खुमलटार पुगेर प्रचण्डसँग शिक्षक महासंघका प्रतिनिधिको गुनासो- ‘गर या मर’को अवस्थामा छौँ – Nepal Press

खुमलटार पुगेर प्रचण्डसँग शिक्षक महासंघका प्रतिनिधिको गुनासो- ‘गर या मर’को अवस्थामा छौँ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग शिक्षक महासंघका प्रतिनिधिले विद्यालय शिक्षा विधेयक पारित गराउन माओवादीको विशेष भूमिका खेल्न आग्रह गरेका छन् । प्रचण्ड भेट्न खुमलटार पुगेका प्रतिनिधिहरुले आफूहरु ‘गर या मर’को अवस्थामा रहेको गुनासो गरे ।

आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधिहरूले प्रचण्ड नेतृत्वको सरकारले नै विद्यालय शिक्षा विधेयक संसदमा दर्ता गराएको स्मरण गराउँदै पारित गराउन पनि विशेष भूमिका खेल्न आग्रह गरे ।

शिक्षक महासंघका प्रतिनिधिले प्रचण्डसँग गुनासो गर्दै भने, ‘गर या मर (डु अर डाई)को अवस्थामा छौँ । विगतमा पनि शिक्षकका मागमा माओवादी र प्रचण्ड उभिएको थियो । यस पटक पनि काँध थाप्न अनुरोध छ । माओवादीले संसदमा दबाबमूलक भूमिका खेलोस् ।’

प्रतिनिधिको गुनासो सुनेपछि प्रचण्डले आन्दोलनरत शिक्षकहरूका मागलाई सरकारले गम्भीर रूपमा लिनुपर्ने बताए । विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्न सरकारसँग प्रचण्डले माग गरे ।

‘अहिले जे जति संशोधन दर्ता भए पनि कतिपय एउटै प्रकृतिका छन् । उपसमिति बनाएर भए पनि तत्काल पारित गर्नेतर्फ जान सकिन्छ’, उनले भने, ‘तर मुख्य कुरा इच्छाशक्तिको हो । शिक्षा र शिक्षकको विषय सरकारको प्राथमिकतामा नपर्दा यसमा ढिलाइ भएको छ ।’

शिक्षकका माग र समग्र शैक्षिक क्षेत्रबारे एउटै दृष्टिकोण बन्न नसकेको बताउँदै अध्यक्ष प्रचण्डले देशको विकास र समृद्धिको मुख्य आधार शिक्षा नै भएको बताए ।

प्रचण्डले थपे, ‘म सरकारमा हुँदा विद्यालय शिक्षा सुधारसम्बन्धी विज्ञको प्रतिवेदन संकलन गर्नै धेरै समय लाग्यो । पछि त्यसलाई कार्यान्वयन गर्न खोजिए पनि अहिले सरकारले अघि बढाउन खोजेको छैन । शिक्षक महासंघले उठाएका विषयमा सडक र संसद दुवै ठाउँबाट पार्टीले सशक्त भूमिका निर्वाह गर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर