कोरिया रिटर्नी सुरेशको सफलता : ५० लाखको लगानीलाई यसरी पुर्‍याए ५ करोड – Nepal Press

कोरिया रिटर्नी सुरेशको सफलता : ५० लाखको लगानीलाई यसरी पुर्‍याए ५ करोड

रुपन्देही । सुरेश बहादुर क्षेत्री कोरियामा काम गरेर आफ्नो देशमा लगानी गरेर सफल व्यवसायी हुन् । बाग्लुङको बरेङमा जन्मेर हाल रुपन्देहीको सियारी गाउँपालिका ४ छपियामा स्थायी बसोबास गर्ने ३८ वर्षीय क्षेत्रीले कोरियामा सिकेको मेहनत र इमान्दारिताको अनुभव यहाँ आएर प्रयोग गरेकाले सफल भएको बताउँछन् ।

सन् २०११मा कोरिया गएर उनी २०१६ मा फर्केका हुन् । म्यानुफ्याक्चरिङ उद्योगमा काम गरेका क्षेत्रीले अनुशासन, इमान्दारिता, पारदर्शिता र लगनशीलता त्यहीँबाट सिकेको बताउँछन् ।

उनी कोरियाबाट फर्कदा करिब ५० लाख लिएर फर्केका थिए अहिले उनको विभिन्न क्षेत्रमा लगानी गरेर ५ करोड लगानी पुराएका छन् । अहिले क्षेत्रीले तीन वटा अलग अलग फर्म चलाएका छन् ।

बुटवल १९ रानीबारीमा कालिज र लोकल कुखुराको फर्म चलाएका छन् भने छपियामा माछा फर्म चलाएका छन् त्यसैगरी बुटवलको मिलनचोकमा यार्सा होटल चलाएका छन् भने तिलोत्तमाको मणिग्राममा यार्सा अर्गानिक हाउस संचालनमा ल्याएका छन् ।

ती मध्ये मिलनचोकको होटल एकल चलाएका छन् भने अन्य ठाउँमा मुख्य संचालकको रुपमा रहेका छन् । यी प्रतिष्ठानमा ३० जनालाई प्रत्यक्ष रोजगारी दिएको क्षेत्री बताउँछन् ।

‘मैले अर्गानिक वस्तु नै उत्पादन गर्ने र बेच्ने गरेको छु, बुटवलको रानीबारीमा कालिज र लोकल कुखुरा फर्म छ, छपियामा माछा फर्म छ । फर्म हाउससँगै रेष्टुरेन्ट पनि चलाएको छु यहाँबाट उत्पादन भएको वस्तु कटाउने गरी बुटवलमा यार्सा होटल छ भने अहिले मणिग्राममा पनि त्यसैअनुसारको चलाउन थालेको हुँ’ उनले भने, ‘अब यसलाई ब्राण्डको रुपमा अघि बढाउने हो यार्सालाई ।’

कोरियाबाट फर्केपछि धेरै बजारको अध्ययन गरेर कालिज पालन गरेको र त्यसबाट सफलता पाएको उनको भनाइ छ ।

‘हामीले कालिजपालन गर्ने समयमा बजार थिएन, बजारका लागि पूर्वपश्चिम सबैतिर गएर बजार बनाइएको हो, त्यो बेला कालिजमा पनि राम्रै कमाई थियो तर अहिले बजार कम छ, आफ्नो उत्पादनले मिलनचोकको होटल र मणिग्रामको फार्म टाइपको होटलमा बेच्ने र बाहिर आफ्नो बजार भएको ठाउँमा मात्रै दिनेगरी काम गरेको छु’, उनले सुनाए । विदेश बसेर आएकाहरु यहाँ आएर अध्ययनबिना लगानी गरेकाले असफल भएको उनको बुझाई छ ।

‘विदेशमा ठूलो दुःख छ, विदेशमा त्यो अनुभव सिकेर यहाँ काम गर्न थालेकाहरु काम गर्दा आत्तिनुहुँदैन । सधै काम थालेको सफल भइन्छ भन्नेछैन ।’ उनले भने, ‘कोरिया बसेर राम्रै कमाएकाहरु यहाँ आएर सबै गुमाएका धेरै छन्, कोरिया बसेर आएका यहाँ असफल भएर दुवई मलेसिया गएका पनि छन्, धेरै सफल भएका छैनन् ।’

क्षेत्रीले आफूलाई कोरियाले मेहनत र इमान्दारिता अनि धैर्यता सिकाएको र त्यही बाटोमा हिंडिरहेकाले असफल हुन नपरेको बताउँछन् ।

‘मलाई मेहनत र इमान्दारितासँगै धैर्यता सिकायो, तर नेपालमा आफ्नो काम गर्दा मेहनतले मात्रै होइन प्राविधिक विषय पनि जान्न जरुरी छ सफलताको लागि ।’

सुरेश भन्छन्, ‘उत्पादन गर्नु सामान्य हो, त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने ठूलो कुरा हो । म भन्दा पछि आएका साथीहरुले पनि यहाँ आएर राम्रै गर्नुभएको छ तर धेरैले सफल नभएको सूचना पाएको छु । विदेशबाट आएका केही साथीहरु रमाइलोमा बिताएर कमाएको सक्ने र पछि छटपटिएको अवस्था धेरै छ ।’

उनको बुझाईका ९० प्रतिशतलाई मेहनत र इमान्दार हुन सिकाउँछ कोरिया बस्नेलाई तर त्यस्तो अनुभव लिएर यहाँ आएका फसेका छन् । उनका अनुसार यहाँ भएकोलाई विश्वास गर्नुपर्छ र विदेश बसेपछि यहाँ आउनेलाई सेट हुनै गाह्रो छ भन्ने बुझ्न जरुरी छ ।

सुरेशलाई अहिले श्रीमति सुष्मा पाण्डेले सघाएकी छन् । एक छोरा र एक छोरी अनि आमा सँगै बसेका उनलाई सबै क्षेत्रमा सफलता भने परिवारको साथले पाएका हुन् ।

‘लगानी जुटाउन समस्या छ, कालिज फर्ममा केही अनुदान लिएको हो, समस्यासँग डराएर भाग्नुहुँदैन निरन्तर कर्म गरेपछि सफलता पाइन्छ भन्ने लाग्छ । हार्ने छुट छैन मलाई भनेर पूर्ण भएर लागेको हुँ’, उनले आफ्नो व्यवसायको पहिलो हण्डरबारे स्मरण गर्दै भन्छन्, ‘इटलीबाट कालीजको अण्डा काठमाण्डौ ल्याएर चल्ला बनाएर ल्याउनेबेला कोरोनाको संकट आयो, त्यो समयमा निकै दुःख पाइयो । पैसा बैंकमा थियो दाना खुवाउन रकम नभएर छटपटाउन परेको थियो । दोस्रो कोभिडमा पनि निकै पाइयो । पूर्वदेखि महाकालीसम्म कालिजको बजार खोज्न हिँडियो ।’

सुरेशले धेरै नेपाली असफल हुनाको कारण देखासिकीमा लगानी गर्नु मुख्य कारण भएको बताउँछन् ।

‘नेपालमा निकै छिटो कपिराइट गर्ने चलन छ, बजारको अध्ययन नगरी काम थाल्ने चलन छ । कालिज पाल्ने २० प्रतिशतभन्दा माथि डुबेको अवस्था छ । गलत सूचना भयो, अध्ययन भएन । धेरैले कुनै अध्ययन नगरी लगानी भयो, उत्पादनमात्रै भयो, बजारको खोजी भएन । लगानी धेरै भएकाले डुबेका हु्न ।’ उनले भन्छन्, ‘बजार अध्ययन गरेर लगानी गर्नेहरु कुनै विपत्ति नपरी असफल हुँदैनन् ।’

धेरै साझेदारीमा काम गर्नेहरु दीर्घकालीन योजना नभएकाले समस्यामा पर्ने गरेको बताउँदै उनले सानो होस् वा ठूलो जुनसुकै लगानीकर्ताले पनि पहिले सबै कुरा लिखित रुपमै प्रष्ट पारेर काम थाल्नुपर्ने बताउँछन् ।

‘संयुक्त काम गर्दा उद्देश्य, लक्ष्य र जिम्मेवारी प्रष्ट हुनुपर्छ, पारदर्शी हुनुपर्छ अनि कुनै समस्या हुँदैन । लगानीअनुसारको प्रतिफल र घाटा हुने हो समस्या हुँदैन’, उनले भने, ‘बाहिर बसेर आउनेलाई बुझेर मात्रै लगानी गर्न आग्रह छ, अलिकति अध्ययन गरेर लगानी गर्नुस् । आउनेबित्तिकै लगानी नगर्नुस् ।’

सुरेशका अनुसार अहिले नेपालमा लगानी गर्ने वातावरण धेरै सहज भएपनि विभिन्न कानूनी झन्झटका कारण बाहिरबाट आएर केही गर्न खोज्नेलाई समस्या बनेको बताउँछन् ।

‘लगानीको वातावरण सुध्रेको अवस्था छ तर विश्वासको समस्या छ । राज्यको अस्थिरताले धेरैलाई डर लागेको छ । संभावना छ धेरै तर प्रष्ट नीति र विश्वासको समस्या तथा अस्थिरताले लगानीकर्तालाई ढुक्क भएर काम गर्ने वातावरण छैन’, उनले भने, ‘कर बुझाउन जाँदा पनि निकै दुःख छ, सबै सेवा सहज बनाइदिनुपरो, मुर्ख व्यपारी भएर निरन्तरता दिएका हुन् यसलाई सुधार गर्न जरुरी छ । व्यापारीको समस्या के हो, कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा तीनै तहका सरकार र सरकारी कार्यालयले चासो दिन जरुरी छ ।’

पछिल्लोपटक रुपन्देहीको तिलोत्तमा नगरपालिकामा यार्सा अर्गानिक हाउस सञ्चालनमा ल्याएका छन् । प्रकृतिसंग स्वादको भेट गराउने नारासहित सुरेशले साथी विष्णु घिमिरेसँगको सहकार्यमा ६० लाख संयुक्त लगानीमा यार्सा अर्गानिक हाउस सञ्चालनमा ल्याएका हुन् ।

हाउसले १३ जनालाई प्रत्यक्ष रोजगारीमा समेत जोडेको छ । गुणस्तर र सर्वसुलभ अर्गानिक स्वाद दिने उद्देश्यसहित एकदमै फरक व्यवस्थापनमा हाउस सञ्चालनमा ल्याईएको सञ्चालक सुरेश क्षेत्रीले जानकारी दिए ।

मौसमी तथा बेमौषमी तरकारीहरु उत्पादन गर्नको लागि टनेल हाउसमा बसेर ग्रीनरी हेर्दै आफैले साग टिप्दै खान पाउने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

‘कोरोनापछि व्यक्तिहरुमा अर्गानिक खानेकुराहरुप्रति रुचि बढिरहेको छ र हामी पनि अर्गानिक नै खुवाउने योजना बनाएका थियौँ । सोही कन्सेप्टलाई टिपेर यार्सा अर्गानिक हाउस सञ्चालनमा ल्याएका हौं’, उनले भने, ‘टनेलभित्र बसेर खाना कुर्दै गर्दा सागपात आफै टिपेर खान मिल्ने व्यवस्था समेत मिलाएका छौं ।’

उनले ग्राहकहरुलाई गुणस्तरीय खानेकुरा सक्दो सस्तो मूल्यमा व्यवस्थापन गर्ने योजना अनुरुप नै काम गरिरहेको बताउँदै ग्राहकको स्वास्थ्य र पैसा दुबै बचाउनेगरी व्यवस्थापन भईरहेको बताए ।

अहिलेको लागि कालिज, लोकल कुखुरा तथा माछा केजीको रुपमा किनेर विभिन्न परिकार बनाएर ग्राहकलाई पस्कने बताउँदै सञ्चालक क्षेत्रीले पकाएको लागि न्यूनतम शुल्क लिने गरेको उनले जानकारी दिए ।

यहाँ आईटी अध्ययन गर्दै गरेका विष्णु घिमिरेका छोरा सरोज घिमिरेले पनि हाउसको व्यवस्थापनमा सहयोग गर्दै आएका छन् । पछिल्लो समय देखिएको स्वास्थ्यप्रति सचेतको अवस्था हेर्दा अर्गानिकमा आकर्षण बढेको व्यवस्थापक सरोज घिमिरेले बताए ।

उनले आफुहरुको मेन्युमा रहेका अधिकांश कुराहरु आफै उत्पादन गर्दै आईरहेको बताए । होटल क्षेत्रमा १० वर्ष बढीको अनुभव बोकेका सुरेशले अहिले मौषमी र बेमौषमी तरकारीहरु लगाउनको लागि १ बिघा क्षत्रेफल जग्गामा टनेल तथा अन्य पूर्वाधारहरु निर्माण गरिरहेका छन् ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर