तीन तोला सुन भेटेका नवराजको गुनः लालच नगरी धनीलाई बुझाए (भिडिओ)
एक कार्यक्रम गरी वडाध्यक्षले गरे सम्मान


भोजपुर । छिमेकीको हराएको ३ तोला २ आनाको सुनको सिक्री फेला पारेका एक व्यक्तिले सम्बन्धित धनीलाई फिर्ता गरेका छन् ।
भोजपुर नगरपालिका-१२, टक्सार पारपानीका नवराज आचार्यले फागुन २९ गते बिहान भेटेको उक्त मूल्यवान् सिक्री धनी प्रकाश राई दम्पतीलाई जिम्मा लगाएका हुन् । उनले वडाध्यक्ष देवीप्रसाद कार्कीको रोहबरमा सुनको सिक्री धनीलाई हस्तान्तरण गरे । अहिलेको भाउमा उक्त सुनको मूल्य झण्डै साढे ५ लाख हुन आउँछ ।
सो अवसरमा वडामा एक कार्यक्रम आयोजना गरी आचार्यलाई सम्मानसमेत गरिएको छ । वडाध्यक्ष कार्कीले नवराजलाई दोसल्ला ओढाएर पति-पत्नीलाई नै सम्मान पत्र दिए ।
सिक्री धनी प्रकाशले चिन्तित भइरहेको बेला सुन जिम्मा दिएर उच्च मानवीय र नैतिक आदर्श प्रस्तुत गरेको भन्दै आचार्यको तारिफ गरे । प्रकाशले खेतमा काम गर्न जाने बेला घरमा फुकाल्न खोज्दा सिक्री हराएको थाहा पाएका थिए ।
छिमेकीको सिक्री हराउँदा आफूलाई पनि खल्लो लागेको नवराजले सम्झिए ।
‘गाउँ टोल नै अँध्यारो देखेँ । उहाँहरू कहिलेकाहिँ हिँड्ने बाटो मेरो कटेरो नजिकै पनि पर्थ्यो त्यही भेटिहाल्छ कि भनेर भोलिपल्ट (विहीबार) लौरोले खोस्रिँदै जाँदा सुरूमा सुनको पत्थर भेटेँ’, वडाध्यक्षहरूमाझ उनले सुनाए ।
‘बुढापाकाको उखानअनुसार भेट्टाएको सर्लक्कै नटिप्नु भन्थे मैले थु..थु गरेर देब्रे खुट्टाले टेकेर देब्रे हातले नै टिपेँ । मैले सुन भेटेको कुरा सुनाउँदा उहाँहरूलाई विश्वास लागेन । उहाँहरू सबै आत्तिएर आउनुभयो’, उनले भने ।
आफूले लुकाए भने कसैले नदेखेपनि चन्द्रसूर्यले त देख्छन् मैले मेरो आत्मालाई कसरी ढाँट्ने ? मेरो इमानदारितामाथि नै ठेस पुग्नेछ भन्ठानेर सिक्री जिम्मा दिएको आचार्य बताउँछन् ।
‘मेरो यो कामले मेरा छोरानातिमा मेरा बुवा/हजुरबुवाले साढे ५ लाखको सम्पत्ति भेट्दा पनि कुनै लोभमा नफसी फिर्ता गर्नुभएको थियो भनेर छाप पर्छ । भगवान्ले लोभ नदेखाइ सबैमा यो सन्देश जाओस् भन्ने मेरो कामना छ’, नवराजले भने ।
कतिले दिदैन थे दिनुभयो राम्रो काम