प्रधानमन्त्री कप क्रिकेटः आर्मी र पुलिसको लगातार चौथो जित


रुपन्देही । प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले लगातार चौथो जित निकालेको छ ।
आर्मीले शनिबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा कोशी प्रदेशलाई ७ विकेटले हराएको हो । उसले २३१ रनको लक्ष्य ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
आर्मीको जितमा ओपनर तृतराज दासले नटआउट सर्वाधिक ११२ रन जोडे । यस्तै बसिर अहम्मदले अविजित ६१ र विनोद भण्डारीले २७ रन बनाए ।
कोशीका लागि प्रकाश कार्की, सन्दीप ढुगांना र भुपाल लुइँटेलले समान १-१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोशीले ४९.३ ओभरमा २३० रन बनाएको थियो । कोशीका लागि सुभान गहतराजले सर्वाधिक ५१ रन जोडे । यस्तै सोनु अन्सारीले ४४ र सुजन थपलियाले ४२ रन जोडे ।
आर्मीका लागि सोमपाल कामीले ४, शाहब आलम र आकाश चन्दले समान २-२ तथा कुशल मल्लले १ विकेट लिए । आर्मी अहिलेसम्मका ४ वटै खेलमा अपराजित रहँदै ८ अंक बटुलेको छ । खेलेका सबै चारै खेलमा पराजित कोशी अंकतालिकाको पुछारमा छ ।
त्यस्तै उपाधि दावेदारी देखाइरहेको नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई १९३ रन अन्तरले हराउँदै प्रतियोगितामा लगातार चौथो जित निकालेको छ ।
लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज पुलिस क्लबले दिएको २८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश प्रदेश ९५ रन बनाउँदै २६.१ ओभरमै अलआउट भयो ।
मधेशलाई सस्तैमा समेट्न आजको खेलमा पनि ललितनारायण राजवंशीले सानदार बलिङ गरेर महत्त्वपूर्ण ५ विकेट लिए । पहिलो ओभरको पाँचौं बलमा कप्तान अनिलकुमार साहलाई करण केसीले बोल्ड गर्दै ४ रनमा पेभेलियन फर्काएपछि शुरु भएको विकेट पतन २६.१ ओभरमा सकिएको थियो ।
मधेशका दीपेश दासले ५९ बल खेल्दै १ छक्का र २ चौकाको मद्दतमा ३१ रन बनाए । रुपेश सिंहले १६, विशाल पटेलले १३, हरिशंकर शाहले ३, रोशन बिकले ८, पवन सर्राफले ३, निखिल सिंहले ७ र कमल गुप्ताले १ रन बनाए । अरु खेलाडीले खाता नै खोल्न सकेनन् ।
ललितले ९.१ ओभर बलिङ गरेर २ मेडनसहित २८ रन खर्चेर पाँच विकेट लिए । उनले मयन यादव, हरिशंकर शाह, रोशन बिक, दीपेश दास र पवन सर्राफको विकेट लिए । यस्तै कुशल भुर्तेलले ३ ओभर बलिङ गर्दै २ मेडनसहित १२ रन दिएर २ विकेट लिए । पुलिसका करण केसी, सागर ढकाल र कप्तान दीपेन्द्रसिंह ऐरीले समान १-१ विकेट लिए ।
टीमलाई भारी रन अन्तरले जिताउन महत्त्वपूर्ण भूमिका खेलेका ललित प्लेयर अफ द म्याच भए ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपाल पुलिस क्लबले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २८८ रन रन बनायो । कप्तान दीपेन्द्रसिंह ऐरीले विस्फोटक पारी खेले । उनले ३६ बल खेल्दै ४ छक्का र ५ चौकाको मद्दतमा ६३ रन बनाउँदै विशाल पटेलको बलमा निखिल सिंहको हातबाट क्याच आउट भए ।
यसैगरी आरिफ शेखले ५४ बलमा १ छक्का र ४ चौकाको मद्दतमा ५५ रन बनाउँदै विशाल पटेलकै बलमा कप्तान अनिल साहको हातबाट क्याच आउट भए ।
दिलीप नाथ ४५ रनमा कमल गुप्ताको बलमा एलबीडब्लूको शिकार भए । ओपनर अर्जुन साउदले ४७, शंकर रानाले २७, रसिद खानले १४ र कुशल भुर्तेलले ११ रन बनाए ।
मधेश प्रदेशका लागि रुपेश सिंहले ४, विशाल पटेलले ३, कमल गुप्ताले २ र रञ्जितकुमारले १ विकेट लिए ।
आजको जितसँगै पुलिस चार खेलमा अपरााजित हुँदै ८ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । मधेश प्रदेश भने ३ खेलमा १ मा जित र दुईमा हार व्यहोर्दै २ अंकका साथ छैटौं स्थानमा झरेको छ ।