शैक्षिक परामर्श सेवा दिनेलाई शिक्षा मन्त्रालयको ८ बुँदे निर्देशन, फ्री र डिपेन्डेन्ट भिसा मिलाइ दिन्छ नभन्नू


काठमाडौं । विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्श सेवा दिनेहरुलाई एउटा सूचना निकालेर ८ बुँदे निर्देशन जारी गरेको छ । मन्त्रालयले निकालेको सूचनामा फ्री फिसा र डिपेन्डेन्ट भिसा मिलाइदिन्छु भनेर प्रलोभन नदेखाउन भनेको छ ।
सूचना शैक्षिक परामर्श दातृ निकायहरु, सबै प्रकारका सेवाग्राहीहरु र अन्य सरोकार पक्षहरुमा शैक्षिक परामर्श सेवा दिने र लिनेका भनेर उल्लेख गरिएको छ ।
‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका २०७३ बमोजिम शैक्षिक परामर्श सेवा, भाषा शिक्षण कक्षा र तयारी कक्षा सञ्चालनको लागि स्वीकृति प्राप्त गरेका संस्थाहरुलाई सार्वजनिक सूचना जारी गरी नवीकरणका लागि आह्वान गरिएको छ । यस मन्त्रालयबाट हाल सम्म नवीकरण भएका संस्थाहरुको सूची संलग्न भएको छ । तोकिएको समयमा निवेदन दिएका तर सम्पूर्ण कागजात पेस गर्न बाँकी रहेका संस्थाहरुको कागजात प्राप्त भएपछि आवश्यक अध्ययन तथा छानबिन गरी थप सूची प्रकासन गरिने छ । हाललाई देहाय बमोजिम गर्नु गराउनु हुन नवीकरण भएका संस्थाहरु, परामर्श लगायतका सेवा प्राप्त गर्ने विद्यार्थी तथा अभिभावकहरुमा अनुरोध छ’, मन्त्रालयले निकालेको सूचनामा उल्लेख छ ।
शिक्षा मन्त्रालयका शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखा प्रमुख तथा उपसचिव सेमन्तराज कोइरालाले मन्त्रालयले सूचना निकालेर दर्ता प्रक्रियामा सहभागी नभएका शैक्षिक परामर्श सेवा दिइरहेका संस्थालाई नविकरणका लागि बोलाएको बताए । उनले भने, ‘नेपालमा ९ सय २६ वटा शैक्षिक परामर्श सेवा दिइरहेका संस्थाहरु नवीकरण भएका छन् । बाँकी संस्थाहरुलाई नविकरणका लागि बोलाएका छौं । नविकरणका लागि आवेदन नदिने संस्थाहरु खारेज हुने छन् ।’
यी हुन् मन्त्रालयका ८ बुँदे निर्देशन
१) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट संस्था सञ्चालनका लागि पाएको स्वीकृति पत्र र आर्थिक वर्ष २०८१÷८२ का लागि कार्य सम्पादन गर्न अनुमति पाएको नवीकरण पत्र सबैले देखे स्थानमा राख्ने ।
२) वैदेशिक शैक्षिक परामर्श सेवा उपलब्ध गराउँदा फ्री भिसा, रोजगारीको ग्यारेन्टी तथा डिपेन्डेन्ट भिसा उपलब्ध गराइने जस्ता प्रलोभनयुक्त देखाउन नहुने ।
३) नवीकरणका साथ पेस भएका विदेशी शैक्षिक संस्थाले प्रतिनिधि तोकेका कागजातको आधिकारिकता पुष्टि खुल्ने लिंक सार्वजनिक गरी मन्त्रालयमा समेत पेस गर्नु पर्ने ।
४) सेवा प्रदान गरेका विद्यार्थीहरुसँग भएको सम्झौतासहित अन्य अभिलेख दुरुस्त राख्नु पर्ने ।
५) आफ्नो संस्थाको परामर्शबाट वैदेशिक अध्ययन/तालिममा जाने विद्यार्थीहरुले प्राप्त गर्नु पर्ने ल्इऋ मा संस्थाको नाम अनिवार्य जनाउने व्यवस्था मिलाउनु पर्ने ।
६) मन्त्रालयबाट अनुमति प्राप्त नगरी शैक्षिक मेला, भेला तथा शैक्षिक प्रदर्शनी लगायता कार्यहरु गर्न नहुने ।
(७) मन्त्रालयको अभिलेखमा कायम नरहेका विश्वविद्यालय तथा शिक्षण संस्थाहरुमा अभिलेखीकरण सम्बन्धी प्रक्रिया पूरा नगरी विद्यार्थीलाई अध्ययनको लागि सिफारिस गर्न नहुने ।
८) यस भन्दा अगाडि मन्त्रालयबाट जारी भएका सूचनाहरु कार्यान्वयन गर्नु पर्ने ।