उमन्स डे कपः नेपालले हङकङलाई ६ विकेटले हरायो – Nepal Press

उमन्स डे कपः नेपालले हङकङलाई ६ विकेटले हरायो

काठमाडौं । युगान्डामा जारी चार देश सम्मिलित उमन्स डे कप टी- २० श्रृंखलामा आज नेपालले हङकङलाई पराजित गरेको छ । समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले ६ विकेटको जित निकालेको हो । नेपाल फाइनल दौडबाट बाहिरिइसकेको छ ।

हङकङले टस जितेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा १०४ रन जोड्न सफल भएको थियो । नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्यो । नेपालका लागि ओपनर सम्झना खड्काले आक्रामक ब्याटिङ गर्दै ४७ रन बनाइन् । उनले ४३ बल खेल्दा ३ चौका प्रहार गरेकी थिइन् ।

ओपनिङमै आएकी कप्तान इन्दु वर्माले ३२ बलको सामना गर्दै १८ रन बनाएर आउट भइन् । पूजा महतो २६ बलमा २० रन बनाएर अविजित रहिन् । आज पनि नेपालले दुई ब्याटरलाई रनआउटका रुपमा गुमाएको थियो । रोमा थापा ४ रन र विन्दू रावल ४ रनमा रनआउट भएका थिए ।

यसअघि बलिङमा नेपालका लागि राजमती ऐरीले उत्कृष्ट प्रदर्शन गरिन् । उनले ४ ओभरमा १७ रन खर्चेर तीन विकेट लिएकी थिइन् । यस्तै कप्तान इन्दुले ४ ओभरमा १२ रन खर्चेर दुई विकेट लिइन् । पूजा र ईश्वरी विष्टले १-१ विकेट बाँडे ।

हङकङकी ओपनर साहजीन साहजादले ५४ रनको अर्धशतकीय पारी खेल्दै टीमलाई सम्मानजनक स्कोरमा पुर्‍‍याएकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर