प्रधानमन्त्री कप क्रिकेटः आर्मी र पुलिसको लगातार दोस्रो जित – Nepal Press

प्रधानमन्त्री कप क्रिकेटः आर्मी र पुलिसको लगातार दोस्रो जित

रुपन्देही । दुई विभागीय टीम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेका छन् । बुधबार भएको खेलमा आर्मीले सुदूरपश्चिमलाई ८ विकेट र पुलिसले कोशी प्रदेशलाई १५४ रनले पराजित गरेका छन् ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा जितका लागि पाएको ११८ रनको लक्ष्य पछ्याएको आर्मीले २३ ओभर ५ बलमा २ विकेटको नोक्सानीमा ११९ रनको लक्ष्य भेट्टायो ।

उसको जितमा सन्तोष कार्कीले अविजित ५५ रनको अर्धशतकीय पारी खेले । यस्तै तृतराज दासले ३१ र कप्तान विनोद भण्डारीले नटआउट २० रन जोडे ।

बलिङमा सुदूरपश्चिमका शेर मल्ल र मिलन बोहराले १-१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ५० ओभरमा ४५ ओभर ३ बल खेल्दै सबै विकेट गुमाएर ११७ रन बनाएको थियो । उसलाई सस्तैमा रोक्न प्लेयर अफ द म्याच घोषित आर्मीका शाहब आलमले कसिलो बलिङ गरेर । उनले १० ओभरमा २ मेडनसहित १९ रन खर्चेर ४ विकेट लिए ।

यस्तै सोमपाल कामीले २ तथा आकाश चन्द, नरेन साउद, बसिर अहम्मद र कुशल मल्लले १-१ विकेट लिए । सुदूरपश्चिमका निश्चल क्षेत्रीले अविजित ४९, सुनिल चन्द र नारायण जोशीले १६-१६ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
प्रतियोगितामा सुदूरपश्चिमको यो दोस्रो हार हो ।

त्यस्तै रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पुलिसले कोशीमाथि सहज जित निकाल्यो । पुलिसले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८८ रनको बलियो योगफल बनायो ।

पुलिसका लागि लगातार दोस्रो खेलमा पनि अर्धशतक बनाएका कुशल भुर्तेलले सर्वाधिक ६५ रन जोडे । उनले ७८ बलमा २ चौका र २ छक्का प्रहार गरे । यस्तै दीलिप नाथले ६४ बलमा ४ चौका र १ छक्काको सहयोगमा ६१ रन बनाए । ओपनर अर्जुन साउद र रसिद खानले समान ३८-३८, कप्तान दीपेन्द्रसिंह ऐरीले ३२ तथा गुल्शन झाले २१ रन जोडे ।

कोशीका लागि भुपाल लुइँटेलले ३, प्रकाश कार्कीले २ तथा श्रवण किस्कु, दीपेश कँडेल र फिर्दोश अन्सारीले समान १-१ विकेट लिए ।

२८९ रनको लक्ष्य पछ्याएको कोशी ३६ ओभर २ बलमा १३४ रन बनाउँदा अलआउट भयो । कोशीका लागि सुजन थपलियाले ३३, कप्तान अंकित सुवेदीले २१, शकिब हकले १७ र फिर्दोश अन्सारीले १० रन जोडे ।

पुलिसका लागि करण केसीले ३, कुशल भुर्तेल र लतितनारायण राजवंशीले समान २–२ तथा सागर ढकाल, गुल्शन झा र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए । कुशल भुर्तेल प्लेयर अफ द म्याच भए । कोशीको यो लगातार तेस्रो हार हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर