उच्चस्तरीय संयन्त्रको बैठक- राजनीतिक दलसम्बन्धी विधेयक तत्काल ल्याउने, के हुन्छ प्रावधान ?


काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले राजनीतिक दलसम्बन्धी विधेयकलगायत अत्यावश्यक विधेयकहरु तत्काल संसद पेश गर्ने निर्णय गरेको छ ।
बैठकले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ बसेको बैठकले २०७८ साउनमा एमाले विभाजनका लागि ल्याइएको अध्यादेश संसदमा पेश नभएका कारण निष्क्रिय भएका राजनीतिक दलसम्बन्धी ऐनका प्रावधानहरु संशोधनका लागि विधेयक ल्याउने निर्णय गरेको हो ।
एमाले विभाजनलगत्तै फिर्ता लिइएको अध्यादेश संसदमा पेश नभएका कारण राजनीतिक दलसम्बन्धी ऐनका केही दफा निष्क्रिय छन् । अब ल्याइने विधेयकमा कुनै पनि राजनीतिक दलको केन्द्रीय समिति वा संसदीय दलको ४० प्रतिशतले पार्टी विभाजन गर्न सक्ने प्रावधान राखिने भएको छ ।
यसअघि केन्द्रीय समित र संसदीय दल दुवैतिरको ४० प्रतिशत चाहिने व्यवस्था थियो । तर माधव नेपाललाई एमाले फुटाउन दुवैतिर उक्त संख्या नपुगेपछि ३० प्रतिशत बनाएर अध्यादेश जारी गरिएको थियो । त्यस्तै, विधेयकमा विभाजित भएको दल प्रतिनिधि सभाको उक्त कार्यकालभरी अर्को पार्टीमा विलय वा एकीकरण हुन नपाइने प्रावधान राख्न कांग्रेसले संयन्त्रमा प्रस्ताव गरेके छ ।
नेकपा एसका ४० प्रतिशत सांसद र केन्द्रीय सदस्यहरु सो पार्टीबाट अलग हुन चाहेको र उनीहरु एमालेमा मिसिन सक्ने भएकाले कांग्रेसले यस्तो प्रस्ताव गरेको हो । त्यसैगरी, राजनीतिक दलसम्बन्धी ऐनमा विद्यमान रहेको विभाजित भएर बनेर बनेको संसदीय दल पाँच वर्षसम्म फेरि विभजित हुन नपाउने प्रावधान हटाइने भएको छ ।
संयन्त्रको बैठकले आर्थिक गतिविधि सहज बनाउन ल्याइएका अध्यादेशहरु संसदको फागुन २१ वा २२ गतेको बैठकमा पेश गर्ने निर्णयसमेत गरेको छ । बैठकमा सहभागी एमालेका मुख्य सचेतक महेश बर्तौलाले अब सबै विधेयकहरु फटाफट अघि बढाउने र अध्यादेश संसद पेश गर्नुअघि सत्ता साझेदार र सरकार समर्थित दलको बैठक बोलाउने सहमति भएको नेपाल प्रेसलाई बताए ।
बैठकमा एमालेबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव तथा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल र मुख्य सचेतक महेश बर्तौला सहभागी थिए । त्यस्तै, कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेख र प्रमुख सचेतक श्यमा घिमिरे सहभागी थिए । उच्चस्तरीय संयन्त्रमा रहेका एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र कांग्रेस महामन्त्री गगन थापा काठमाडौंबाहिर भएकाले सहभागी भएनन् ।