ट्रम्पलाई फकाउन प्रयासरत बेलायती प्रधानमन्त्रीले वासिङ्टनमा दिनुपर्ने परीक्षा
केइर स्टार्मरको वासिंटन भ्रमणले ट्रम्पलाई पश्चिमा गठबन्धनतर्फ तान्ला ?


रोब पिचेटा (सीएनएन)
लण्डन । बेलायती प्रधानमन्त्री केइर स्टार्मरले केही न केही कदम त चाल्नैपर्ने भएको छ । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सौहार्दपूर्ण सम्बन्ध बनाउने हेतुले फुकिफुकी पाइला चालिरहेका छन् । ट्रम्पले चुनाव जित्नुअगाडि नै उनको बढाइचढाइ गरेका थिए र ट्रम्पले पनि उनलाई ‘धेरै राम्रो’ भनिसकेका छन् ।
वासिङ्टन भ्रमणमा हिँडेका स्टार्मरले अन्ततः केही ठोस फाइदा निकाल्न सक्नेछन् । यो वाशिङ्टन भ्रमण उनको विदेश नीतिमा अहिलेसम्मकै ठूलो चुनौती हो । चुनौती पनि विशेषगरी युक्रेनको भविष्यका लागि । उनले पुलको काम गरेर ट्रम्पलाई द्वन्द्वात्मक प्रवृत्तिबाट टाढा राखेर पश्चिमा गठबन्धनका चिन्ताहरूबारेमा सम्झाइबुझाइ गर्न सक्छन् ।
यद्यपि अर्को नकारात्मक सम्भावना पनि छ । त्यो हो- स्टार्मरले अन्ततः पत्तो पाउनेछन् कि उनले बनाइरहेको ‘पुल’ ले काम गर्दैन । हुन त उनी र ट्रम्प स्वाभाविक राजनीतिक सहयात्री होइनन् । उनीहरूबीच विगतमा बोझिलो सम्बन्धको पृष्ठभूमि छ । उनीहरूको दृष्टिकोणमा ठूलो अन्तर छ । स्टार्मर हरेक अवसरमा बेलायत र अमेरिकाबीचको ‘विशेष सम्बन्ध’ को चर्चा गर्छन् । तर त्यही सम्बन्ध अहिले केही अस्थिर देखिन्छ । उनीहरूको चाहना नितान्त पृथक छन् ।
‘यो भ्रमणको महत्व ठूलो छ’ स्टार्मरकी पूर्व नीति निर्देशक क्लेयर एन्स्लीले सीएनएनलाई भनिन्, ‘यो भ्रमण यूरोप र अमेरिकाबीच तथा यूरोप र बेलायतबीचको सम्बन्धका लागि ठूलो परीक्षा हो ।’
ट्रम्पको ताल र युक्रेनको आपतकाल
युक्रेनप्रति ट्रम्पको अडानले यो शताब्दीऔँ पुरानो आन्ध्र महासागरपार गठबन्धनलाई अनिश्चिततामा ठीक त्यसैगरी लगेको छ जसरी उनले अन्य धेरै सम्बन्धलाई प्रभावित तुल्याएका छन् । अमेरिका र नेटोबीचको सम्बन्धसमेत समस्यामा पर्नेगरी उनले रुसी नेता भ्लादिमिर पुटिनको कदमको खुलेर स्वागत गरे । उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको आलोचना गरेका छन् भने यूरोपका नेताहरूको फोनसमेत वास्ता नगरी बसेका छन् । युक्रेन मामिलामा त यूरोपलाई बाहिरै राखेका छन् ।
स्टार्मरले सोमबार वाशिङ्टन पुगेका फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनलाई पछ्याउँदै यी अस्तव्यस्त सम्बन्धलाई सुधार्ने प्रयास गरिरहेका छन् । उनी शुक्रबार वाशिङ्टन जाने तयारी गरिरहेका जेलेन्स्कीको भ्रमणको पूर्वतयारी गर्दैछन् । यी तीन नेताहरू युक्रेन र यूरोपलाई स्वीकार्य हुने शान्तिको मोडल सुनिश्चित गर्न चाहन्छन् । यो त्यस्तो शान्ति मोडल हो जसले युक्रेनको कब्जामा रहेको भूभागलाई बेच्ने छैन, जसलाई अमेरिकाले दीर्घकालसम्म कायम राख्न प्रतिबद्ध रहनेमा कुनै आनाकानी गर्नेछैन ।
बेलायत र फ्रान्सले युक्रेनमा सम्भावित यूरोपियन ‘शान्ति सेना’ पठाउने कूटनीतिक प्रयासको नेतृत्व गरिरहेका छन् । युद्धविरामको सम्झौतामा हस्ताक्षर भएमा यो सेना युक्रेन प्रवेश गर्न सक्छ । तर, यो योजनाको मुख्य आधार अमेरिकी सुरक्षा उपस्थिति हुनेछ, जसमा पोल्यान्ड वा रोमानियाजस्ता नजिकका नेटो देशहरूमा केन्द्रित हवाई सुरक्षा व्यवस्था रहने सम्भावना छ ।
सोमबार ट्रम्पले पत्रकारहरूसँग बोल्दै भने, ‘सम्झौता भएपछि यूरोपले कुनै समस्या नल्याउने निश्चितता दिनुपर्नेछ ।’ तर स्टार्मरले जोड अर्कै छ । उनका अनुसार यूरोपले एक्लै यो जिम्मेवारी बोक्न सक्दैन र पुटिनलाई पुनः आक्रमण गर्नबाट रोक्ने एकमात्र उपाय अमेरिकी आडभरोसा नै हो । वाशिङ्टन जाने उडानमा उनले फेरि यही कुरा दोहोर्याएर पत्रकारलाई सुनाए ।
स्टार्मरको मुख्य प्राथमिकता जेलेन्स्कीलाई आफ्नै देशको भविष्यबारे हुने वार्तामा समावेश गर्न ट्रम्पलाई राजी गराउनु हुनेछ । यो नै यूरोपको ट्रम्पसँगको सबैभन्दा आधारभूत आग्रह हो । जेलेन्स्कीलाई मस्कोपक्षीय सम्झौतामा बाध्य पारिएला कि भन्नेमा यूरोपको टाउको दुःखाइ धेरै छ ।
तर, स्टार्मरले पाइला चालेको जमिन सजिलो छैन । उनको समस्या स्पष्ट छ । यो भ्रमण ट्रम्पको लागि भन्दा उनको लागि धेरै महत्वपूर्ण छ । ट्रम्पलाई यूरोपेली शक्तिहरूसँग समय बिताउने जाँगर खासै छैन । उनले चर्को भन्सार शुल्क लगाउने धम्की दिएका छन् । विगतका दशकदेखि चलेको अमेरिकी विदेश नीतिबाट बिच्किएका छन्, जुन नीतिले नै वाशिङ्टनका प्राथमिकताहरूमा यूरोपको सुरक्षालाई उच्च स्थानमा राखेको थियो ।
स्टार्मरले आफ्नो भ्रमणअघि ट्रम्पलाई उनैले चाहेको एक ठूलो उपहार दिँदै मंगलबार घोषणा गरे- बेलायतले सन् २०२७ सम्ममा आफ्नो रक्षा खर्च कुल ग्राहस्थको २.५% पुर्याउनेछ भने अर्को दशकको मध्यसम्ममा ३% पुर्याउनेछ । यो सरकारको पूर्वघोषित लक्ष्यभन्दा छिटो पुर्याइएको योजना हो, जुन धेरै खर्चिलो छ । साथै, यो अति आवश्यक पनि छ । बेलायती सेना निकै कमजोर अवस्थामा रहेको विज्ञहरू बताउँछन् । बेलायतको सेनासम्बन्धी एक ठूलो समीक्षा चाँडै टुङ्गोमा पुग्दैछ, र कसैले पनि त्यसको निष्कर्ष सकारात्मक हुने अपेक्षा गरेका छैनन् ।
‘हामीले आफ्नो राष्ट्रिय सुरक्षा नीति परिवर्तन गर्नैपर्छ, किनकि पुस्तागत चुनौतीलाई पुस्तागत जवाफ नै आवश्यक हुन्छ’, स्टार्मरले नयाँ नीति सार्वजनिक गर्दै थपे, ‘हाम्रो युगले हामीबाट अहिले साहसको माग गरिरहेको छ ।’ पछि पत्रकारहरूसँग कुरा गर्दै उनले पछिल्ला केही साताका घटनाहरूले यो निर्णय लिने बाटो तय गरेको स्वीकारे ।
अमेरिका नेतृत्वको पश्चिमा गठबन्धनको जटिल सम्बन्ध
विहीबारको वार्ताले ट्रम्पप्रति यूरोपले अपनाएको दुई धार रणनीतिको व्यापक परीक्षण गर्नेछ ।
एउटा पक्ष ट्रम्पबाट दूरी बनाउन चाहन्छ । जर्मनीका सम्भावित आगामी नेता फ्रेडरिक मर्जले आइतबारको आफ्नो चुनावी जितपछि भनेका छन्, ‘यूरोपले अमेरिकाबाट ‘स्वतन्त्रता हासिल गर्नुपर्छ’ । साथै उनले आफ्नो देशको राजनीतिमा अमेरिकाको ‘अस्वीकार्य हस्तक्षेप’ को आलोचना गरे ।
तर, स्टार्मर, म्याक्रोन र इटालीकी नेतृ जियोर्जिया मेलोनीजस्तै, अर्को समूहमा दृढतापूर्वक उभिएका छन् । उनको विश्वास छ कि ट्रम्पलाई फकाइफुल्याइ गर्ने हो भने पुटिनको प्रभाव परिधिबाट टाढा राख्न सकिन्छ ।
र, यो गर्न सक्ने नेताहरू धेरै छैनन् । स्टार्मरकी पूर्व नीति प्रमुख एन्स्लीले भनिन्, ‘हामी निकट भविष्यमा चुनावको सामना गरिरहेका छैनौँ । हामीसँग स्थिर, मध्यम-वामपन्थी सरकार छ । त्यसैले, हामी यी वार्ताहरूमा महत्वपूर्ण भूमिका खेल्न सक्छौँ ।’
तर, मिडियाको अगाडि ट्रम्पसँग उभिँदा स्टार्मरलाई केही असहज प्रश्नहरूको सामना गर्नुपर्ने हुनसक्छ । उनको मध्यम-वामपन्थी सरकारका कैयौँ सदस्यहरूले विगतमा ट्रम्पको खुलेर आलोचना गरेका छन् । स्टार्मर आफैँले पनि प्रतिपक्षी सांसदको रूपमा ट्रम्पको आलोचना गरेका थिए । ट्रम्पले बोरिस जोन्सनलाई समर्थन गर्नुले जोन्सन प्रधानमन्त्री बन्न ‘अयोग्य’ बनेको भन्न भ्याएका थिए ।
यसको प्रतिउत्तरमा गत अक्टोबरमा राष्ट्रपति पदका उम्मेदवार रहेका ट्रम्पले स्टार्मरको लेबर पार्टीलाई निर्वाचनमा हस्तक्षेप गरेको आरोप लगाए । दर्जनौँ कार्यकर्ताहरूले कमला ह्यारिसको पक्षमा प्रचार गरेको तथ्य बाहिर आएपछि उनले यस्तो भनेका थिए ।
त्यसपछि, स्टार्मरले आफ्नै पार्टीभित्रबाट ट्रम्पप्रति आउने आलोचनालाई कडाइका साथ नियन्त्रणमा राखेका छन् । तर व्यक्तिगत रूपमा, गाजा र युक्रेनबारे ट्रम्पका पछिल्ला अभिव्यक्तिहरूले अधिकांश लेबर सदस्यहरूलाई स्तब्ध पारेका छन् ।
‘ट्वीटर कूटनीति भनेको जटिल भू-राजनीतिक समस्याहरू व्यवस्थापन गर्ने सामान्य तरिका होइन,’ एक सांसदले सीएनएनलाई भने, ‘यसले राष्ट्रपति कार्यकालमा यूरोपेली रक्षा प्रणालीका बारेमा गम्भीर प्रश्न उठाउँछ, किनभने मिथ्या सूचना नै सत्य सूचनाको रूपमा ग्रहण गरिन सक्छ ।’
‘मूर्ख’ सम्झौतामा मुखरः चर्चा बेलायत, मौरिसस, अमेरिका र चीनको
स्टार्मरलाई ह्वाइट हाउसमा समाधान गर्नुपर्ने थुप्रै चुनौतीहरूमा युक्रेन मामिलामात्रै छैनन् । उनको भ्रमण विश्व मामिलामा सबैलाई खुसी पार्ने रणनीतिको ठूलो परीक्षा हो ।
प्रधानमन्त्री सबैलाई सन्तुष्ट राख्न चाहन्छन् । उनले ट्रम्पको खुलेर आलोचना गर्न अस्वीकार गरेका छन् । यूरोपेली संघबाट बाहिरिएसँगै यूरोपियन संघसँगको साझेदारीलाई सुधार गरेका छन् । स्पष्ट रूपमा युक्रेनको समर्थन गरेका छन्, र चीनसँगको सम्बन्धलाई सामान्य बनाउन प्रयास गरेका छन् । भू–राजनीतिक भुमरीमा उनी बेलायतलाई असम्भव रूपमा साँघुरिएको ‘भेन डायाग्राम’ भित्र अटाउन प्रयासरत छन् ।
यसको एउटा ज्वलन्त उदाहरण हो- चागोस टापुहरूबारे उनको विवादास्पद योजना । यो बेलायतको अन्तिम अफ्रिकी उपनिवेश हो । यसलाई मौरिससलाई हस्तान्तरण गर्ने उनको योजना कानुनी र नैतिक रूपमा वर्षौँदेखि चलिरहेको विवादलाई अन्त्य गर्ने प्रयास हो ।
बेलायती कार्यकारी सत्ता मुकाम डाउनिङ स्ट्रिटका अनुसार सम्झौताले डिएगो गार्सियाको भविष्य ९९ वर्षका लागि सुरक्षित गर्नेछ । डिएगो गार्सिया भनेको उक्त टापुहरूमा रहेको एउटा अमेरिकी-ब्रिटिश सैन्य शिविर हो । तर, सम्झौताका लागि अन्तिम स्वीकृति पाउन स्टारमरलाई ट्रम्पको अनुमोदन आवश्यक पर्नेछ । र, वेस्टमिन्स्टरले मपाइत्व सम्झौताविद् ट्रम्पलाई यसको सर्तहरू मन पर्ने आशा धेरैको छैन, किनभने यस सम्झौताका लागि लन्डनले अर्बौं पाउन्ड तिर्नुपर्नेछ । र मोरिसस चीनबाट अत्यधिक आयातमा निर्भर रहेकोले यसले आन्ध्र महासागरका दुबै पक्षमा राष्ट्रिय सुरक्षा सम्बन्धी चासो बढाएको छ ।
पूर्व टोरिज मन्त्री ग्रान्ट स्याप्सका अनुसार यो सम्झौता ‘मूर्खता’ हो । स्याप्सले टोरिज सरकारमा हुँदा रक्षा सचिवको रूपमा यस सम्झौताका वार्ता रोकेका थिए । तर, यही वार्तापछि लेबर सरकारले पुनः सुचारु गर्यो ।
‘(चीन) ले आफ्नो प्रभाव विस्तार गर्न भूमि प्रयोग गर्छ । तिनीहरू जासुसी गर्नेछन्’, स्याप्सले सीएनएनलाई भने, ‘बेलायती सैन्य शिविरमा धेरै संवेदनशील गतिविधिहरू हुन्छन् । त्यसैले कोही पनि आफ्नो वरिपरि सम्भावित दुस्मनहरू भएको हेर्न चाहँदैन ।’
मोरिससले दशकौंदेखि यी टापुहरूमा आफ्नो नियन्त्रणको प्रयास गर्दै आएको छ । अन्तर्राष्ट्रिय अदालत जस्ता संस्थाहरूले यसको दाबीलाई समर्थन गरेका छन् । तर, स्याप्स भन्छन्, ‘कहिलेकाहीँ, ट्रम्पले विश्वलाई प्रमाणित गरिरहेझैँ, तपाईंले ‘होइन’ भन्नुपर्ने हुन्छ र तपाईँले आफ्नो राष्ट्रिय हितको बारेमा सोच्नुपर्छ ।’
अर्का पूर्वटोरिज रक्षा सचिव पेनी मोर्डन्टले पनि सम्झौताको आलोचना गरे । हालका विदेश सचिव डेभिड लामीले अघि बढाएको सम्झौतालाई उनले भने, ‘लामीको बेलायती उपनिवेशकालीन विगतप्रति आत्मग्लानि महसुस गर्ने चाहनाले उनलाई चीनको वर्तमान उपनिवेशवादलाई सहयोग गर्न उक्साएको हो कि भन्ने आशंका उब्जाएको छ ।’
स्टार्मरको आफ्नै दलमा पनि सम्झौताको विरोधका केही स्वरहरू उठिरहेका छन् । ‘हाम्रो राष्ट्रिय सुरक्षाका लागि के राम्रो छ भन्ने नै एक मात्र महत्वपूर्ण कुरा हो । म अझै उदार मन लिएर बसेको छु । तर अहिलेसम्म यो सम्झौता त्यही हो भन्ने कुरामा म विश्वस्त भइसकेको छैन,’ एक लेबर सांसदले सीएनएनलाई भने, ‘यदि अमेरिकाले यो सम्झौताको समीक्षा गर्न समय लियो र यसलाई अनिश्चितकालका लागि लम्ब्यायो भने मलाई कुनै समस्या हुने थिएन ।’
युक्रेन, चागोस, चीन, र ट्रम्पका बारेमा भएका विभिन्न विवादास्पद टिप्पणीहरू बिहीबारको छलफलका लागि संवेदनशील विषयहरू हुनेछन् । स्टारमरले यसबारे सावधानीपूर्वक कुरा उठाउनेछन् । माक्रोंजस्तै उनले ट्रम्पलाई क्यामेराको अगाडि सिधै तथ्यहरू सुधारेर सच्याउने सम्भावना छैन । तर, अब चाप्लुसीको ठाउँ छँदैछैन । केही गम्भीर छलफलहरू सुरू गर्न थोरै मात्र समय बाँकी छ ।
स्टारमरले आफ्नो इच्छाले राजनेता बन्न रोजेका होइनन् । उनको मुख्य घोषित उद्देश्य बेलायतको अर्थतन्त्र बढाउनु हो । उनी सत्रुता चाहँदैनन् । बरु लगानी र व्यापार चाहन्छन् । तर विश्वको अवस्था फरक छ । स्टार्मरले चाहुन् वा नचाहुन् उनी अहिले संकटग्रस्त विश्व संरचनाको एउटा महत्वपूर्ण हिस्सा बन्न पुगेका छन् ।
सोमबार, स्टारमरले स्वीकार गरे कि ट्रम्पले युक्रेनसम्बन्धी ‘विश्वव्यापी छलफलको’ धार बदलेका छन् । अब बेलायत मुखर हुने अवसर आएको छ ।
तस्बिरहरू : AP
(सीएनएनबाट अनुवादित)