प्रचण्डको दाबी- सरकारको विश्वसनीयता सकिएकाले पूरातनवादी शक्तिहरु हौसिए (भिडिओ)


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको विश्वसनीयता सकिएका कारण पूरातनवादी शक्तिहरु हौसिएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सरकारको बेथिति र असफलताले व्यवस्थाप्रति मोहभंग भएको र त्यसका कारण देखिएको असन्तुष्टिका कारण पूरातनवादी शक्तिहरु हौसिएको बताएका हुन् ।
प्रचण्डले सरकार असफल भइरहेको र पूरातनवादीले समेत प्रतिगमन र प्रतिक्रान्तिको तरवार चलाउने सपना देखिरहेकाले सरकारका गलत क्रियाकलाप र प्रतिगामी चलखेलविरुद्ध जुध्नु पर्ने विशिष्ट अवस्था सृजना भएको जिकिर गरे ।
राजावादीको चहलपहलको पछाडी देशभित्र र बाहिरका संगठीत चलखेल देखिएको उनले बताए । संसारका विभिन्न देशहरुमा तानाशाही राजाहरुको अन्त्य कसरी भएको छ भन्ने बिर्सिएर नेपालको शान्ति प्रक्रिया र गणतन्त्रको मौलिकतालाई कम नआँक्न उनले चेतावनी समेत दिए ।
उनले लोकतन्त्रभित्र आफ्नो ठाँउ खोज्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिए । आफु ८ महिना अघिसम्म सरकारका रहदा नदेखिएको असन्तुष्टि अहिलेको सरकार बनेपछि जनतामा असन्तुष्टि र आक्रोश बढ्दै गएको उनले बताए । प्रचण्डले दुई तिहाइको घोडा सरकारका प्रधानमन्त्री र मन्त्रीले चलाएको आफूले नदेखेको भन्दै सरकारलाई विचौलियाले चलाइरहेको आरोप समेत लगाए ।
प्रचण्डले सरकारले संसद् सञ्चालनमा प्रतिपक्षलाई कति स्पेश दिइएको छ भन्दै प्रश्न गरे । प्रमुख प्रतिपक्षी दलको नेता रोस्टममा उभिँदा निरन्तर अनुपस्थित रहनु कुण्ठा हो कि घमण्ठ हो भन्दै उनले प्रधानमन्त्रीलाई प्रश्न गरे ।
प्रचण्डले प्रतिपक्षी दलका नेता रवि लामिछानेलाई अनुचित ढंगले निलम्बन गरिएको तर्क गरे । आफ्नो कार्यकालमा महत्वपूर्ण विधेयक ल्याएपनि अहिले सरकारकै कारण अघि बढ्न नसकेको उनले बताए ।