प्रधानमन्त्री कप क्रिकेट : पुलिसद्वारा एपीएफविरुद्ध २ विकेटको जित, मैदानमै होली मनाए खेलाडीले


रुपन्देही । दाङमा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ मा शुक्रबार भएको खेलमा विभागीय टीम नेपाल पुलिस क्लबले एपीएफ क्लबलाई २ विकेटले पराजित गरेको छ ।
लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा एपीएफ क्लबले दिएको ९५ रनको लक्ष्य पुलिस क्लबले २६ दशमलव २ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्याे । सामान्य लक्ष्य पछ्याएको पुलिसले जित निकाल्न संघर्ष गर्याे ।
आठ विकेट गुमाई सकेकोे अवस्था दवावमा पुगेको पुलिस क्लबलाई गुल्सन झाले चौका प्रहार गर्दै जित दिलाए । अभिशेष गौतमको बललाई लेगसाईडको दिशा देखाउँदै बाउन्ड्री लगाउँदै एपीएफ विरुद्ध जित निकाले ।
गुल्सनले २ चौकासहित अविजित १२ रन बनाए । कुशल भुर्तेलले २ चौकासहित ३१ रन बनाउँदा अर्जुन साउदले ११ रन, रासिद खानले १० रनको योगदान दिए । एपीएफका लागि भुवन कार्कीले ७ ओभरमा ३ मेडनसहित ३३ रन खर्चेर ३ विकेट लिए ।
यसैगरी, कप्तान रोहित पौडेल र अभिशेष गौतमले समान २–२ विकेट लिए । कमल ऐरीको नाममा १ विकेट रह्यो । यसअघि, विभागीय टीम एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई ९५ रन बनाएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको एपीएफ क्लब २७ दशमलव ४ ओभरमा अलआउट हुँदै जम्मा ९४ रन बनायो ।
नेपाल पुलिस क्लबका ललित नारायण राजवंशीले महत्त्वपूर्ण ६ विकेट लिएपछि एपीएफ ९४ रनमा समेटिएको थियो । ललितले ७ दशमलव ४ ओभरमा जम्मा १८ रन खर्चेर ३ मेडनसहित ६ विकेट लिएपछि एपीएफको टीम सस्तैमा समेटियो ।
एपीएफका लागि लोकेश बमले २२ रन, आसिफ शेखले १८ रन, सन्दीप जोराले २६ रन, अमर रौतेलाले १० रन जोड्नु बाहेक अरु खेलाडी क्रिजमा टिक्न सकेनन् ।
ललितले आसिफ शेख, सन्दीप जोरा, सुमित महर्जन, भुवन कार्की, कमलसिंह ऐरी र अभिशेष गौतमलाई सिकार बनाउँदै ६ विकेट लिँदा सागर ढकाल, करण केसी, गुल्सन झा, कुशल भुर्तेलले समान १–१ विकेट लिए ।
पुलिसको जीत आधार तयार पार्न १८ रन दिएर ६ विकेट लिएका ललित नारायण राजवंशी प्लेयर अफ द म्याच भए । पछिल्लो पाँच खेलमा पुलिस क्लब अपराजित टीम हो भने एपीएफले चारमा जित र २ मा हार व्यहोरेको छ । एपीएफ विरुद्ध जित हासिल गर्दै पुलिस क्लबले अंक तालिकामा पनि सुधार गरेको छ ।
जितसँगै पुलिस क्लब तीन खेलमा सतप्रतिशत जित निकाल्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने एपीएफ क्लब तेस्रो स्थानमा झरेको छ । अंक तालिकाको शीर्ष स्थानमा त्रिभुवन आर्मी क्लब रहेको छ ।
जारी प्रतियोगितामा अब शनिबार मधेश प्रदेश र नेपाल पुलिस क्लब बिच बिहान ९ बजेपछि देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ । नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगितामा ३ विभागीय टीम आर्मी क्लब एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टीमले फागुन २५ गतेबाट लुम्बिनी प्रदेशको रुपन्देही र दाङमा प्रतियोगिता खेलीरहेका छन् ।
मैदानमै होली मनाए खेलाडीले
रुपन्देही । सबैतिर होलीको माहोल थियो र प्रधानमन्त्री कप क्रिकेट खेल चलिरहेकाले यसमा आवद्ध खेलाडीहरुले पहिले खेललाई नै प्राथमिकता दिनुपर्यो । शुक्रबार यही मेसोमा देउखुरीमा क्रिकेट संघका केन्द्रीय सदस्य प्रदीप मजगैयाले खेलाडीहरुलाई यो पर्वको उत्साह थप्न खेल मैदानमै होली मनाउने व्यवस्था गरे ।
शुक्रबार विभागीय टीम नेपाल पुलिस क्लबले एपीएफ क्लबको खेल थियो दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा । खेल सकिएसँगै उनीहरुलाई मजगैयाले रमाइलो वातावरण तयार गरेका थिए ।
नेपाल क्रिकेट संघ दाङले त्यहाँ उपस्थित खेलाडी तथा खेलप्रेमीहरुको उत्साह थप्न होली मिलन कार्यक्रम आयोजना गरेको जनायो । फागु पूर्णिमा/होली पर्वका अवसरमा संघले मैदानका ग्राउण्ड स्टाफहरु संग होली मिलन कार्यक्रम मनाएको हो ।
शुक्रबार पीएम कप पछि देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान परिसरमा नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य प्रदिप मजगैयाले फागु पूर्णिमा/होली पर्वका अवसरमा संघले मैदानका ग्राउण्ड स्टाफहरु लाई टिका फागु विशेष शुभकामना आदान–प्रदान गरे ।
केन्द्रीय सदस्य मजगैँयाले नेपाल क्रिकेट संघ दाङका सम्पूर्ण पदाधिकारी, खेलाडीहरू, देउखुरी क्रिकेट क्लव, पत्रकारहरूलाई टिका लगाइ दिदैँ वसन्त ऋतुको आगमनसँगै आउने फागु पर्व आपसी मेलमिलाप र सद्भावनाको पर्व रहेको उल्लेख गरेका थिए ।