ओमसतियामा पार्क शिलान्यास गर्दै प्रचण्ड, किन भइरहेछ आलोचना ? – Nepal Press

ओमसतियामा पार्क शिलान्यास गर्दै प्रचण्ड, किन भइरहेछ आलोचना ?

छविलाल विश्वकर्माले गरे वहिष्कार, तत्कालीन पालिका अध्यक्ष भन्छन्– मैले ५ वर्षअघि नै शिलान्यास गरिसकेको हुँ

रुपन्देही । ओमसतिया गाउँपालिका-६ स्थित रामजानकी जमुहानी पोखरा तालको पार्क आज माओवादी अध्यक्ष प्रचण्डबाट शिलान्यास गर्ने तय भएको छ । तर,पालिकाका तत्कालीन अध्यक्षसहितले ०७६ सालमै शिलान्यास भइसकेकाे भन्दै  विरोध जनाएका छन् ।

तत्कालीन गाउँपालिका अध्यक्ष हीरा केवट राहुलले ०७५/७६ मा १८ लाख विनियोजित गरी आफूले शिलान्यास गरेर निर्माण गरिएको संरचनालाई आज पुनः शिलान्यास गराएर राजनीतिकरण गर्न खोजिएको आरोप लगाए । उनले माओवादीबाटै चुनाव जितेका थिए ।

‘अहिले बजेट थपिएको सत्य हो तर यसको शिलान्यास मेरै पालाका भएको थियो, १८ लाखको संरचना निर्माण भइसकेको छ, त्यहाँ गएर हेर्न पनि सक्नुहुन्छ, कि काम सकेर उद्घाटन नै गराएको भए हुने थियो’, उनले भने,‘यसको अहिलेका जनप्रतिनिधि सबैको विरोध छ । माओवादीले एकल कार्यक्रम बनायो ।’

उपाध्यक्ष सुनिता चौधरीले अघिल्लो कार्यकालमा शिलान्यास भएको विषयमा आफूलाई जानकारी नभएको बताइन् । यहाँ अहिले संघीय तथा पालिकाको बजेटबाट नयाँ ढंगले काम भइरहेको उनको भनाइ छ ।

‘खै थाहा भएन, हाम्रो पालामा होइन, मैले पनि सुनेको थिएँ पहिले शिलान्यास भएको भनेर । तर वडाअध्यक्षले नै भएको छैन भन्नुभो । यस्ता सानो विषयमा विवाद नगरेको भए राम्रो हुने थियो’, उनले भनिन् ।

ओमसतियाका अध्यक्ष मन्जितकुमार यादवले पहिले थोरै काम भएको तर अहिले बजेट थपेर डीपीआर गरेर शिलान्यास गर्न खोजिएको बताए ।

‘पहिले सामान्य शिलान्यास भएको हो, मन्दिर पनि बनेको छ तर अहिले डिटेल डीपीआर बनाएर शिलान्यास गर्न लागिएको हो’, उनले भने,‘संघको ९० लाख र पालिकाको ४० लाख बजेट अहिले यसमा राखिएको छ, यसको वडाध्यक्ष शिवकुमार धवलले नै नेतृत्व गर्नुभएको छ, आजको कार्यक्रम पनि उहाँकै हो, पालिकाको होइन ।’

वडाध्यक्ष धवल माओवादीबाट निर्वाचित हुन् । पूर्वअध्यक्ष राहुल अहिले एमालेमा लागेका छन् । त्यही कारण प्रतिशोधको राजनीति गरिएको एमाले नेताहरूको आरोप छ । यो विषयमा एमाले केन्द्रीय सचिव तथा सो क्षेत्रबाट संघीय सांसद रहेका छविलाल विश्वकर्माले पनि असहमति जनाएका छन् । उनले सामाजिक सञ्जालमा सूचना लेखेर यसमा सहभागी नहुने जानकारी दिएका छन् ।

तर, वडाध्यक्ष धवलले पहिलेको शिलान्यास र आजको शिलान्यास हुने आयोजना नै फरक भएको दाबी गरे ।

‘म पहिले पनि वडाध्यक्ष थिएँ अहिले पनि छु । पहिले सामान्य बजेट परेको थियो, त्यतिबेला मन्दिरको शिलन्यास भएको हो । अहिले बजेट थपेर पार्क र ताल सबै बनाउनका लागि शिलान्यास गर्न लागिएको हो’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर