एन्जिलाः महिला फुटबल कप्तानको मार्मिक बायोपिक

काठमाडाैं । नेपाली फुटबलप्रेमीहरूलाई थाहा छ, अञ्जिला तुम्बापो सुब्बा नेपाली महिला राष्ट्रिय फुटबल टीमकी क्याप्टेन हुन् । उनी अहिले युरोपेली मुलुक ग्रीसमा व्यवसायिक फुटबल खेलिरहेकी छन् । उनीसित अहिले नाम छ, दाम छ । अनि फुटबल करियरको उत्कर्षमा छिन् ।
अहिले सफलताको शिखर चुमिरहेकी अञ्जिला धेरै लामो अक्करको बाटो हिँडेर यहाँसम्म आइपुगेकी हुन् । उनको यही सकसपूर्ण यात्रालाई निर्देशक मिलन चाम्सले चलचित्रमार्फत देखाउने प्रयत्न गरेका छन् । अहिले हलमा चलिरहेको बायोपिक ‘एन्जिला’ ले उनै क्याप्टेन अञ्जिलाको संघर्षको बहीखाता उप्काउने यत्न गरेको छ ।
अञ्जिलाले खेलाएको मोजाको बलदेखि इलामका चउरसम्मलाई चलचित्रमा देखाइएको छ । उनको हातले छोएको साँच्चैको फुटबलदेखि उनले झेलेको दुःखका तगारोसम्मलाई समेटिएको छ । उनले सहेको भोकको अविछिन्न श्रृंखलादेखि उनले देखेको सपनाको अनन्त क्षितिजसम्मलाई चलचित्रमा अटाइएको छ । यस हिसाबले ‘एन्जिला’ हेर्नलायक बायोपिक हो ।
‘एन्जिला’ हेर्नलायक बन्नुको पछाडि न मेकिङ कलात्मक भएर हो न त कथावाचन अत्यधिक सुन्दर भएर हो । न सम्पादन उच्चकोटीको भएर हो न त क्यामेरा नै उस्तो सुन्दर ढंगले चलाइएकाले हो । चलचित्र हेर्नलायक बन्नुको पछाडि एकै कारण छ, अञ्जिलाको संघर्षको यात्रा र सफलता । अप्ठेराहरूसँग हारेर नभाग्ने जब्बर अञ्जिलाको स्वभावले चलचित्रलाई हेर्नलायक बनाएको छ ।
आमाको भावनात्मक समर्थनमा अञ्जिलाले एक्लै तय गरेको यो कठिन यात्राको हरेक अभिभावक साक्षी बस्नुपर्छ । आफ्ना बालबच्चा लिएर यो चलचित्र हेरे अभिभावकलाई कुनै क्षति हुँदैन ।
बुवा जँड्याहा र गैरजिम्मेवार हुनु । अञ्जिला र उसकी दाइ स-सानै हुनु, आमाको काँधमा सबथोक जिम्मेवारी आइलाग्नु । घरमा जँड्याहा बुवा र निरीह आमाबीच झगडा भइरहनु । अनि बुवाले अर्की आमा लिएर गइदिनु, तर आमाले हिम्मत नहार्नु, छोराछोरीका लागि निरन्तर संघर्ष गरिरहनु ।
परिबन्धमा परेर आमाको चन्द्रबहादुर (दयाहाङ राई) सँग विवाह हुनु । सौताको रूपमा गएकी अञ्जिलाकी आमाको संघर्षको अनवरत श्रृंखला कहिल्यै नसकिनु । अञ्जिला मोजाको फुटबल खेल्दै साँच्चैको फुटबल खेल्न सक्ने हुनु । दैनन्दिन किपिङमा प्रगति गर्दै जानु । सौतेलो बाउ चन्द्रबहादुरले फुटबल खेल्नमा रोक लगाउनु । ‘कहिल्यै फुटबल खेल्दिनँ’ भनेर लुगा र जुत्ता आगोमा जलाउनु, तर फुटबल छाड्न नसक्नु !
उनको फुटबल-सपनाका लागि आमाको सधैँ साथ र समर्थन पाइरहनु । आमाकै कारण इलामबाट भागेर काठमाडौं आउनु । काठमाडौंमा आफन्तको घरमा पनि उही कथा दोहोरिनु । यसपछि सडकमा आउनु । अनि सडकबाट उठेर नेपाली फुटबलको आकाशमा कावा खान सुरू गर्नु ।
अञ्जिलाको यिनै संघर्षपूर्ण कथाका कारण चलचित्र हेर्नलायक बनेको हो । किनभने यो संघर्षको कथा नेपाली समाजको प्रतिनिधि कथा हो । भुईंबाट आएका एक-एक नेपालीले गर्ने संघर्षको कथा हो यो । गरिबी र अभावको दलदलमा चुर्लुम्म डुब्दा पनि सपना देख्न नछाड्ने संघर्षशील नेपालीहरूको प्रतिनिधि कथा हो ।
‘एन्जिला’को अर्को खासियत भनेको स्वयं अञ्जिला तुम्बापोले गरेको जीवन्त अभिनय हो । आफ्नै कथा भएर पनि हुनसक्छ, उनको यो जीवन्त अभिनय । व्यवसायिक कलाकारकै दाँजोमा अभिनय गरेकी अञ्जिला तुम्बापोले अभिनयको रङ थपेर चलचित्रमा अर्को इन्द्रेणी बनाएकी छन् ।
दयाहाङको अभिनय ठीकठाक छ । माओत्से गुरुङको अभिनयले पात्रलाई न्याय गरेको छ । चलचित्रभरि नै भावनात्मक संवेग सृजना गरिरहने पात्र चाहिँ एन्जिलाकी आमा (सृजना सुब्बा) हुन् । सृजनाले निर्वाह गरेको अभिनयले ती सारा आमाहरूलाई सम्झाउँछन्, जसले सन्तानको भविष्यको खातिर आफ्नै जिन्दगी दाउमा राख्छिन् । छोराछोरीकै भविष्यका लागि श्रीमान्को हिंसा सहन्छिन् । छोराछोरीकै लागि दोस्रो विवाह गर्छिन् । अनि एन्जिलालाई बारबार भनिरहन्छिन्, ‘तँलाई मेरो जस्तो जिन्दगी बाँच्न दिन्नँ ।’
चलचित्रमा एउटा दृश्य छ, जहाँ सृजनाले एन्जिलालाई मिर्मिरेमा बस चढाएर काठमाडौं पठाउँछिन् । यो दृश्य चलचित्रभरिकै सुन्दर दृश्य हो । घाम उदाउन लागेको समयमा सपना पछ्याउँदै एन्जिला शहर पस्नुले बिम्बात्मक रूपमा धेरै कुरा भन्छ । चलचित्रको अन्त्यतिर एन्जिलाले झापा पुगेर साँच्चैको बुवालाई फर्निचर कारखानामा भेट्छे । त्यहाँ माओत्सेले निर्वाह गरेको पात्रले अनुहारमा देखाउने आत्मग्लानीको भाव बडो गजबको छ । त्यो पात्रले आफ्नी छोरीलाई अंगालो हाल्न त के छुन पनि सक्दैन । दृश्यको अन्त्यमा एन्जिलाले पैसा दिएर उक्त पात्रलाई ढोग्छे । यो दृश्यले एन्जिलालाई खेलाडीमात्रै होइन, मान्छे पनि बनाएको छ । चलचित्रको यो अर्को बलियो दृश्य हो ।
‘एन्जिला’ हेर्नलायक बन्नुको पछाडि न मेकिङ कलात्मक भएर हो न त कथावाचन अत्यधिक सुन्दर भएर हो । न सम्पादन उच्चकोटीको भएर हो न त क्यामेरा नै उस्तो सुन्दर ढंगले चलाइएकाले हो । चलचित्र हेर्नलायक बन्नुको पछाडि एकै कारण छ, अञ्जिलाको संघर्षको यात्रा र सफलता । अप्ठ्याराहरूसँग हारेर नभाग्ने जब्बर अञ्जिलाको स्वभावले चलचित्रलाई हेर्नलायक बनाएको छ ।
यी राम्रा दृश्यहरूका बीचमा सौताहरूबीच हुने नोकझोँकलाई हल्का रूपमा देखाइएका दृश्यहरू चलचित्रको ऐंजेरु जस्ता लाग्छन् । आफ्नो श्रीमान् अर्की महिलातिर सल्किएको थाहा पाएपछि सुराकी लगाएर श्रीमान्को गोठालो गरिएका दृश्यहरु सस्ता नेपाली सिरियलमा देखिआएका सस्ता दृश्यहरू हुन् । यस्ता दृश्यले चलचित्रको समय लम्ब्याउने बाहेक अर्थोक गर्दैन । यस्ता प्रसंगलाई फरक अनि सृजनात्मक तरिकाले देखाएको भए चलचित्र अझै अब्बल हुने थियो ।
चलचित्रका अधिकांश प्रसंग र मूलकथा थाहा हुँदाहुँदै पनि अञ्जिलाको संघर्ष र सपनाप्रतिको दृढ संकल्पले चलचित्र हेर्नलायक मात्रै बनाएको छैन, निर्देशक मिलन चाम्सको समेत इज्जत बचाइदिएको छ । यसका लागि मिलनले अञ्जिलालाई जति धन्यवाद दिए पनि पुग्दैन ।
अन्त्यमा, आमाको भावनात्मक समर्थनमा अञ्जिलाले एक्लैले तय गरेको यो कठिन यात्राको हरेक अभिभावक साक्षी बस्नुपर्छ । आफ्ना बालबच्चा लिएर यो चलचित्र हेरे अभिभावकलाई कुनै क्षति हुँदैन । बरु आफ्नै प्यारेन्टिङमा समीक्षा गर्न बाध्य बनाउँछ ।