त्री मानवीर : अरुको नखाइदिनू, नबिगार्दिनू, फट्याइँ र उपद्रो नगर्नू, दर सन्तानले पनि त्यस्तो पापको सजाय भोग्नुपर्छ

काठमाडौं । यो कथा हो, दिवंगत आशबहादुर राईको जीवन-संघर्ष अनि सपनाको ।

आजभन्दा ४५-५० वर्ष पहिले, सोलुखुम्बु, ठूलोढुंगा गाउँमा घाम उदाउनु अगावै ब्युँझन्थे आशबहादुर । उदाएको घाम सँगसँगै कुटो कोदालो समाउँथे । मकै, कोदोका बिउहरु रोप्थे, गोडमेल गर्थे । ती अन्नबाली पाक्थे, उठाएर घर ल्याउँथे । यसरी नै आशबहादुरको जीवनको वासलात मिलिरहेको थियो ।

लगाउन र ओढ्नलाई लत्ताकपडा थिएन होला, हिमालबाट बतासिएर आउने चिसो सिरोटोले हिर्काउँथ्यो होला । घरमा मीठो मसिनो र स्वादिलो खानेकुरा पाक्दैनथ्यो होला । तर, भोको पेट भर्नलाई समस्या थिएन । बारीमा कोदालोसँग चल्ने आशबहादुरको पाखुरी नै दुई गाँस अन्नका लागि काफी थियो । बारीमा खसेका आशबहादुरका पसिनाका थोपाहरू मकैका घोगा बन्थे, कोदोका बाला बन्थे ।

आशबहादुरको जीवन खेती किसानीको भरमा चलिरहेको थियो । गुनासो गर्नैपर्ने त्यस्तो केही थिएन । ६ भाइ छोराहरू जन्मिएका थिए । दुईजना छोरीहरू थिए । मिहेनती, व्यवहारिक अनि बुझकी श्रीमती थिइन्, कुमारी राई ।

मानवीरले दोलखा, जिरीबाट नुन, चामल बोकेर घर पुर्‍याए । उदयपुरको कटारीबाट भारी बोके । कोदो र मकै बोकेर त कयौंपटक नाम्चेबजार पुगे । मानवीर सुनाउँछन्, ‘पुरानो आर्मी कलरको हरियो जुत्ता हुन्थ्यो । जुत्ता नभए चप्पल लगाइन्थ्यो । पढाइ खर्चका लागि त्यस्तो चिसोमा मकै र कोदो ढाकरमा बोकेर नाम्चेबजार पुगिन्थ्यो ।’

हिउँद याममा दूधकोशीमा कुलुलु बग्ने सङ्लो पानी जस्तै आशबहादुरको जीवन आफ्नै गति र लयमा बगिरहेको थियो । दूधकोशीको पानीलाई समुद्र पुग्नु थियो, आशबहादुरलाई भने पुग्नु कतै पनि थिएन । सिर्फ परिवारको चेहरामा हिमालजस्तै सेतो खुसी छरिरहनु थियो ।

सबै ठिकठाक चलिरहेको थियो । तर, खै के तालमेल नमिलेर हो एक दिन आशबहादुरको जीवनको लय बिग्रियो । श्रीमती कुमारी बिरामी परिन् । उनलाई रगतमासीले भेट्टायो । कस्ता कस्ता समस्याले गाँज्दा पनि थला नपरेकी उनलाई रगतमासीले थला पार्यो । भर्खर-भर्खर कान्छो छोरा बितेको शोकमा रहेकी उनी आफैँ ओछ्यान परिन् ।

ओछ्यानबाटै उनले अन्तिम सास लिइन् । चिचिला बच्चाहरुले ममतामयी आमा गुमाए । आशबहादुरले त आधा जिन्दगी नै गुमाए । मुटुको आधा पाटो नै गुमाए ।

‘अरुको नबिगार्दिनू, नखाइदिनू, फट्याइँ र उपद्रो नगर्नू’

वि. सं. २०३० सालमा श्रीमती बितेपछि आशबहादुर एक्लैले छोराछोरी हुर्काए । छोराछोरीले दुःख पाउलान् भन्ठानेर दोस्रो बिहे गरेनन् । एक्लै खोरिया खने । उकाली ओह्राली गरे । छोराछोरीलाई भोकै राखेनन् ।

आशबहादुरको एउटा सपना थियो, आफूले पढ्न नपाए पनि एकजना सन्तानले पढोस् । आशबहादुरले बुझेका थिए, पढेको मान्छेले धेरैथोक गर्न सक्छ । पढेको मान्छेको इज्जत नै अलग हुन्छ । पढेको मान्छेले गाउँ समाज बुझ्छ । पढेको मान्छेलाई कसैले ढाँट्न र छल्न सक्दैन ।

अनि आशबहादुरले जन्मिएकोमध्ये अन्तरे, बाँचेकोमध्ये कान्छो छोरा मानवीर राईलाई खरिखोला निमाविमा भर्ना गरिदिए ।

ठूलोढुंगा गाउँबाट खरिखोला निमावि पुग्न पाँच घण्टा हिँड्नुपर्थ्यो । घरबाटै विद्यालय धाएर पढ्न सम्भव थिएन । आशबहादुरले छोरा मानवीरका लागि डेरा खोजिदिए । घरबाट सामल, दाल, तरकारीको जुगड गरिदिए । छोरालाई विद्यालयमा भर्ना गरे ।

मानवीरलाई आशबहादुर सधैँ सम्झाइरहन्थे, ‘अर्काको केही नबिगार्दिनू है ! अरुको नखाइदिनु है ! फट्याइँ, उपद्रो नगर्नु है ! त्यस्तो गर्ने मान्छेको भलो हुँदैन । दर सन्तानले पनि त्यस्तो पापको सजाय भोग्नुपर्छ ।’

‘काम गर्न सक्दैन भने तर, भ्रष्टाचारी भनेनन्’

‘तिमीसँग के छ ?’

यदि कसैले सोध्यो भने वर्तमान रक्षामन्त्री मानवीर राईसँग सीधा जवाफ छ, ‘मसँग इमानदारिता छ, मसँग जनताको विश्वास छ ।’

बुवाले हिँडेको इमानदारिताको बाटोमा मानवीर राई आजसम्म चुक भएका छैनन् । बुवाले देखाएको भद्रताको बाटोमा आजसम्म मानवीरको खुटट लरबरिएको छैन । मानवीरसँग त्यस्तो चिज केही छैन, जसका कारण उनले शीर निहुराएर हिँड्न परोस् । त्यस्तो बिगार केही गरेका छैनन्, जसका कारण जनताको सामुन्ने जानबाट डराउनु परोस् ।

उनलाई लाग्छ, आफ्नो यही स्वभावकै परिणति हो कि २०७९ सालको प्रतिनिधिसभाको चुनाव ! यस चुनावमा मानवीरले २०४८ सालदेखि सोलुखुम्बुमा चुनाव जित्दै आएका र यसपटक त झनै माओवादीको समेत समर्थन पाएका नेपाली कांग्रेसका नेता बलबहादुर केसीलाई पराजित गरे । यतिमात्रै होइन, २०४८ सालयता नेकपा एमालेले पहिलो जित हात पारेर इतिहास समेत लेख्यो ।

‘मसँग न त पैसा थियो । न त पैसा छरेर जित्न सक्ने अवस्थामा म थिएँ । न त म साम, दाम, दण्ड, भेद प्रयोग गरेर निर्वाचित भएको हुँ,’ मानवीर सुनाउँछन्, ‘मसँग भएको एकैचिज भनेको इमानदारिता हो । म पंचायतकालदेखि नै इमानदार भएर जनताको सेवामा लागेँ ।’

मानवीर चुनावको समय सम्झिँदै थप भन्छन्, ‘बरु मलाई यो सोझो छ, काम गर्न सक्दैन । जान्दैन । डटफट गर्दैनसम्म भने । तर, मलाई यो फटाहा र बदमास हो भनेनन् । मलाई भ्रष्टाचारी भन्न सकेनन् । म जुन धरातलमा उभिएर जनताको सेवामा तल्लीन थिएँ, त्यसमा सिर्फ इमानदरिता र नैतिकताले मात्रै अर्थ राख्थ्यो । र, यही नै मेरो शक्ति थियो ।’

राजनीतिक गुरुलाई नै प्रहरीले समातेर लगे

२०४३/४४ सालतिरको कुरा हो । खरिखोला निमाविमा पहिलोपटक वामपन्थी विचारसँग नजिक भए, मानवीर । पञ्चायतकालीन समय थियो, पन्चेहरूको जगजगी थियो । प्रधानपञ्चहरूको दमन र रवाफ अलग्गै थियो । जो शक्तिशाली छ, जो धनी छ उसैको रजाइँ चल्थ्यो ।

पञ्चेहरूको विभेदकारी गतिविधिको भुक्तभोगी थिए मानवीर । दलहरू प्रतिबन्धित थिए । नेताहरू सबै भूमिगत थिए । खरिखोला निमाविमा जयकुमार राई प्रधानाध्यापक थिए । तत्कालीन गुभिङ गाउँ पञ्चायतमा घर भएका मकरबहादुर खालिङ वामपन्थी आन्दोलनमा भित्रभित्रै सक्रिय थिए । पञ्चायतले जागिरबाट निकालिदिएका डिबी किराती, खोटाङका बाबुराम राईहरू विद्यालयमा गोप्यरूपमा संगठन बनाउन आए । मानवीरहरू संगठित भए ।

खरिखोला निमाविमा पढाइ सकियो । उनी जुनबेसी माविमा गए । खरिखोला त घरबाट पाँच घण्टाको दूरीमा थियो, जुनबेसी त डेढ दिन नै लाग्थ्यो । सामलतुमल बोकेरै लान्थे ।

एक दिनको कुरा हो, मानवीरहरू विद्यालयमा प्रगतिशील नाटक देखाउने तयारी गरिरहेका थिए । नाटक सिकाउने गुरु थिए तिनै डिबी किराती । नाटकको रिहर्सल चलिरहँदा अचानक विद्यालयमा सदरमुकाम सल्लेरीबाट प्रहरी आयो । किरातीलाई समातेर लग्यो । यसपछि प्रधानाध्यापक आङकाजी शेर्पाले भने, ‘अब तिमीहरूले नाटक नखेल्नु, खतरा भयो । तिमीहरूलाई पनि पक्रिएर लान सक्छ ।’

ठूलोढुंगा गाउँबाट खरिखोला निमावि पुग्न पाँच घण्टा हिँड्नुपर्थ्यो । घरबाटै विद्यालय धाएर पढ्न सम्भव थिएन । आशबहादुरले छोरा मानवीरका लागि डेरा खोजिदिए । घरबाट सामल, दाल, तरकारीको जुगड गरिदिए । छोरालाई विद्यालयमा भर्ना गरे ।

प्रधानाध्यापकले नै त्यसो भनेपछि नाटक रोकियो । त्यसबेला मानवीर नौ कक्षामा पढ्दै थिए । उनी सुनाउँछन्, ‘सायद हेडसरले हामीलाई गिरफ्तार हुनबाट जोगाउनुभयो । किनभने रिहर्सल गराउने गुरुलाई पक्राउ गरेर हामीलाई यसै त प्रहरीले छाडेन । मलाई त्यो घटनाबारे तत्कालीन हेडसरसँग कुरा गर्ने मन छ, तर मेसो नै मिलिरहेको छैन ।’

मानवीरले आफू राजनीतिमा लागेको बुवालाई बताएका थिएनन् । अलि पछि बुवा आशबहादुरलाई बताए । आशबहादुरले अन्तरे छोरो मानवीरलाई भने, ‘राजनीतिमा हामीजस्तो गाउँका दुःखी, गरीबलाई गाह्रो हुन्छ । राजनीतिमा शत्रु धेरै हुन्छ । कसरी गर्छौ, राम्रो गर्नू ।’

यसबेला पनि आशबहादुरले फेरि सम्झाए, ‘अरुको नबिगार्नू, नखाइदिनू है । आफ्नो पालोमा नभए पनि छोरा नातिको पालोमा त्यो निस्कन्छ ।’

मानवीरले राजनीतिसँगै पढाईलाई अगाडि बढाइरहेकै थिए । यहीबेला एकैपटक बुवा र दिदी बिरामी भए । दुवैलाई फाप्लु अस्पताल ल्याइयो ।

‘तर, दिदी चाहिँ क्षयरोगले बित्नुभयो । घर लथालिंग भयो । दाजुहरू छुट्टिसक्नुभएको थियो,’ मानवीर सुनाउँछन्, ‘अनि १० कक्षा पढ्ने बेला पढाइ छाड्नुपर्‍यो । गाउँ गएर बुवाको साथी बनेँ ।’

आशबहादुरले पनि २०५० सालमा अन्तिम सास लिए ।

घात गर्नेहरूलाई पनि साथ दिए

बहुदल आइसकेको थियो । भूमिगत रहेका नेताहरू सार्वजनिक भइसकेका थिए । आम निर्वाचन पनि सम्पन्न भयो । २०४८ सालका मानवीरले पहिलोपट मतदान गरे ।

बहुदल आउनसाथ पार्टीले जिम्मेवारी दियो । अखिल नेपाल किसान संघको सचिवालय सदस्य बने । लगत्तै पार्टीले संगठित सदस्यता पनि दियो । २०५४ सालमा तत्कालीन गाविसको वडासदस्य लडे । गाउँमा बलियो गरी संगठन विस्तार गरेकाले निर्विरोध वडा सदस्य भए । लगत्तै चुनाव नै लडेर जिल्ला विकास समितिको सदस्य निर्वाचित भए ।

२०५६ सालमा पार्टीको जिल्ला कमिटी उपसचिव, २०६६/६७ सालतिर उपाध्यक्ष बने । अनि २०७२ सालमा अध्यक्ष र गत महाधिवेशनबाट केन्द्रीय सदस्य बने ।

‘म जिल्ला अध्यक्ष हुँदा चाहिँ जिल्लामा घनघोर चुनाव भयो । त्यस्तो चुनाव अहिलेसम्म भएकै छैन । २०७० सालको संविधानसभाको निर्वाचनमा धेरैले प्रस्ताव गरेको उम्मेदवार म थिएँ । तर, तत्कालीन अध्यक्ष आङनिमा लामाले पटक्कै छाड्न मान्नुभएन,’ मानवीर सुनाउँछन्, ‘अन्तिममा उहाँले म अध्यक्षबाट राजीनामा दिन्छु, तपाईं कार्यवाहक चलाउनू, अर्कोपटकको अधिवेशनमा तपाईं अध्यक्ष हुनु भन्नुभएपछि एकैपटक सबै कुरा खोजेर पनि हुँदैन भनेर ओके गरिदिएँ, उहाँले संविधानसभाको चुनाव लड्नुभयो ।’

२०७२ सालमा जिल्ला अधिवेशन आयो । मानवीरले सोचेका थिए, ‘म सर्वसम्मत हुन्छु ।’ तर, त्यस्तो भएन । आङनिमा आफ्नो वचनबाट पछि हटे । प्यानल नै बनाएर मानवीरविरुद्ध उत्रिए । पदाधिकारीमा मानवीरको प्यानलै निर्वाचित भयो ।

‘म निर्वाचित भएपछि हारेका साथीहरुलाई मनोनीत गरेर ल्याउने, जिम्मेवारी दिने काम गरेँ । कसैलाई भेदभाव गरिनँ । किनभने निर्वाचनको परिणाम जे जस्तो आए पनि हामी एउटै पार्टीका कार्यकर्ता थियो,’ मानवीर सुनाउँछन् ।

‘जनताविना त म केही पनि होइन’

मानवीरले दोलखा, जिरीबाट नुन, चामल बोकेर घर पुर्‍याए । उदयपुरको कटारीबाट भारी बोके । कोदो र मकै बोकेर त कयौंपटक नाम्चेबजार पुगे । मानवीर सुनाउँछन्, ‘पुरानो आर्मी कलरको हरियो जुत्ता हुन्थ्यो । जुत्ता नभए चप्पल लगाइन्थ्यो । पढाइ खर्चका लागि त्यस्तो चिसोमा मकै र कोदो ढाकरमा बोकेर नाम्चेबजार पुगिन्थ्यो ।’

जे जसो गरिरहे पनि मानवीरले राजनीति छाडेनन् ।

२०७४ सालमा माहौल राम्रो बने पनि टिकट पाएनन् । प्रदेशको टिकट पाएका थिए तर अर्को क्षेत्रमा । २०७९ सालमा भने गठबन्धनबाट प्रभावशाली नेता बलबहादुर केसीलाई हराएर सांसद निर्वाचित भए । रक्षामन्त्री पनि बने ।

मन्त्रीको सन्दर्भमा उनी भन्छन्, ‘म मन्त्री बन्नलाई समय टन्नै छँदै थियो । यही सरकार गठनकै वेला मन्त्री बनिन्छ भन्ने चाहिँ लागिरहेको थिएन । प्रधानमन्त्री र पार्टी नेतृत्वले विश्वास गर्नुभयो ।’

त्यो विश्वासलाई डगमगाउन नदिन सक्दो कोसिस गरेको मानवीर बताउँछन् । यही कारण पनि मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा रक्षा मन्त्रालय तेस्रो नम्बरमा परेको मानवीरको दाबी छ ।

फास्ट ट्र्याकको कामदेखि खाँदबारी-किमाथाङ्काको ब्रेक थ्रु, हुम्लामा बनाइरहेको बेलिब्रिजदेखि गत भदौको बाढीले बगाएको खुर्कोट-रामेछाप जोड्ने बेलिब्रिज सेनाकै नेतृत्वमा भएको मानवीरको दाबी छ । तातोपानी क्षेत्रमा अन्तिम चरणमा रहेका दुई बेलिब्रिजेखि विश्वशान्तिमा नेपाली सेनाले प्रभावकारी रूपले निर्वाह गरेको भूमिकाको सन्दर्भसम्ममा मन्त्रालयले राम्रो काम गरेको बताउँछन् ।

भन्छन्, ‘सेनासँग सुमधुर सम्बन्ध बनाउँदै काम अगाडि बढाइरहेको छु । सायद मेरो इमानदरिता, भद्रता र काम गर्ने तौरतरीकाकै कारण होला, कर्मचारी संयन्त्र र सेनासँगको सहकार्य सौहार्द भइरहेको छ ।’

मानवीर थप भन्छन्, ‘मेरो अहिलेको अवस्था र पदीय ओहदाको मूल आधार भनेको सोलुका जनता हुन् । तिनै जनताको विश्वास र भरोसका कारण म यहाँ छु । जनताविना त म केही पनि होइन । जनताको साथ र सहयोगविना म केही पनि गर्न सक्दिनँ ।’


प्रतिक्रिया

2 thoughts on “आशबहादुरका ‘अन्तरे’ मानवीर : सोलुमा एमालेको इतिहास रचे, ओलीले ‘सरप्राइज’ दिए

  1. सहि सत्य कुरामात्र लिने राजनीति गर्ने
    नेता तर पक्षहरूले त सपोर्ट गन्रे नै हो त्यसमा विपक्ष हरुले नि बिरोध नगर्ने
    उद्दार र असल व्यक्तित्व भएको मन्त्री ।

  2. विश्वासको कुनै प्रमाण भेटिन्न तर ईमानदारीताले सबै विश्वास पात्र भइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर