उपेन्द्रको निचोड- ओली सरकार साना दललाई कमजोर पारेर आयु लम्ब्याउने जालझेल गर्दैछ – Nepal Press

उपेन्द्रको निचोड- ओली सरकार साना दललाई कमजोर पारेर आयु लम्ब्याउने जालझेल गर्दैछ

काठमाडौं । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारले अरु दललाई कमजोर बनाउने नीति लिएको आरोप लगाउनुभएको छ ।

आइतबारबाट ललितपुरमा सुरू पार्टीको केन्द्रीय समिति बैठकमा राजनीतिक एवं संगठनात्मक प्रतिवेदन पेश गर्दै अध्यक्ष यादवले केपी शर्मा ओली नेतृत्वको सरकारको आयु लम्ब्याउन जालझेल गर्ने, साना दललाई कमजोर बनाउने नीति लिएको आरोप लगाए । सरकारले दुई दलीय व्यवस्था कायम गर्न ल्याउने भनिएको थ्रेसहोल्ड बढाउनेसम्बन्धी विधेयक त्यसैको एउटा ज्वलन्त उदाहरण भएको उनको प्रतिवेदनमा उल्लेख छ ।

यादवले प्रतिवेदनमा सत्तामा टिकिरहने गतिविधिले उत्पन्न भएका अविश्वासका कारण प्रचण्ड नेतृत्वको सरकार पतन भएको जिकिर गरे । त्यसपछि ठूला दल मिलेर बनेको सरकार गठनपश्चात मुलुकमा सुशासन, समृद्धि र विकास गर्नुभन्दा बढी कोरा नारामा मात्र सीमित रहेको देखिएको उनले बताए छ ।

सरकारप्रति जनतामा नैराश्यता बढ्दै गएको भन्दै अध्यक्ष यादवले सुशासन कायम गर्न र आर्थिक विकास गरी समृद्धि प्राप्त गर्नका लागि ठोस नीति कार्यक्रम तथा योजना नदेखिएको टिप्पणी गरेका छन् । राष्ट्रिय हितको रक्षा, राष्ट्रियहीत अनुकूल परराष्ट्र नीति कायम गर्न नसकेको कारणले वर्तमान सरकार असफल र असक्षम सावित भइसकेको यादवको निचोड छ ।

यादवले संसदमा प्रस्तुत गरिएको ६ वटा विधयेकमध्ये भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश देश जनताको हितमा नरहेकाले भूमि अध्यादेशको विरुद्धमा दृढताका साथ उभिएको बताए ।

तीन दिनसम्म चल्ने बैठकमा वर्तमान राजनीतिक परिस्थितिका साथै गत भदौ महिनादेखि पार्टीले सञ्चालन गरेको जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माण अभिायानको समीक्षा हुने जसपा नेपालका प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

बैठकमा अभियानमा परिचालित नेताहरूले कार्यप्रगति विवरण प्रस्तुत गर्ने र त्यसपछि आगामी कार्यक्रम तय गरिने जसपा नेपालले जनाइएको छ । त्यस्तै जसपा नेपालका भातृ संस्था लगाएत बिभिन्न कमिटीको अधिवेशनका समेत बैठकमा छलफल हुने प्रवक्ता सुमनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर