गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’मा बन्ने चलचित्रमा जितु र सुहानापछी प्रकाश सपुत अनुबन्धित


काठमाडौं । कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’मा आधारित रहेर निर्माण हुने चलचित्र ‘परालको आगो’मा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन् । चलचित्र निर्माण कम्पनी हरिओम सिने मेकर्सुका तर्फबाट निर्माता सुशील पोखरेलले प्रकाशलाई चलचित्रमा अनुबन्ध गरेका हुन् । मैनाली कथा पुरस्कार ट्रस्टले हरिओम सिने मेकर्स निर्माता कम्पनीलाई चलचित्र निर्माणको मञ्जुरी दिइसकेको छ ।
‘परालको आगो’ मैनालीको कथा संग्रह ‘नासो’मा संग्रहित छ । निर्माता पोखरेलका अनुसार प्रकाश चलचित्रका प्रमुख दुई पात्रमध्ये एक हुन् । यसअघि प्रमुख कलाकारका रुपमा जितु नेपाल र सुहाना थापा अनुबन्धित भइसकेका छन् । निर्माता पोखरेलले चामे,गौंथली र जुठे दमाईको वरिपरि घुम्ने कथामा जितु र प्रकाशको क्यारेक्टर चामे र जुठे दमाईमध्ये कुन भन्ने चाहिँ भएको भन्ने बारे भने अहिले खुलाउन चाहेनन।
चलचित्रमा सुशील देवकोटाको लेखन, संकल्प भुजेलको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी र सत्य–स्वरुपराज आचार्यको संगीत हुनेछ । चलचित्रका निर्माण नियन्त्रण नगेन्द्र घिमिरे हुन् । चलचित्र २०८२ मा प्रदर्शन हुनेछ ।
यो नाममा ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले चलचित्र निर्माण गरेका थिए । अब बन्ने चलचित्रमा निर्देशक लक्ष्मण सुनारको निर्देशन रहने छ भने चलचित्रमा दुई पात्र चामे र गौँथलीको झैँझगडालाई प्रस्तुत गरिएको छ ।