बाँकेको बालसुधार गृहमा झडपपछि बन्दीहरूले गरे आगजनी र प्रहरीमाथि ढुंगामुढा (भिडिओ)

रूपन्देही । बाँकेको डुडुवा गाउँपालिका– ५ हिरमिनियास्थित जयन्दु बालसुधार गृहमा होली खेल्ने क्रममा सुरु भएको विवाद झडपमा परिणत भएपछि स्थिति तनावग्रस्त बनेको छ ।
शुक्रबार रातिदेखि सुरू भएको झडपले शनिबार बिहान उग्र रूप लिँदा बन्दीहरूबीच कुटपिट, आगजनी, लुटपाट तथा सुरक्षाकर्मीमाथि आक्रमणको अवस्था सिर्जना भएको हो ।
झडपका क्रममा दुई दर्जन बालबन्दी घाइते भएका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीका अनुसार उनीहरूको भेरी अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये हिजो राति घाइते भएका तीन जना कर्तव्यज्यान र तीन जना जबरजस्ती करणी मुद्दामा सजाय पाएका बालबन्दीहरू रहेका छन् । आज ल्याइएकाको अवस्था खुलेको छैन ।
सुधार गृहमा भएको अराजक घटनापछि दुई जना बन्दी फरार भएका छन् । शनिबार बिहान नियन्त्रणका लागि पुगेका प्रहरीमाथि पनि बन्दीहरूले इँटा प्रहार गरेपछि तीन जना प्रहरी घाइते भएका छन् ।
बालबन्दीहरूले सुधार गृहको माथिल्लो तलाबाट सुरक्षाकर्मीमाथि ढुंगा तथा इँटा प्रहार गरिरहेका छन् । भवनको पर्खाल भत्काउँदै आक्रमण गरिरहेका कारण सुरक्षाकर्मीलाई भित्र प्रवेश गर्न कठिन भइरहेको छ ।
सुधार गृहबाट बाक्लो धुँवा निस्किरहेको र आगजनीका घटना भइरहेकाले स्थिति अझ जटिल बन्दै गएको प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिए । उनका अनुसार अहिले ठूलो आगो नियन्त्रणमा आएको छ ।
‘अहिले आगो नियन्त्रणमा आएको छ, घाइते करिब दुई दर्जन भेरी अस्पतालमा छन्, तर आगो पूरै नियन्त्रणमा आएको छैन । माथिल्लो तला बस्नै नमिल्दो गरी जलेको छ, बीचमा र तल्लो तलामा कम क्षति छ, अहिले प्रहरीले सबै नियन्त्रणमा लिएको छ तर धुवाँ अझै हटेको छैन’ उनले नेपाल प्रेससँग भने ।
सुधार गृहमा बर्दीधारी प्रहरी राख्न नपाइने कानूनी व्यवस्था भएकाले नियन्त्रणमा समस्या भइरहेको सुरक्षा अधिकारीहरूले बताएका छन् ।
सुधार गृहमा उमेर नपुगेका बालबन्दीहरूसँगै १८ वर्ष नाघेका कैदीहरूलाई पनि राख्नुपर्ने अवस्था भएकाले बारम्बार यस्ता झडपहरू दोहोरिँदै आएको बताइएको छ ।
यसअघि पनि सुधार गृहमा झडप हुँदा गत वर्ष असोज ४ गते एक बालबन्दीको मृत्यु भएको थियो। अहिले पनि २०–२५ जना अराजक समूहलाई अन्यत्र स्थानान्तरण नगरे सुधार गृहको व्यवस्थापन झन् जटिल बन्ने प्रशासनको धारणा छ ।
प्रमुख जिल्ला अधिकारी जोशीले भने, ‘बल प्रयोग गर्नसक्ने अवस्था छैन, तर समयमै नियन्त्रण नगरे सुधार गृहभित्र रहेका सबैको ज्यान जोखिममा पर्नसक्छ ।’
यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रमुख जिल्ला अधिकारीले भर्खरै घाइतेलाई भेटेर आएको र अवस्था धेरै गम्भीर नरहेको बताएका छन् ।