४५ वर्ष अघि चोरी भएका तीन पौभाः नेपाल फिर्ता – Nepal Press

४५ वर्ष अघि चोरी भएका तीन पौभाः नेपाल फिर्ता

उपप्रमुख डंगोल भन्छिन्- अब संरक्षण गर्न महानगर तयार छ

काठमाडौं। चित्रकला अर्थात पौभाः नेपालको संस्कृति र सम्पदासँग जोडिएका अमूल्य निधि हुन् । पौभाः मात्रै होइन अमूल्य सम्पदाहरु पनि विभिन्न कालखण्डमा हराउने र चोरी हुने गरेका छन् ।

त्यसरी हराएका र चोरिएका अमूल्य सम्पदाहरु विश्वका विभिन्न देशसम्म पुगेका हुन्छन् । त्यति मात्रै होइन ती सम्पदाहरु त्यहाँका आर्ट ग्यालरी र संग्राहलयहरुमा सोकेस भित्र सजाएर राखिएका हुन्छन् । पछिल्लो समय त्यसरी चोरिएका वा हराएका ती सम्पदाहरुको खोजिनीति गर्ने र नेपाल फर्काउने क्रमले निरन्तरता पाउन थालेको छ ।

केही समय अघि मात्रै आज भन्दा ४५ वर्ष अघि चोरी भएका र ५ सय ५० वर्ष पुरानो इतिहास बोकेका इतुंबहालका तीन वटा पौभाः (चिन्तामणि लोकेश्वर, केशचन्द आजु भैरव दर्शन गरिरहेका तथा गगनसिं र उनका दुई श्रीमती) घर (नेपालं) फिर्ता भएका छन् । फागुन २० गते तीन वटै पौभाः तथा अन्य १७ वटा कलाकृति नेपाल ल्याइएको हो ।

विभिन्न समयमा हराएका, चोरिएका सम्पदा काठमाडौँ महानगरपालिकासँगको प्रयास र पुरातत्व विभागको समन्वयमा विभिन्न सङ्घसंस्थाले अभियान नै बनाएर फर्काउने पहल गरिरहेका छन् । इतुंबहालका तीन पौभाः पनि त्यहि प्रयास र समन्वयमा स्वदेश फर्काइएको हो ।

इतुंबहालका ती तीन वटा पौभाः २०३७ साल अघिसम्म इतुंबहालमै गुँलापर्वका बेला १५ दिनसम्म श्री केशचन्द्र महाविहारमा प्रदर्शनीमा राखिएको थियो । ती तिन वटै पौभाःहरु २०३७ साल भदौ २९ गते महाविहार परिसरबाटै हराएका थिए । त्यसपछि करिब ३३ वर्षसम्म कहाँ थिए भन्ने अज्ञात रहे ।

विभिन्न प्रयासपछि ती पौभाःलाई नेपाल फर्काएपछि सम्पदाप्रेमी र इतुंबहालबासी मात्रै होइन महानगरपालिकाका जनप्रतिनिधिहरुले पनि खुशी व्यक्त गरेका छन् ।

अमेरिकामा रहेका ती पौभाः फर्काउन पहल गर्ने नेवाः गुठी न्यूयोर्कका अध्यक्ष विजयमान सिंह केही दिन अघि इतुम्बहालका तीन पौभा र अन्य १७ वटा कलाकृतिसहित नेपाल आउनुभएको थियो । त्यो अवसरमा केशचन्द्रवृmत पारावत् महाविहार संरक्षण समाजले उहाँको सहित सम्मानमा काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेको थियो ।

महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा डंगोलले आफ्ना धारणा राख्दै ५ सय ५० वर्ष पुरानो इतिहास भएको इतुंबहालका ४५ वर्ष अघि चोरी भएका तीन वटा पौभाः घर फिर्ता भएकोमा खुशी व्यक्त गरिन्। अमूर्त संम्पदा मात्रै नभई यहाँको रहनसहन र संस्कारसँग जोडिएका यी पौभाः फिर्ता हुनु खुशीको कुरा भएको उनको भनाई थियो ।

‘हाम्रा नेपालका राम्रा–राम्रा सम्पदाहरु विदेशका आर्ट ग्यालरी र संग्राहलयमा सजाइएका हुन्छन् । त्यो सुनको पिँजडा जस्तै हो,’ उहाँले भन्नुभयो, ‘हाम्रा कलाकृति, सम्पदा जहाँ पुजिन्छ त्यहाँ मात्रै रमाउन सक्छन् । त्यो भनेको आफ्नै घर हो, आफ्नै ठाउँ हो, आफ्नै माटो हो ।’
उहाँले हराएका, चोरिएका सम्पदा फर्काउनु एउटा सफलता भएको पनि स्मरण गराइन् ।

ती फर्काइएको सम्पदाको संरक्षण गर्नु र सुरक्षित राख्नु थप महत्वपूर्ण कुरा हो,’ उनले भनिन्, ‘काठमाडौं महानगरपालिका यसको संरक्षणका लागि आवश्यक पूर्वाधार तयार गर्नेलगायतका काममा सहयोग गर्न र त्यसका लागि सहकार्य गरेर अघि बढ्न पनि तयार छ ।’

उनले ती सम्पदा फकाइसकेपछि त्यसको संरक्षण गर्ने दायित्व महानगरपालिकाको भएको उल्लेख गरे । ‘इतुंबहालको सानो ठाउँमा महत्वपूर्ण कुराहरु राखिएका छन् । यस्को स्तरोन्नतिका लागि महानगरपालिकाले एक करोड बजेट राखेको छ । यी सम्पदा अब चोरी हुनबाट रोकाउनका लागि आवश्यक पहल गर्न महानगरपालिका तयार छ,’ उपप्रमुख डंगोलले भनिन्, ‘अमेरिका भ्रमणका क्रममा पनि मैले यसरी चोरिएका सामाग्री कसरी नेपाल फर्काउने भन्ने विषयमा चासो राखेकी थिए । यो पटक पनि ती सम्पदा नेपाल फर्काउन पहल गर्ने विषयमा महानगरपालिका र मेरो व्यक्तिगततर्फबाट पनि सक्दो प्रयास गरेकी थिएँ । यो फिर्ताका लागि पहल गर्ने सबैलाई धन्यवाद । २० वटा सम्पदालाई नेपाल फर्काउने समूदायको यो पहल उदाहरणीय छ ।’

उपमेयर डंगोलले आर्ट इन्स्टिच्युट अफ सिकागोमा तलेजु भवानीको हार रहेको र त्यो फर्काउन अध्ययन भइरहेको जानकारी पनि आफूलाई प्राप्त भएको बताइन्। उनले यसभन्दा अघि नेवाः गुठीको पहलमा चार वटा सम्पदा फिर्ता भइसकेको समेत जानकारी दिइन् । ‘दोलखाका दुई वटा भैरवको मुकुट, भक्तपुरको श्री पञ्चदेवी, ललितपुरको उमामहेश्वर पनि फिर्ता भइसकेको छ,’ उनले भनिन्, ‘यो नेपालका सम्पदा विदेशबाट फर्काउने अभियानको सुरुवात हो । यसले निरन्तरता पाउँछ ।’

ती पौभाः सन् २००३ मा अमेरिकाको सिकागोस्थित आर्ट इन्स्टिच्युट अफ सिकागोमा प्रर्दशनीमा राखिएपछि नेपालबाट चोरी भएर त्यहाँ पुगेको भन्ने जानकारी भएको थियो ।

‘त्यतिबेला सेकलर ग्यालरीका मालिक कलाप्रेमी स्टेफन एककार्ड पनि सिकागोस्थित आर्ट इन्स्टिच्युट अफ सिकागोमा पुग्नु भएको रहेछ । ती पौभाः प्रदर्शनीमा राखेको देखेपछि उहाँले इतुम्बहाःका चोरी भएका पौभाः सिकागो पुगेको ठहर गर्नुभएछ,’ श्री भाष्करदेव संस्कारित केशचन्द्रकृत पारावत् महाविहार संरक्षण समाजका अध्यक्ष प्रज्ञारत्न शाक्यले भने, ‘त्यसपछि उहाँले गैरकानुनी रुपमा ल्याइएका पौभाःहरु आफने ग्यालरीमा प्रर्दशन नगर्ने ठहर गर्नुभएको थियो । त्यसपछि उहाँ नेपाल आइ इतुंबहाल संरक्षण समाजका तत्कालिन अध्यक्ष क्याप्टेन चन्द्रबहादुर शाक्यलाई हराएका ती पौभाःहरुबारे जानकारी गराउनु भएको थियो । त्यतिबेला नै पौभाःहरु फिर्ताका लागि पहल गर्न सुझाव दिनुभएको थियो ।’

त्यहि सूचनाका अधारमा उक्त समाजले पुरातत्व विभामा पुनः जाहेरी निवेदन दिनुका साथै इन्टरपोलमा समेत जाहेरी दिएको रहेछ । यसैका अधारमा अमेरिकाको सम्वन्धित निकायमा ती पौभाःहरु फिर्ता गर्ने कार्यका लागि पहल भएको शाक्यले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *