राधिका शाक्यको ‘करुणा’ ले देखाएकाे मार्ग  – Nepal Press

राधिका शाक्यको ‘करुणा’ ले देखाएकाे मार्ग 

राधिका शाक्यद्वारा लिखित ४० वटा जीवन, संघर्ष, राजनीति, शासन, सफलता, असफलता र मानवता लगायतका विविध पक्षबारे लेखिएका लेखहरुको संग्रह हो पुस्तक ‘करुणा’ । जसमा समावेश लेखहरु आममानव र विशेषगरी नेपालीहरुको जीवन, संघर्ष र करुणाको प्रतिबिम्ब हुन् ।

पुस्तकले सारमा नेपाली र संघर्षमय जीवन बिताउनु परेका नेपालीहरुको जीवनको भोगाईको यथार्थ चित्रण गर्दछ । जसमा राधिका शाक्यको अनुभव र यथार्थतामा आधारित यो लेख संग्रहित पुस्तकले नेपाली समाजका आमा, छोरी र बुहारीसहित हरेक नेपालीको जीवन, संघर्ष र करुणाको स्पष्ट चित्रण गरेकाे छ ।

पुस्तकमा नारीहरुको जीवनको भोगाई मात्र नभई लैंगिक दृष्टिकोणबाट नेपाली समाजकाे दुःख, चुनौती, सङघर्ष एवं सफलता समेटिएको छ । पुस्तकको यो पक्षलाई ‘केपी बाको करुणा र राधिका’ शीर्षकमा उल्लेखित मन्तव्यमा पनि चर्चा छ ।

वास्तवमा राधिका शाक्यको ‘करुणा’मा लक्ष्मी प्रसाद देवकोटाका कवितामा पाइने मानव सेवामा समर्पित हुने जीवन दर्शन र गौतम बुद्धको करुणाजस्तो उच्च दर्शन प्रतिबिम्बित भएको अनुभूत हुन्छ । यसले राधिकाको जीवन दर्शन, अनुभव र व्यवहार आममानव र नेपालीभन्दा विशिष्ट रहेको पनि दर्शाउँछ ।

‘करुणा’ मेरो हातमा परेपछि मैले पहिलो कभर पृष्ठमा रहेको उहाँकाे अटल, शान्त र शालीन तस्बिर अनि पछिल्लो कभर पृष्ठको सङघर्ष र सफलताको अभिव्यक्तिमा मेरो ध्यान अडिन पुग्यो । जहाँ भनिएको छ ‘हाम्रा बिहेप्रति बाका केही असहमति जरुर थिए । त्यतिबेलाका बाका असहमति एक न एक दिन मिल्दै जानेछ भन्ने मेरो विश्वास समयक्रममा पुष्टि भयो । मेरो जीवनका सबैभन्दा महत्वपूर्ण दुई पुरुषः मेरा बा र केपी सर । मेरा बा, जसबाट म जन्मिएको थिएँ अनि केपी सर, जोसँग म अन्मिएको थिएँ । बाको हात चलुन्जेल केपी सरले लगाउने कोट बाकै हातले सिलाएका हुन्थे । मेरा बाको हातको सीप केपी सरको शरीरमा कोट बनेर सजिन्थ्यो । केपी सरको शरीरमा सजिएको त्यो कोट फगत एउटा कपडा मात्र नभएर ज्वाइँससुरावीच सम्बन्ध र भावनालाई जोडने सेतु थियो । बाको शिल्पी केपी सरको शरीरमा सजिँदा बनेको सुन्दरताको परिभाषा केवल मेरा आँखाले मात्र पहिल्याउन सक्थे ।’

यसले केपी शर्मासँगकाे उनकाे जीवनकाे यात्रालाई इंगित गर्छ । पुस्तकको पृष्ठ १८ मा लेखिएको मर्मस्पर्शी विषयबाट लेखनमा प्रवेश गर्नु उपयुक्त ठानेकाे छु । यो भनाई नै वास्तवमा सीमित घरपरिवार बाहेक आम नेपालीको जीवन संघर्षको यथार्थता चित्रण हो भन्ने लाग्दछ । कुनैपनि व्यक्तिको जीवनको सफलता बाल्यकालदेखि नै सुरुवात हुन्छ र बाल्यकाल सहज, सुखद र सफल नहुँदा व्यक्तिको जीवनको सफलता नै प्रभावित हुन्छ भन्ने दार्शनिक विचार प्रतिबिम्वित उक्त भनाई यहाँ उल्लेख गर्नु महत्वपूर्ण हुन्छ ।आजका बालवालिका भोलिका कर्णधार ।

‘बाले दालचामल ल्याएको दिन खुशी मिल्थ्यो । दालचामलले खुशी हुनुपर्ने अभाव भोग्नेले बालापनको वास्तविक चञ्चलता गुमाउँदो रहेछ । मेरो बालापन अभाव र सम्झौतामै बित्यो । मान्छेका वर्तमान बाल्यकालको हुर्काइको उपज हो भन्छन् नि, बाल्यकाल सम्झौतामै बितेकोले होला मलाई जीवनमा कुनै खास कुराको प्राप्तिका लागि अतिरिक्त दाबी र मोह कहिल्यै भएन ।’

यो अभिव्यक्ति वास्तवमा नेपालका आम राजनेताहरुमा स्थापित मान्यता हुने हो भने नेपालको सम्वृद्धि र नेपालीको सुखका लागि नेतृत्व जुनसुकै किसिमको त्याग र वलिदान गर्न तयार हुने कुरामा कुनै द्विविधा हुँदैन ।

नेपाली समाजमा आजपनि नेपालीहरुको दुःख र अभावको कथा सुनिन्छ । यस्ता कथा व्यथाहरुप्रति राधिका आमाजस्तै आम नेतृत्व चिन्तित हुने हो भने नेपालीको जीवनमा सुख ल्याउन पक्कै सकिन्थ्यो । लेखिकालाई नेपालीका अनेक किसिमका दुःख र पीडाका दर्दनाक दृश्य र श्रुतिले अत्यन्तै भावुक बनाउँछ ।

पुस्तकको पृष्ठ १०६ मा उल्लेख छ, ‘मोबाइलमा सामाजिक सूचनामाध्यम स्क्रोल गर्दा अरुले के भेट्छन् कुन्नी मेरोमा यस्तै दुःख पाएका समस्यामा परेका व्यक्तिहरुकै दर्दनाक कथा, व्यथाहरु नै आउँछ । त्यसैमा पुगेपछि मेरो ध्यान अडिन्छ । मान्छेले दुःख पाएको कुराले मुटु चिरिन्छ । जन्मिँदै एच.आई.भी. सङक्रमित भएका बालबालिकाका अवस्था देख्दा मन भारी हुन्छ । खुला आकाशमुनि कठ्याङिग्रएर रात काट्न विवश बेवारिस मान्छेहरुका व्यथाले असाध्यै पोल्छ । सुत्केरी महिला, बृद्ध आमाहरु, दीर्घरोगीहरु, साहाराविहिन बालबालिकाका चर्कँदा घाउहरुमा मलम लगाउन लागिपर्न हुट्हुट्याउँछ मेरो मानवसेवाप्रति निष्ठावान अन्तरहृदयले ।’

लेखिकाका यस किसिमका भावविह्वल अभिव्यक्तिले नेपाली राजनीतिको वर्तमान सन्दर्भमा आम नेतृत्वलाई सच्चा र इमान्दार राजनीति गर्न, नेपाल र आम नेपालीको सेवामा लाग्न प्रेरित मात्र गर्दैन कि गम्भीर भएर नेपाल र नेपालीको बारेमा चिन्तन गर्न एवं त्याग र वलिदानपूर्ण राजनीतिलाई स्थापित गर्न मार्गदर्शन गर्दछ ।

नेपालीहरुको दुःख र पीडाले मात्र राधिका आमाको मन छुने होइन कि नेपाली समाजको लैंगिक विभेद र असमानतालगायतका अनेक असमानताले समेत वहाँको ध्यानाकर्षण गर्दै अन्त्यको लागि सोंच्न बाध्य बनाउँथ्यो । यसै प्रसंगमा उनले पुस्तकको पृष्ठ १३६−१३७ मा लेखिएको पुरुषप्रधान समाजको सामाजिक संरचनाबारेको अनुभवले तत्कालीन नेपाली समाजमा नारीको अवस्थालाई चित्रण गरेको छ ।

‘छोराको आशामा लगातार छोरीहरु जन्मिँदा दिक्क भएर कान्छी बहिनीलाई कहिलेकाँही त दुध समेत चुसाउनु हुन्नथियो । कान्छी भोकले हिरिक हिरिक हुँदै जान्थी । हामी आमालाई त्यसो गर्न हुन्न भन्दै रुँदै सम्झाउँथ्यौ र कान्छीलाई दुध चुसाउन मनाउँथ्यौं । कान्छो भाई जन्मिएपछि सन्तान जन्माउने कामबाट आमाले मुक्ति पाउनु भयो । हुर्किँदै गएपछि यो कथा भाईलाई पनि थाहा भयो । अचेल केही कुरामा उसलाई समस्या भयो भने यस्तै दुःख दिनलाई मलाई जन्माएको हो? भनेर सोध्छ । तर आमा प्रश्न नबुझेर निरुत्तर हुनुहुन्छ ।’

पुस्तकमा लेखिकाको यो भनाई उनकाे आफ्नाे मात्र नभएर सारा नेपाली नारीको भोगाइको प्रतिनिधि घट्ना मात्र भनेर । सिंगो नेपाली समाजमा नारीहरुले यस्तै अनेक विभेद र असमानता भोग्नु पर्ने बाध्यता थियो ।

यसबाट नेपाली आमाको जीवन र संघर्ष नेपाली बाबुको भन्दा झनै कठिन थियो भन्ने देखाउँछ । त्यतिमात्र होइन कि आमाको महत्व वास्तवमा अमूल्य छ भन्ने पनि प्रष्ट पार्दछ । त्यतिमात्र होइन कि आमाप्रतिको छोराछोरीको भिन्न व्यवहारको चित्रण पनि गर्दछ ।

आज नेपाली समाजमा भ्रष्टाचार र अनियमितता बढेको र आम नेपालीमा वितृष्णा बढेको अवस्था छ । यस अवस्थामा नेतृत्वलाई निकै आलोचना गरेको पाइन्छ । पदमा पुग्नेहरुको मात्र होइन कि सर्वसाधारणमा समेत पदमा पुगेपछि लाभ लिनुपर्छ भन्ने मनोवृत्ति हावी भएको छ भन्ने देखाउँछ । यस प्रसंगमा पुस्तककाे पृष्ठ १५९ मा भनेको एउटा भनाईले नेपाली समाजमा भ्रष्टाचार र अनियमितता बढावा दिने प्रवृत्ति हावी भएको कुरालाई प्रष्ट्याउँछ ।

‘मन्त्री हुँदा पनि मन्त्री निवास नगएर आफ्नै घरमा बस्ने, विदेश जाने मौका आउँदा पनि सरकारी ढुकुटी जोगाउन विदेश नजाने । मलाई साथीहरुले भन्थे : राधिका ! तिमी त लास्टै मूर्ख मान्छे रहिछौ’, यसले देखाउँछ छ कि नेपालको शासन व्यवस्थामा सुशासन कायम हुन सकेको छैन । सरकारी पदमा पुग्ने, अनुचित लाभ लिने, आफन्त, नातेदार र राजनीतिक कार्यकर्ताको हितमा काम गर्ने परिपाटी विकास भएको छ भन्ने कुरालाई यो भनाईले देखाउँछ ।

तर, प्रधानमन्त्री केपी शर्मा ओली यस्तो परिपाटी र प्रवृत्तिको विरुद्धमा उभिएर आम नेपालीको सुख समृद्धिको चिन्तामा हुनु हुन्छ भन्ने पुष्टि हुन्छ । लेखिकाको जस्तै आम नेतृत्वको परिवार भैदिएमात्र परिवार, नाताकुटुम्ब, राजनीतिक दल र गुटभन्दा माथि उठन सकेमात्र नेपाल र आम नेपालीको हितमा नेतृत्व क्रियाशील हुन सक्दछ ।

देश र जनताको सेवकको रुपमा केपी बा रहेको तथ्य पनि पुस्तकको पृष्ठ १९५ मा उल्लेख गरिएको छ । नेपालको अस्पतालमा नेपाली चिकित्सकहरुबाट नै मिर्गौला प्रत्यारोपण गर्ने प्रधानमन्त्री हुँदाको केपी बाको निर्णय अत्यन्तै महत्वपूर्ण ऐतिहासिक रहेको छ । यस प्रसंगमा राधिका आमाले व्यक्त गरेका अनुभव झनै महत्वपूर्ण र मननीय छ ।

देश र जनताप्रतिको उत्तरदायित्व तथा मानवीय संवेदनाको दृष्टिले समेत उक्त भनाई निकै मर्मस्पर्शी रहेको छ । ‘दोस्रो पटकको मिर्गौला प्रत्यारोपण जोखिमपूर्ण हुन्छ भन्ने थियो । धेरैलाई उहाँको स्वास्थ्यबारे चिन्ता थियो । आफ्नै भनिएका केही मान्छेहरु भने उहाँको कमजोर स्वास्थ्य र उमेरका कारणले पनि यस पटकको प्रत्यारोपण सफल हुँदैन भन्नेमा ढुक्क भएजस्तै थिए । मानिस त आफूलाई अजम्बरी नै ठान्ने र अर्कोचाहिँ मर्छ पो भन्ठान्दो रहेछ । अरुको मृत्युको कामना गर्न सक्ने र चाहने मानिस पनि धेरै हुने रहेछन भन्ने कुरा त्यतिखेर थाहा पाइयो । अनि, धेरै मानिस अरुको सुस्वास्थ्यको कामना गर्न पनि नसक्ने हुँदा रहेछन् भन्ने पनि त्यतिबेलै थाहा भयो । धेरैले धेरै खालका कुरा गरे, सुने, सुनाए तर मैले चाहिँ तिनीहरुलाई कुनै रोग नलागोस्, तिनको दीर्घजीवन होस भनेर उल्टो कामना गरेँ । मलाई अरुको कुभलो चिताउन किनकिन जीवनमा कहिल्यै आएन ।’

यो भनाइले नेपाली समाजमा मानवीय सम्वेदना कमजोर बन्दै गएको देखाउँछ । त्यतिमात्र होइन कि अरुको कुभलो चिताउने प्रवृत्ति हावी हुँदै गएको छ भन्ने पनि देखाउँछ । यो कुरा वास्तवमा अत्यन्तै सोचनीय छ । आपसी सदभाव, सहयोग र एकतामा रहेको नेपाली समाजमा व्यक्तिगत अस्वस्थता हुँदासमेत नकारात्मक सोच आउनु र अभिव्यत्ति हुनुले आजको नेपाली समाजको सामाजिक मूल्य, मान्यता, आस्था र विश्वास पनि नकारात्मक बन्दै गएको पुष्टि गर्दछ । यसले नेपालका राजनीतिक नेतृत्वलाई निकै नै संवेदनशील र जिम्मेवार हुन ध्यानाकर्षण गराउँछ ।

राधिका आमाको करुणा पुस्तकको अध्ययन गर्ने पाठकलाई वास्तवमा नेपाली समाजका सम्पूर्ण पक्षको यथार्थ अनुभूती हुन्छ । यसले नेपाली समाजको सर्वाङगीण पक्षसँग परिचित हुनु हुन्छ र नेपाली समाजका सामाजिक समस्या र आम नेपालीका दैनिक जीवनका दुःख र पीडालाई हटाउन चाहनुहुन्छ भन्ने पुष्टि गर्दछ ।

आम नेपालीलाई मानवीय संवेदनाका साथ बाँच्न, एक अर्काप्रति सदभाव राख्दै सहयोग गर्न, असमानता र विभेदको अन्त्य गर्दै समानता र सामाजिक न्याय स्थापित गर्न यो पुस्तक मूल शिक्षा हुन सक्छ भन्नेमा कुनै विमती नहोला । असल नागरिक, महिला, पुरुष, शिक्षक, कर्मचारी, विद्यार्थी, शासक, नेतृत्व लगायत सवै किसिमको कुशल र असल पक्षलाई प्रवर्द्धन गर्ने मार्गदर्शक शिक्षाको स्रोत हो राधिका शाक्यले लेखेको करुणा पुस्तक ।

करुणाको स्रोत हो यो । जीवनको दर्शन हो । जीवन यात्राको संघर्षको प्रतिबिम्ब र सफलताको मन्त्र हो यो पुस्तक । राधिका आमाको जीवन दर्शन, जीवन संघर्ष र करुणा एवं केपी बाको जस्तो त्याग, वलिदान, देश र जनताको सेवामा जुनसुकै त्याग र वलिदान गर्न तत्पर नेतृत्वको तयार गर्ने मार्गदर्शक आधार हो करुणा पुस्तक ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *