रुकुम पूर्वका डीएसपी अमुक पार्टीको सिपाहीका रूपमा प्रस्तुत भएको अखिल क्रान्तिकारीको आरोप – Nepal Press

रुकुम पूर्वका डीएसपी अमुक पार्टीको सिपाहीका रूपमा प्रस्तुत भएको अखिल क्रान्तिकारीको आरोप

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले रुकुमकोट, रुकुम (पूर्वी भाग) जिल्ला प्रहरी प्रमुख (डीएसपी) माधवराज खरेल राजनीतिक पार्टीको सिपाहीका रूपमा प्रस्तुत भएको आरोप लगाएको छ ।

संगठनका अध्यक्ष विजयप्रकाश शर्मा सापकोटाले एक विज्ञप्ति जारी गर्दै स्ववियु चुनाव शान्तिपूर्ण वातावरणमा सम्पन्न बनाउन भूमिका खेल्नुको साटो आफ्नो पदीय मर्यादा भुलेर प्रस्तुत भएको आरोप लगाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, आसन्न चैत ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तयारीको क्रममा सिस्ने शिक्षा क्याम्पस रुकुमकोट, रुकुम (पूर्वी भाग) जिल्ला प्रहरी प्रमुख (डीएसपी) माधवराज खरेलले स्ववियु निर्वाचन समिति र विद्यार्थी संगठनका प्रतिनिधिसँगको छलफलमा प्रवेश गरी स्ववियु निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न बनाउन भूमिका खेल्नुको साटो आफ्नो पदीय मर्यादा भुलेर अमुक राजनीतिक पार्टीको सिपाहीका रूपमा प्रस्तुत हुने विषयले हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।’

जिल्लामा शान्ति, सुरक्षा, अमनचयन कायम गर्नुको सट्टा जिल्ला प्रहरी प्रमुखको कुर्सीमा बसेर सत्ताको बुट बजार्ने प्रवृत्तिले बलिदानको सगरमाथा बोकेको रक्तरञ्जित कलम तारा अंकित झन्डा उठाएको संगठनलाई सह्य नहुने उनले चेतावनी दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘उक्त घटनाबारे छानबिन समिति गठन गरी कडाभन्दा कडा कारबाहीका लागि सम्बन्धित निकायलाई जोडदार माग गर्दछौं । अन्यथा हाम्रो सङ्गठन चुप लागेर नबस्ने चेतावनी पनि यसै प्रेस विज्ञप्तिमार्फत दिन चाहन्छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *