शेयर बजार छिरेका हुन् ठूला लगानीकर्ता ?

काठमाडौं । बैंकहरुले दिने मार्जिन प्रकृतिको (शेयर धितो कर्जा)मा उल्लेख्य वृद्धि भएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिले शेयर धितो कर्जाको सीमा हटाएसँगै यस शीर्षकमा कर्जा बढेको हो ।
चालू आर्थिक वर्षको सात महिनामा वाणिज्य बैंकहरूले ९३ अर्ब १२ करोड ४९ लाख रुपैयाँ शेयर धितो ऋण दिएका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.८४ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकहरुले ६६ अर्ब ५९ करोड ४३ लाख रुपैयाँ शेयर धितो कर्जा प्रदान गरेका थिए ।
गएको असार मसान्तसम्मको तुलना गर्दा पनि वाणिज्य बैंकहरुले दिएको शेयर धितो कर्जा करिब ९ प्रतिशतले बढेको छ । गएको असार मसान्तसम्म वाणिज्य बैंकहरुले ७० अर्ब ३४ करोड यस शीर्षकमा कर्जा प्रवाह गरेका थिए ।
यस अवधिमा सबैभन्दा बढी नबिल बैंकले शेयर धितो कर्जा दिएको छ । चालू आवको सात महिनामा यस बैंकले १२ अर्ब ९५ करोड रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेको छ । जबकी गत आवको सोही अवधिमा यस बैंकले ११ अर्ब ७० करोड ऋण दिएको थियो ।
दोस्रोमा रहेको ग्लोबल आइएमइ बैंकको पनि यस शीर्षकमा दिने ऋण ७५ प्रतिशतले बढेको छ । चालू आवको साउनदेखि माघ मसान्तसम्म यस बैंकले ११ अर्ब ६४ करोड रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेको छ । गत आवको सोही अवधिमा ६ अर्ब ६२ करोड कर्जा दिएको थियो ।
शेयर धितो कर्जा लैजानेमा धेरै ठूला लगानीकर्ताहरू रहेको पाइएको छ । राष्ट्र बैंकको तथ्यांक हेर्ने हो भने व्यक्ति तथा संस्थागत लगानीकर्ताहरूले लैजाने एक करोड माथिको शेयर धितो कर्जाको रकममा उल्लेख्य बढेको छ ।
राष्ट्र बैंकका अनुसार चालू आवको सात महिनामा बैंक तथा वित्तीय संस्थाहरूले १ खर्ब १५ अर्ब ११ करोड रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेका छन् । जसमा सबैभन्दा बढी हिस्सा १ करोड माथिको शेयर धितो कर्जाको छ ।
चालू आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म एक करोड माथिको शेयर कर्जा माघ मसान्तसम्ममा प्रवाह भएको १ करोड रुपैयाँमाथिको शेयर कर्जा ७६ अर्ब ४० करोड रुपैयाँ प्रवाह भएको छ । यो गत वर्षको सोही समयको तुलनामा ४६.१७ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा एक करोड माथिको शेयर कर्जा ५२ अर्ब २६ करोड प्रवाह भएको थियो ।
त्यस्तै, ५० लाखदेखि १ करोड रुपैयाँसम्मको शेयर धितो कर्जा १४ अर्ब ५४ करोड रुपैयाँ प्रवाह भएको छ भने २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको १६ अर्ब २५ करोड रुपैयाँ कर्जा दिइएको छ । यसका साथै २५ लाखभन्दा तलको शेयर धितो कर्जा ७ अर्ब ९१ करोड रुपैयाँ प्रवाह भएको राष्ट्र बैंकको तथ्यांकमा देखिन्छ ।
पछिल्लो समय शेयर बजारमा कारोबार भएको रकम हेर्दा ठूला लगानीकर्ताहरू भित्रिएको आशंका गर्न सकिने ब्रोकर एसोसियसनका पूर्व अध्यक्ष भारत रानाभाट बताउँछन् । उनीहरू शेयर धितो कर्जा लिएर बजार प्रवेश गरेको हुनसक्ने उनको भनाई छ ।
‘बजारमा कारोबारको भोलुम हेर्दा दुई तीन महिना यता ठूला कारोबार भइरहेका छन् । पहिले कारोबार खुम्चिएको थियो । अहिले सात/आठ अर्ब माथिको कारोबार भइरहेको छ । समग्रमा कारोबार हेर्दा शेयर बजारमा लगानीकर्ता बढेका छन्’, उनले भने ।
संस्थागत लगानीकर्ताहरूका लागि कर्जाको सीमा हटाएकोले पनि ऋण लिएर लगानी गर्न आउनेहरू बढेको उनले बताए । यसले बजारमा ठूला लगानीकर्ता आइरहेको छन् भन्ने देखिएको उनले जानकारी दिए ।
३५ नं. ब्रोकरका सञ्चालक समेत रहेका रानाभाटले नेपाल प्रेससँग भने, ‘समग्रमा ट्रान्जेशन बढिरहेको छ । अहिले बजारमा देखिएको कारोबारले ठूला लगानीकर्ता त्यो पनि संस्थागत आइरहेको देखिन्छ । नयाँ लगानीकर्ताहरू पनि शेयर बजारमा भित्रिरहेका छन् ।’
अहिले बैंकहरुमा पर्याप्त तरलता छ । बैंकहरुको ब्याजदर पनि घटिरहेको छ । राष्ट्र बैंकले पनि लचिलो नीति अवलम्बन गरिरहेका बेला शेयर बजारमा लगानीकर्ता प्रवेश हुने सकारात्मक रहेको शेयर लगानीकर्ता मुक्ति अर्यालको तर्क छ ।
‘शेयर धितो कर्जा बढ्नु भनेको बजारमा लगानी थपिनु पनि हो । अहिले लगानीका लागि प्रशस्त सम्भावना छन् । यसले गर्दा पनि ठूला साना सबै लगानीकर्ताहरू प्रवेश गरिरहेका छन्’, उनले भने ।
गत वर्षको तुलनामा अहिले कारोबार रकम पनि बढेकाले ठूला लगानीकर्ताहरू बजार प्रवेश गरेको उनले जानकारी दिए । केही दिन यता नेप्से परिसूचक घटेपनि कारोबार रकम भने बढिरहेको उनले जानकारी दिए ।
यो साताको अन्तिम कारोबार बुधवार नेप्से दोहोरो अंकले बढेको थियो । यस दिन ८ अर्ब २३ करोडको कारोबार भएको थियो ।