नेकपा एमालेको प्रयोग अरुलाई पाठ – Nepal Press

नेकपा एमालेको प्रयोग अरुलाई पाठ

पछिल्लो निर्वाचनबाट लोकप्रिय मत पाएर पहिलो भएको नेकपा एमालेले स्थापनाकालदेखि नै विभिन्न प्रयोगात्मक अभ्यासहरु गरिसकेको छ । ती अभ्यासले नेकपा एमालेलाई थप परिस्कृत र सुदृढ बनाएको प्रमाण हो गत निर्वाचनमा प्राप्त लोकप्रिय मत। एमालेले गरेको तिनै अभ्यासबाट अरु दलभन्दा नेकपा एमाले फरक देखिएको हो। यहि सेरोफेरोमा रहेर केही विषयगत क्षेत्र अनुसार नेकपा एमालेले गरेको प्रयोगात्मक अभ्यासको चर्चा गर्ने कोसिस गरिएको छ ।

आर्थिक मामलामा एमाले

निर्वाचन आयोगको पछिल्लो तथ्यंकअनुसार नेपालका राजनीतिक दलहरुमध्ये पैसाका आधारमा सबैभन्दा धनी दल नेकपा एमाले देखियो। गत आर्थिक वर्षमा झण्डै १५ करोड आम्दानी गरेछ । झण्डै आठ करोड खर्च गरेछ। झण्डै सात करोड बचत देखिन्छ।

पार्टी सदस्यता शुल्कबाट मात्रै साढे एघार करोड माथि रकम संकलन भएको रहेछ । पार्टी मुख्यालयको वार्षिक खर्च सात करोड ८५ लाख ३८ हजार देखियो। सदस्यता शुल्कबाट नैं पार्टीको काम नियमित गर्न सकिने रहेछ भन्ने आँकडाले देखाउँछ ।

स्रोत संकलन र व्यवस्थापनमा पार्टी मुख्यालयका जिम्मेवार नेताहरुको परिश्रम पक्कै परेको छ। सँगै आमपार्टी सदस्यहरुको योगदान पनि अतुलनीय छ। अहिले सार्वजनिक भएको विवरण पार्टी केन्द्रको मात्र हिसाबकिताब हो। प्रदेश, जिल्ला, पालिका र वडा तहका संरचनाहरुमा पनि आर्थिक कारोबार हुन्छन्। हिसाबकिताब बैंक खाता तथा दोहोरो श्रेस्ता प्रणालीमा आधारित हुने गरेको छ । नेकपा एमालेको पार्टीगत संरचनामा तहगत लेखा कमिटीहरु छन् । पार्टीको हिसाबकिताब मसिनो गरी हेर्ने चलन बढेको छ । यसले पार्टीप्रतिको विश्वास र भरोसा वढ्ने नै छ ।

नेकपा एमालेको नियमावलीमा नै पार्टी सदस्यता र नवीकरण शूल्कवापत्को रकम पालिका कमिटीभन्दा माथिल्ला कमिटीबीचमा बाँडफाँडको व्यवस्था थियो। दुई वर्षअघि मिसन ग्रासरुट अभियान चल्यो । त्यो अभियानबाट नयाँ रिफ्लेक्सन भयो । पार्टीेको जग कमिटी भनेको वडा कमिटी हो तर, सदस्यता वा नवीकरण शूल्कको कुनै अंश त्यहाँ जाँदैनथ्यो ।

पटि यस विषयमा समिक्षा भयो । नीतिमा परिवर्तन आयो । अहिले वडा कमिटीमा पनि १० प्रतिशत रकम जाने व्यवस्था गरिएको छ । यही अवधारणा हो, ‘गर्दै सिक्दै’ ।

नेपालमा रहेका मुख्य दलहरुमध्ये नेकपा एमाले बाहेक अरु सबै दलहरु घाटामा रहेको देखिएको छ । अर्थात् एमाले बाहेक अरु पार्टीहरुले आफ्नो कमाइबाट पार्टीका नियमित गतिविधिहरु सञ्चालन गर्न सक्दैनन् भन्ने देखिन्छ । तुलनात्मक रुपमा अन्य दलभन्दा नेकपा एमाले आर्थिक पमा सुदृढ हुनुमा आफूलाई जनआधारित कार्यकर्ताको पार्टीको रुपमा स्थापित र परिचालन गर्नु एउटा कारण हुनसक्छ । त्यसैले आर्थिक मामलामा नेकपा एमाले अग्रणी दल हो भन्दा केही फरक पर्दैन ।

सांगठनिक गतिशीलतामा एमाले

नेकपा एमालेका सबै सदस्यहरु कुनै न कुनै कमिटीमा आवद्ध हुनु पर्दछ भनिन्छ । विशेष अभियानमा जुनसुकै तहका नेता भए पनि आफ्नो वडामा केन्द्रित हुने अभ्यास छ । अहिले ‘अबको ध्यान वडा केन्द्रीत अभियान (जरा अभियान) सञ्चालन भइरहेको छ । यस अभियानमा माथिल्ला कमिटीका नेताहरु आफ्नो वडा, टोल र बस्ती केन्द्रीत भइरहेका छन् । हरेक नागरिकसँग भेटघाट र उनीहरुको गुनासा, अपेक्षा सुन्ने अभियानमा लागिरहेका छन् ।

‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानले राष्ट्रिय आकांक्षा चर्चामा ल्याएको छ । त्यही कुरा अलिकति फरक पारेर अरु दलले पनि पछ्याइरहेको पाइन्छ । हरेक वर्ष कुनै न कुनै नयाँ अभियान सञ्चालन गरिरहेको छ एमालेले । मिसन ग्रासरुट, सुसू अभियान, मध्यपहाडी लोकमार्ग केन्द्रित समृद्धिको यात्रा लगायतका अभियानहरु सञ्चालन गरिरहेको छ । ती अभियानको अनुशरण अहिले अरु दलले पनि नाम र ठाउँ फेरेर सञ्चालन गरिरहेका छन् ।

नेकपा एमालेका हरेक तहमा पार्टी संरचना बनेका छन् । टोलदेखि केन्द्रसम्मको संरचना रहेको छ । हरेक संरचनागत कमिटीहरु नियमित बैठक बस्छन् । सचिवालय छ । पदाधिकारीहरुको बैठक हुन्छ । हरेक संरचनाका पदाधिकारीहरुमा कम्तिमा एक जना महिला र ३३ प्रतिशत महिलाको प्रतिनिधित्वको सुनिश्चित गरिएको छ । युवाको प्रतिनिधित्वलाई अनिवार्य गरिएको छ । नेकपा एमालेका २३ वटा जनसंगठनहरु क्रियाशील रहेका छन् । हरेक तहमा जनसंगठनहरु बनेका छन् । तहगत अधिवेशनमा जनसंगठनहरुबाट प्रतिनिधित्वको व्यवस्था गरिएको छ । तहगतका कमिटीहरुले विभिन्न विभागहरु गठन तथा परिचालन गरका छन् । पार्टी सर्कुलरअनुसार बस्ती मात्रै होइन, घरधुरीसम्मको इञ्चार्जको प्रबन्ध गरिएको छ । हरेक नागरिकसँग जोडिएको छ, नेकपा एमाले । त्यही भएर नेकपा एमालेले आफूलाई जनआधारित कार्यकर्ताको पार्टी भन्ने गर्दछ ।

बहुपदीय प्रणालीमा एमाले

नेकपा एमाले नामाकरण हुनुपूर्व ‘महासचिव’ पद मात्रै हुन्थ्यो । जब २०४७ साल पौस २२ मा नेकपा माक्र्सवादी र नेकपा माले एकीकरण भएर नेकपा एमाले बन्यो । त्यसबेला अध्यक्ष र महासचिव पद सिर्जना गरियो । माक्र्सवादीका मनमोहन अधिकारी अध्यक्ष र मालेका मदन भण्डारी महासचिव भए ।

कम्युनिष्ट पार्टीमा यसरी बहुपद सिर्जना भएको नौलो अभ्यास थियो त्यो । यद्यपि अध्यक्ष अधिकारीको निधनपछि अध्यक्ष पदलाई थाती राखियो । महासचिव पद नैं प्रमुख मानियो । केन्द्रबाहेक अरु संरचनामा सचीव नै प्रमुख पद मान्ने गरिन्थ्यो ।

बहुपदीय प्रणाली आत्मसात् गर्ने नेपालको प्रमुख दलहरुमध्ये नेकपा एमाले नै पहिलो हो । नेकपा एमालेको बुटवल महाधिवेशन (२०६८) बाट वैधानिक रुपमा बहुपदीय निर्वाचन गरी कमिटी चयन गरिएको थियो । सबै कमिटीमा यो अवधारणा लागू भइसकेको छ । नेकपा माओवादी २०७१ सालबाट मात्र बहुपदलाई स्वीकार गरी सामूहिक नेतृत्वमा गएको देखिन्छ ।

संसदीय अभ्यासमा एमाले

२०४६ को परिवर्तनपछि २०४८ सालमा पहिलोपटक संसदीय निर्वाचन भयो । २०५ स्थानका लागि भएको निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्यायो । नेकपा एमाले प्रमुख प्रतिपक्ष बन्यो । एमालेले आफ्ना निर्वाचित सांसदका लागि ‘ड्रेस कोड’ नै दियो । काठमाडौंमा सामूहिक बसाईको प्रबन्ध पनि गर्‍यो । पार्टीेको तर्फबाट खर्चको चाँचापाँजो मिलायो । सांसदले पाउने पारिश्रमिक सुविधा पार्टीले लिने नीतिको पनि अभ्यास गर्‍यो तर, काम लागेन । पछि एमालेले आफ्नो नीति परिवर्तन गर्‍यो ।

तर, एमालेले गरेको त्यही पुरानो अभ्यास नेकपा माओवादीले २०६३ साल माघ १ गते संसद छिर्दा गर्‍यो । सांसदको बसाईको शिविर नै बनाएको देखियो । त्यो बेलामा एमालेजनहरु भन्दै थिए, ‘हामीले उहिल्यै गरेको काम लागेन ।’ नभन्दै माओवादी पनि एमालेकै बाटोमा लाग्यो । अहिले सांसदसँग निश्चित शुल्क लिन्छन् । यहि प्रकृया नेकपा एमालेमा पनि छँदैछ ।

उम्मेदवार छनौटमा एमाले

नेकपा एमालेको विधानमा कमिटी अन्तर्गत जनप्रतिनिधि भन्ने व्यवस्था छ । तर सम्बन्धित कमिटीले उम्मेदवार टुङ्गयाउने पद्धति विकास नहुञ्जेलसम्म कमिटी अन्तर्गत जनप्रतिनिधिको व्यवस्था प्रभावकारी रुपमा लागू हुन सक्दैन । पार्टी गतिलो बनाउनका लागि कमिटीमा रहन प्रतिस्पर्धा हुनुपर्दछ, न कि जनप्रतिनिधि !

सम्बन्धित तहको उम्मेदवार सम्बन्धित कमिटीले टुङ्गो लगाउने पद्धति विकास गर्न सकिने हो भने पार्टी कमिटीप्रति चासो र आकर्षण बढ्न सक्नेछ । कुनै पार्टी कार्यकर्ता वडा अध्यक्षमा उम्मेदवार बन्न चाहन्छ भने, त्यही तहको कमिटीले छिनोफानो गर्ने हो भने ऊ माथिल्लो पार्टी कमिटीमा प्रतिनिधित्व गर्ने चाहना राख्दैन । वडास्तरकै कमिटीमा क्रियाशील हुन्छ । पार्टी कार्यकर्ता र नागरिकबीच घुलमिल भइरहने संभावना हुन्छ । माथिल्लो कमिटीतिर धेरै चाप पनि पर्र्दैन । पार्टीका हरेक कमिटीहरु सशक्त हुन्छन् ।

उम्मेदवारहरुको नामावली छिनोफानो गर्न कठिनाई पर्ने अवस्था पक्कै आउँछ तर, सम्बन्धित कमिटीले सबैले मान्ने विधि अपनाएर टुंग्याउन सकिने व्यवस्था गर्न सकिन्छ । सकेसम्म सहमतिमा नभए आन्तरिक निर्वाचनको विधि अपनाएर भए पनि टुङ्याउने व्यवस्था लागू गर्नुपर्दछ ।

त्यसरी टुंग्याएमा सम्बन्धित कमिटीले निर्वाचनको कमाण्ड गर्ने, आर्थिक व्यवस्थापन गर्ने, निर्वाचन अभियान गर्ने र जिताउने प्रमुख अभिभारा पनि कमिटीकै हुन्थ्यो । यो प्रकृया अपनाउन सक्ने मुलुकमा देखिएका पार्टीहरुमध्ये नेकपा एमाले नै प्रथम हुनुपर्दछ । किनकि घरघरमा जरा भएको दल यो नै हो । यसको अभ्यासबाट अरु दललाई पनि पाठ हुनसक्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *