सचिवमा बढुवा नभएपछि असन्तुष्ट डा. संगिता मिश्र एक सातादेखि ‘अनिश्चितकालीन’ बिदामा – Nepal Press

सचिवमा बढुवा नभएपछि असन्तुष्ट डा. संगिता मिश्र एक सातादेखि ‘अनिश्चितकालीन’ बिदामा

डा. बाराकोटीलाई मन्त्रीले दिए स्वास्थ्य सेवा महानिर्देशकको जिम्मेवारी

काठमाडौं । बढुवामा अन्याय भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त स्वास्थ्य सचिव डा.संगिता कौशल मिश्र एक सातादेखि बिदामा बसेकी छन् । बरियतामा आफूभन्दा पछिका अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटा सचिवमा बढुवा भएपछि उनी असन्तुष्ट थिइन् ।

मन्त्रीपरिषदले सचिव बढुवा गर्ने निर्णय लिएको भोलिपल्टैदेखि मिश्र विदामा बसेकी हुन् । स्वास्थ्यमन्त्रीले आफूलाई विभेद गरेको उनको आरोप छ ।

सरकारले निर्णय सच्याउने तथा उचित व्यवस्थापनको पर्खाइमा रहेको डा. मिश्रले नेपाल प्रेससँग बताइन् । कहिलेसम्म विदामा बस्नुहुन्छ ? भन्ने प्रश्नमा उनले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेल वा मन्त्रालयसँग बुझ्न सुझाइन् ।

मन्त्रालय स्रोतका अनुसार मिश्रले एक साताका लागि विदा लिएकी थिइन् । उनले मागेको विदा आजबाट सकिएको छ । भोलि शनिबार हो । आइतबारपछि पनि विदा बस्न चाहेमा उनले अर्को निवेदन दिन सक्ने मन्त्रालय स्रोतको भनाइ छ ।

मिश्र बिदा बसेपछि स्वास्थ्यमन्त्री पौडेलले स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी अतिरिक्त स्वास्थ्य सचिव डा. टंक बाराकोटीलाई दिएका छन् । डा. देवकोटा सचिव भएसँगै विभागको महानिर्देशक खाली भएको थियो । देवकोटासँगै स्वास्थ्य सचिवमा सिफारिस भएका बाराकोटीलाई मन्त्रीले महानिर्देशक बनाएका हुन् । उनले शुक्रबार दिउसो विभागमा पुगेर पदभार ग्रहण गरिसकेका छन् ।

डा.बाराकोटी स्वास्थ्य मन्त्रालयको १२औँ तहमा अतिरिक्त सचिवमा रुपमा मन्त्रालयमा कार्यरत थिए । स्वास्थ्यमन्त्री पौडेलले गत फागुन २७ मा मन्त्रीस्तरीय निर्णय गर्दै बाराकोटीलाई महानिर्देशकको जिम्मेवारी दिएका थिए ।

यसैबीच स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा नियुक्त भएका डा.रघुराज काफ्लेले पनि बोर्डमा पुगेर पदबहाली गरेका छन् । केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले काफ्लेलाई बोर्डको कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।

काफ्लेले स्वास्थ्य बीमा सुधार कार्यदलको सदस्य भएर स्वास्थ्य बीमा सुधारका लागि सुझाव दिएका थिए । उनी यसअघि गण्डकी प्रदेश सरकारको नीति तथा योजना आयोगको उपाध्यक्ष थिए भने त्यस अघि बैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक थिए ।


प्रतिक्रिया

One thought on “सचिवमा बढुवा नभएपछि असन्तुष्ट डा. संगिता मिश्र एक सातादेखि ‘अनिश्चितकालीन’ बिदामा

  1. अनिश्चितकालीन विदा भन्ने पनि हुन्छ र ? कि अराजकता हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर