मुख्यमन्त्री कँडेल भन्छन्- सत्ता सञ्चालकका कमजोरीको दोष व्यवस्थामाथि नथुपारौं


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सत्ता सञ्चालकका कमजोरीको दोष व्यवस्थामाथि नथुपार्न आग्रह गरेका छन् ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको कर्णाली प्रदेशस्तरीय दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले व्यक्तिहरूको कमजोरीका कारण गणतान्त्रिक व्यवस्थामाथि प्रश्न उठाउनु गलत हुने बताएका हुन् ।
सत्ता सञ्चालनमा केही कमजोरी हुनसक्ने भन्दै मुख्यमन्त्री कँडेलले ती सुधार गर्न सकिने बताए ।
‘सत्ता सञ्चालकहरूबाट केही कमजोरी हुन सक्छन्’, उनले भने, ‘नागरिकका अपेक्षा पूरा नहुन पनि सक्छन्, तर ती सुधार गर्न सकिन्छ । व्यवस्थामाथि नै दोष थुपार्नु जायज होइन ।’
गणतन्त्रको विकल्प अझ उन्नत लोकतान्त्रिक प्रणाली मात्र हुनसक्ने बताउँदै उनले व्यवस्था परिवर्तनको कुरा गर्नु अव्यवहारिक भएको उल्लेख गरे ।
सत्ता सञ्चालकहरूका कमजोरीलाई लिएर व्यवस्थामाथि प्रहार गर्दा त्यसले नागरिक अधिकार नै कमजोर बनाउन सक्ने उनको भनाइ छ ।
गणतन्त्र जनताको लामो संघर्षबाट स्थापित भएको उल्लेख गर्दै मुख्यमन्त्री कँडेलले फेरि रैती शासनतर्फ फर्कने कुरा मूर्खता भएको टिप्पणी गरे ।