कपिलवस्तु ११ ले जित्यो सैनामैना गोल्डकप


रुपन्देही । कपिलवस्तु ११ ले रुपन्देहीको सैनामैनास्थित मुर्गियामा भएको प्रथम सुनगाभा सैनामैना गोल्डकप फुटबलको उपाधि जितेको छ ।
मुर्गिया फुटबल क्लबको आयोजनामा बुधबार भएको फाइनलमा अभिषेक चर्च रजहर नवलपुरलाई १–० गोल अन्तरले पराजित गर्दै कपिलवस्तु ११ ले उपाधि जितेको हो ।
पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफको १० मिनेटमै कपिलवस्तु ११ का मोहम्मदले डी बक्समा पाएको उत्कृष्ट अवसरलाई गोलमा परिणत गरेका थिए । उक्त गोल नै खेलको निर्णायक बन्दा कपिलवस्तु ११ उपाधि विजेता बन्न सफल भएको हो ।
आजको खेलमा दुवै टोलीले विदेशी खेलाडी मैदानमा उतारेका थिए । दुवै टीमले गोलका थुप्रै अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । १० दिनसम्म चलेको प्रतियोगितामा १० टीमको सहभागिता रहेको थियो ।
प्रतियोगिताको विजेता कपिलवस्तु ११ ले नगद ७ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र जितेको छ । दोस्रो भएको अभिषेक चर्च रजहर नवलपुरले नगद ४ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पायो ।
प्रतियोगिता समापनमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सैनामैना– ७ मा बन्दै गरेको गौतम बुद्ध स्टेडियम निर्माण गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।