बाँकेको बाल सुधार गृह घटना: झडपमा तीन दर्जन घाइते, स्थिति नियन्त्रणमा आइसकेको प्रशासनको दाबी – Nepal Press
फलो-अप

बाँकेको बाल सुधार गृह घटना: झडपमा तीन दर्जन घाइते, स्थिति नियन्त्रणमा आइसकेको प्रशासनको दाबी

रुपन्देही । बाँकेको डुडुवामा रहेको जयन्दु बाल सुधार गृहमा भएको झडपमा घाइते हुनेहरुको संख्या बढ्दै गएको छ । अहिलेसम्म ३६ जना घाइते भएको स्थानीय प्रशासनले जनाएको छ ।

बाँके जिल्ला प्रशासन कार्यालयका अनुसार उनीहरुको अवस्था सामान्य रहेको छैन । विभिन्न माग राख्दै आन्दोलनमा रहेका बालबन्दीहरुबीच गयराति झडप भएको थियो । उक्त झडपले उग्र रुप लिएपछि आज सुधार गहृमा आगजनी गरिएको थियो । आगजनीबाट घाइते भएकाहरुको भेरी अस्पताल नेपालगञ्ज र नर्सिङहोममा उपचार भइरहेको छ ।

घटनापछि गएको प्रहरीलाई उनीहरुले इँटा र ढुंगा प्रहार गर्नुका साथै सुधार गृहमै आगो लगाएर क्षतविक्षत पारेका हुन् । घटनामा केही प्रहरी घाइते भएको स्थानीयले बताए पनि प्रहरीले संख्या खुलाएको छैन ।

आगजनीबाट सुधार गृहको भवन ध्वस्त भएको छ । यससँगै बालबन्दीहरुलाई कहाँ राख्ने भन्ने चिन्ता बढेको बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले जानकारी दिए ।

उनका अनुसार झडप भएको झण्डै १५ घण्टापछि स्थिति नियन्त्रणमा आए पनि बाल सुधार गृहबाट उद्धार गरिएका बालबन्दीहरुलाई राख्ने स्थानको समस्या देखिएको छ । सुधार गृहमा २५५ जना बालबन्दी रहेका छन् ।

सुधार गृहमा भएको झडपमा घाइते भएका ३६ जनाको उपचार भइरहे पनि बाँकी रहेका बालबन्दीलाई राख्ने चुनौती आएको प्रजिअ जोशीले बताए ।

वरिपरिबाट घेरा हालेर माइकिङ गर्दै लगातारको प्रयास र आग्रह गरे पनि बालबन्दीहरुले अटेर गरेपछि प्रहरीले सामान्य बल प्रयोग गरेर भित्र प्रवेश गरेको प्रशासनले जनाएको छ । सुरक्षा स्रोतका अनुसार केही बन्दीहरु भागेका छन्, तर त्यसको सबै तथ्यांक आएको छैन ।

प्रहरीले उद्धार गरेका बालबन्दीको गणना सुरु गरेको र केही भागेको हुनसक्ने प्रजिअ जोशीले बताए ।

पछिल्लो समय बाल सुधार गृह प्रशासनका लागि सुरक्षा चुनौती बनिरहेको छ । प्रहरीले बल प्रयोग गर्न नमिल्ने र भित्र रहेकाहरु आपसमा लडिरहने प्रचलन जस्तै बनेको एक प्रहरी अधिकारीले बताए । १८ वर्ष नपुगेलाई राख्न बनाइएको बाल सुधार गृहमा १८ वर्षमाथिलाई पनि मुद्दा किनारा नलाग्दासम्म भन्दै राख्दा सधैं लफडा हुने गरेको जानकारहरु बताउँछन् ।

केही दिन अघिमात्रै सोही सुधार गृहमा तीन जना प्रहरीमाथि कुटपिट भएको थियो । यसअघि झडप गरिरहनेहरुलाई प्रहरीले नौबस्ता सुधार गृहमा स्थानान्तरणसमेत गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर