पुरुष क्रिकेटरको ग्रेडिङ: दुई कुशल खस्किँदा अनिलको फड्को, मयन र लोकेशको इन्ट्री
विनोद भण्डारी र अर्जुन साउद ग्रेडिङमा अटाएनन्


काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली पुरुष तथा महिला क्रिकेटरहरुको नयाँ बर्गिकरण गर्दा ठूलो हेरफेर केही गरेन । दुवैतर्फ गरी कुल ५२ खेलाडीहरु समेटिँदा अपेक्षित नामहरु नै छन् ।
पुरुषतर्फ ‘ए’ ग्रेडमा ५ खेलाडीहरुलाई स्थान दिइएको छ । कप्तान रोहितकुमार पौडेलसहित दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, सन्दीप लामिछाने र सोमपाल कामी ‘ए’ ग्रेडमा छन् । अघिल्लो वर्ष ‘ए’ ग्रेडमा अटाएका कुशल भुर्तेल र करण केसी यसपालि ‘बी’मा झरेका छन् ।
‘बी’मा भुर्तेल र करणसहित गुल्शन झा, ललितनारायण राजवंशी र अनिल साहले स्थान बनाएका छन् । अनिलले ‘डी’ ग्रेडबाट ‘बी’मा फड्को मारेका हुन् । फास्ट बलर अविनाश बोहरा ‘बी’बाट ‘डी’मा झरेका छन् ।
अघिल्लो पटक ‘बी’मा रहेका कुशल मल्ल यसपालि ‘सी’मा झरेका छन् । उनीसहित आरिफ शेख, भीम सार्की र सन्दीप जोरा ‘सी’ ग्रेडमा छन् ।
अघिल्लो वर्ष ‘सी’ ग्रेडमा रहेका विनोद भण्डारी र अर्जुन साउद यस पटक सेन्ट्रल कन्ट्राक्टबाटै फ्याकिए । उनीहरु कुनै पनि ग्रेडमा अटाएनन् । यस्तै प्रतिश जीसी भने ‘सी’बाट ‘डी’मा झरेका छन् ।
ग्रेड ‘डी’मा लोकेश बम, सागर ढकाल, साहब आलम, आकाश चन्द, विवेक यादव, सूर्य तामाङ, रिजन ढकाल, देव खनाल, बसिर अहमद, प्रतिश जीसी, अविनाश बोहरा र मयन यादव अटाएका छन् । अघिल्लो वर्ष ‘डी’ ग्रेडमा रहेका पवन सर्राफ बाहिरिए । लोकेश बम र मयन यादवले पहिलो पटक ग्रेडिङमा इन्ट्री पाएका हुन् ।
इमर्जिङ क्याटेगोरीमा अर्जुन कुमाल, शुभ कंसाकार र सन्तोष यादवको इन्ट्री भएको छ । अघिल्लो वर्ष इमर्जिङमा रहेका विपीन खत्री यस पटक बाहिरिएका छन् ।