समाजवादी मोर्चाको निष्कर्ष- पानी धमिल्याएर राजतन्त्र पुनःस्थापनाको षड्यन्त्र हुँदैछ
सरकार बिचौलिया दलालहरुको स्वार्थसिद्धिमा केन्द्रित रहेको आरोप


काठमाडौं । समाजवादी मोर्चाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकासमा गतिहीनता, सरकारको मानोमानी, देश एवम् जनताको हितविपरीतका गलत क्रियाकलापका कारण जनतामा पैदा भएको असन्तुष्टिलाई धमिलो पानी बनाई गणतन्त्रका विरुद्ध राजतन्त्र पुनःस्थापनाको षड्यन्त्रमा प्रतिगामी र पुनरुत्थानवादी तत्वहरु लागिपरेको निष्कर्ष निकालेको छ ।
समाजवादी मोर्चामा आवद्ध चार दलले संयुक्त विज्ञप्ति निकालेर प्रतिगामी तत्वहरुविरुद्ध सशक्त प्रतिवाद गर्नु, गणतन्त्रको रक्षा गर्नु र नेपाली विशेषताको समाजवादको दिशामा अगाडि बढ्नु वर्तमान राष्ट्रिय राजनीतिको मुख्य कार्यभार बन्न पुगेको औंल्याएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकासमा देखिएको ठहराव र राज्यसत्ताको बागडोर सम्हालेकाहरुको अलोकतान्त्रिक रवैया र गतिविधिका कारण नेपाली जनताका अधिकारहरु एकपछि अर्को कुण्ठित हुँदै गैरहेका छन् । राज्य सञ्चालकको स्वेच्छाचारीका कारण देशले अप्ठेरो र सङ्कटपूर्ण अवस्थाको सामना गरिरहेको छ । भ्रष्टाचार, कमिसन र कालोबजारीले अर्थतन्त्र सङ्कटग्रस्त छ ।’
नेपाली जनताको जनजीविका कहालीलाग्दो अवस्थामा हुँदा पनि सरकार बिचौलिया दलालहरुको स्वार्थसिद्धिमा केन्द्रित रहेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘लोकतान्त्रिक मूल्य मान्यताको उपहास गर्दैछ । अध्यादेशमार्फत सरकार चलाउने, सदनलाई छल्ने र संसदमा दर्ता भएका महत्वपूर्ण विद्येयकहरु नियन्त्रण गरी राख्नेमा उद्यत छ । सरकारको कुशासन र अस्तव्यस्तताका कारण नेपाली जनतामा एकपछि अर्को असन्तुष्टि र आक्रोश तीव्र रुपमा बढ्दै गएको छ । यसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रको स्वाधीनता र नेपाली जनताको समाजवादको यात्रामा चुनौती देखापरेको छ ।