होनाहार आविष्कारको अंग्रेजी फड्कार ! – Nepal Press

होनाहार आविष्कारको अंग्रेजी फड्कार !

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा शुक्रबार दिउँसो साढे १२ बजे एउटा भिडिओ सार्वजनिक भयो । झापाको पत्रकार विजय बरालले खिचेर पोस्ट गरेको उक्त भिडिओमा एक किशोर विद्यार्थीले अंग्रेजीमा मन्तव्य दिएका छन् ।

जुन निकै दमदार र अत्यन्तै ऊर्जाशील अनुभूति गराउने किसिमको छ । उनको प्रस्तुति शैली र मन्तव्यमा प्रयोग गरिएका शब्दहरु र सन्देश प्रवाहको सशक्त माध्यमले गर्दा क्षणभरमै उक्त भिडिओ मन्तव्य भाइरल बन्न पुग्यो ।

फागुन २९ गते झापाको धुलाबारीस्थित होली बेल विद्यालयका २४ औं वार्षिकोत्सव थियो । जहाँ अभिभावक र समाजका विभिन्न व्यक्तिहरुको उपस्थितिमा समारोह आयोजना गरिएको थियो । त्यसक्रममा विद्यार्थीको तर्फबाट कक्षा १० मा अध्ययनरत आविष्कार राउतको पालो आयो । उनले केही दिनदेखि तयार पारेको आफ्नो मन्तव्यको पन्ना लिएर पोडियम उक्लिए ।

विद्यालयकै औपचारिक युनिफर्म आकाशे रंगको सर्ट, घाँटीमा टाइ र गाढा निलो रंगको स्वीटर लगाएका उनले सुरुमै उच्च एवम् शक्तिशाली आवाजबाट आफ्नो मन्तव्य सुरु गरे । उनको अंग्रेजीको भाषणलाई सबैले बुझेनन् होला तर पनि उनको शैली र उनले दिन खोजेको सन्देश प्रवाह गर्न अपनाएको शैली र शारीरिक हाउभाउले सह्रानीय भूमिका खेल्यो ।

उनले केबल दुई मिनेट ४२ सेकेण्ड बोलेको भिडिओमा उनले देशका पछिल्लो अवस्थामा देखिएको निराशालाई उजागार गरेका छन् र देशका समग्र समृद्धि र विकासका लागि युवाहरुले भूमिका निर्वाह गर्नुपर्ने उद्घोष गरेका छन् जुन निकै सान्दर्भिक र मर्मस्पर्शी छ ।

त्यसरी पलमै सामाजिक सञ्जालभरी छरिने किसिमको उक्त मन्तव्यमा के थियो त ?

उनले के बोलेका थिए ? हेरौं भावानुवाद
आज म यहाँ आफूभित्रको ऊर्जा र सपनाको ज्वालासँगै नयाँ नेपाल निर्माणको सपना बोकेर उभिरहेको छु । तर सपना समाप्त हुँदै गइरहेकाले मेरो मन भारी भइरहेको छ । सुनौलो भविष्यको सपना देख्ने एक राष्ट्रप्रेमी युवा आजको हाम्रो होली बेल इंग्लिस स्कूलको २४ औं वार्षिकोत्सवमा खुला हृदयका साथ हात फैलाएर स्वागत गर्दछु ।

यस पलमा मैले आफूलाई तपाईंहरुको सामू उभ्याएको छु कि हामीमाथिको कालो बादलका घेराहरुलाई छोडेर इतिहासको समयरेखामा एक ठूलाठूला रुपान्तरणलाई अमर बनाउन । नेपाल, हाम्रो जननी, आमा जसले हामीलाई जन्म दिनुभयो, पालनपोषण गर्नुभयो ।

तर बदलामा हामीबाट यसले के माग्यो ? मात्रै हाम्रो इमानदारिता, हाम्रो कडा मेहनत तर हामी कसरी गरिरहेका छौं ? हामी बेरोजगारीको साङलोबाट घेरिएका छौं, विदेशिनुलाई अवसरका रुपमा देखिरहेका छौं, हामी राजनीतिक दलहरुको स्वार्थ लाभको खेलमा फसेका छौं, भ्रष्टाचारको जालोले हाम्रो भविष्यको ज्योतिलाई निभाइरहेको छ । हे युवाहरु, उठ, हामी परिवर्तनका संवाहक हौं । तिमीले नबोले, तिमीले आवाज नउठाए कसले उठाउँछ ? तिमीले आवाज नउठाए कसले उठाउँछ ? यदि तिमीले यो देश निर्माण गरेनौ भने कसले गर्छ ? हामी त्यस्तो ज्वाला हौं जसले अँध्यारोलाई छिचोल्छ । हामी त्यस्तो आँधी हौं जसले अन्याय हटाएर समृद्धि ल्याउनेछ । …..

हाम्रा पुर्खाहरुले हामीलाई यो देश दिन आफ्नो रगतको बलिदान गरे । हामी यसलाई बेच्न सक्दैनौ । हामी यसलाई गुमाउन सक्दैनौ । हामी त्यो आगो हौ जसले प्रत्येक निराशालाई जलाउनेछ । अब हामीले निर्णय लिनुपर्नेछ कि हामी अन्धकारको क्षितिजमा डुब्ने कि आशाको सूर्य बनेर उदाउने ? के हामी यो देशको भाग्य बदल्नेछौं वा यसलाई बन्धनमै राखिरहनेछौं ? राजा वीरेन्द्रले एकपटक भन्नुभएको थियो, ‘म मरे पनि मेरो देश बाँचिरहोस् ।’ सबै युवाहरुले यो कुरालाई मनमा लिएर हिँड्नुपर्छ र इतिहासको नयाँ स्मारक कुँद्नुपर्छ । नेपाल हाम्रो देश हो र यसको भविष्य पनि हाम्रो हातमा छ । जय युवा । जय नेपाल ।

उनको यस मन्तव्यका बारेमा सामाजिक सञ्जालमा फरकफरक ढंगले विश्लेषण र टिप्पणी भइरहेको छ । उनको सुरुवाती शैली हेर्दा स्वतन्त्रा सेनानीका रुपमा चिनिने अमेरिकी अभियन्ता मार्टिन लुथर किङको जस्तो ऊर्जा देखिन्छ भने कतिले रेस्लर फाउल हेम्यानको तरिका भन्दै प्रशंसा गरेका छन् त कतिपयले नेपालमा हिटलर शैलीले भाषण भनेर समेत चर्चा गरेका छन् । तर उनले साँच्चै कोबाट कसरी सिके त अंग्रेजी बोलाइको तौरतरिका ?

विद्यालयका शिक्षकशिक्षिकासँग आविष्कार

को हुन् आविष्कार ?
कक्षा १० मा अध्ययनरत आविष्कार सानैदेखि पढाइ सँगसँगै विद्यालयका अन्य गतिविधिहरुमा अब्बल थिए । मेचीनगरमा २०८१ मा भएको आकस्मिक वक्तृत्वकलामा उनले पालिकाहरुबाट ३० भन्दा बढी विद्यालयहरुबाट सहभागी हुँदा प्रथम स्थान हासिल गर्न सफल भएका थिए ।

गम्भीर स्वभावका आविष्कार बहुआयामिक विषयमा रुचि राख्ने, अध्ययन र अनुसन्धान गर्ने सक्रिय विद्यार्थी भएको होली बेल इंग्लिस विद्यालयका निर्देशक अभिषेक प्रधानले नेपाल प्रेससँग बताए । उनले हरेक विषयमा चासो देखाउने भएकाले धेरै जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तिहरुबाट प्रेरणा लिने गरेको निर्देशक प्रधानले बताए ।

‘तयारी गर्ने विषयमा स्वतस्फूर्त रुपमा आफूलाई प्रस्तुत गर्ने स्वभाव उनको छ’, निर्देशक प्रधानले भने, ‘आविष्कार युनिक र स्पेसियल बच्चा हो । उ नेपालमै बसेर समाज सेवा गर्ने देशको लागि केही गर्ने जोश र ऊर्जा भएको बाबु हो ।’

विद्यालयमा पढाइको गुणस्तरमा सम्झौता नगरिए पनि आविष्कार अरुभन्दा फरक रहेको निर्देशकको बुझाइ छ । उनकाे स्पीचले चर्चा पाएपछि आफूहरुलाई पनि गर्व र खुशी लागेकाे उनले बताए ।

के भन्छन् आविष्कार ?

नेपाल प्रेससँग कुरा गर्दै आविष्कारले यसरी आफ्नो भिडिओ भाइरल हुँदा खुशी लागेको साथै अचम्ममा पनि परेको सुनाए । यस्तो हुने विचारले वा हुन्छ भन्ने नसोचेको उनको भनाइ छ । अंग्रेजी एक्सेन्ट कसरी विकास गरेको भन्ने प्रश्नमा आविष्कार भन्छन्, ‘पहिलो त पढेरै हो र युट्युबबाट पनि एकदमै आइडियाहरु लिएँ । अरुले इन्टरनेटमा समय बिताउँदा मैले चाहिँ अलिक केही सिक्ने उद्देश्यले प्रयोग गरेँ । त्यसैले होला ।’

त्यस्तै, आफूले धेरैबाट सिकेकाले कोही एकजनाबाट मात्रै प्रभावित भएको भन्न गाह्रो हुने उनले सुनाए । उनले मार्टिन लुथर किंङदेखि डोनाल्ड ट्रम्प र नेपालका राजा पृथ्वीनारायण शाहदेखि वीरेन्द्रसम्मबाट आफू प्रभावित बनेको उनको आशय थियो ।

उनले आफूजस्तै युवाहरुलाई देशका निम्ति सेवा गर्नुपर्ने बताए । उनको मन्तव्यमा देशको कतिपय अवस्थाको निराशा देखिए पनि आफूले समाजको यथार्थ चित्रण गरेको र आफूजस्तै युवाहरुको प्रतिनिधि आवाज उठाएको बताए । उनले सचेत युवाको रुपमा विचार र कलमबाट योगदान गर्न सकिने उनको ठम्याइ छ । ‘सबैको आआफ्नो विचार हुन्छ’, आविष्कारले भने, ‘आफू जहाँ छ जस्तो छ त्यसैबाट उठेर आफूले योगदान गर्ने प्रयास गर्नुपर्छ जस्तो लाग्छ ।’

के भन्छन् आविष्कारका बुबा आमा ?
आविष्कारका बुबा चन्द्रबहादुर राउत ट्राफिक प्रहरी हुन् । उनी इलाममा कार्यरत छन् । दुई छोरामध्ये आविष्कार कान्छो हुन् भने जेठो छोराले धरानको प्रहरी विद्यालयबाट १२ सकेर हाल उच्च शिक्षाका लागि अष्ट्रेलियामा छन् ।

आविष्कारको मन्तव्य भाइरल भएको आफूले अन्य साथीहरुबाट थाहा पाएको चन्द्रबहादुरले बताए । शुक्रबार हिजो डिउटीमै भएको तर यता घरमा भने आविष्कारलाई ज्वरो आइरहेको थियो । उनले एन्टिबायोटिक खाइरहेका थिए भने उनको कक्षाकै एसईई परीक्षा आइरहेकाले कुनै पनि गतिविधिमा सामेल नगराउने कुरा थियो ।

तर, विद्यालयले आफ्नो वार्षिकोत्सवमा भने एउटा मन्तव्य आविष्कारले सकेको खण्डमा गर्न दिने निर्णय गर्यो । उनले मन्तव्य दिए । अकल्पनीय रुपमा सामाजिक सञ्जालमा छायो पनि । हिजै उनको बुबा चन्द्रबहादुरले बिदा मिलाए अनि छोरालाई हौसला दिन भन्दै घर आए । र स्कुलको होस्टलमा रहेका छोरालाई भेटे ।

आविष्कारले मोबाइल हेरे पनि आवश्यक र सिकाई हुने फाइदाजनक कुरा मात्रै हेर्ने गरेको चन्द्रबहादुरले नेपाल प्रेसलाई सुनाए । ‘बाबुले मोबाइल कहिलेकाहीँ हेरे पनि राम्रा र सिकाइका कुरा मात्रै हेर्छ’, उनले भने ।

त्यस्तै, उनलाई कहिल्यै पनि ‘पढ’ भन्नु नपरेको चन्द्रबहादुर बताउँछन् । ‘बाबु ज्ञानी छ । हामीले उसलाई लगभग पढ भन्नु पर्दैन’, ‘सानैदेखि विभिन्न विषयमा पढ्न, हेर्न सुन्न मन पराउने मान्छे हो । जंगबहादुर, पृथ्वीनारायण शाहहरुको फोटो राख्ने, विश्वका प्रभावशाली मानिसहरुको भिडिओ हेर्ने, जानकारी लिने स्वभाव उनको छ ।’

उनले कसरी ति कुराहरु सिकेको होलान् त भन्ने प्रश्नमा चन्द्रबहादुरले भने, ‘विद्यालयको पढाइ सँगै युट्युबमै हेरेर होला निकै ज्ञान बटुलेको जस्तो लाग्छ, मेरा अन्य साथीहरुले, स्कुलले पनि भन्ने गर्छ कि तपाईंको बाबु ट्यालेन्ट छ भनेर ।’

आविष्कार कानून पढ्न चाहन्छन् । तर पछि के हुन्छ ठ्याक्कै थाहा नभएको चन्द्रबहादुर सुनाउँछन् । छोराको चर्चा चुलिएपछि बुबा आमा दुवै खुशी छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *