गुल्मीको रेसुङ्गामा स्ववियु निर्वाचनः तीन विद्यार्थी संगठनको भागबन्डामा सर्वसम्मत नेतृत्व चयन


रुपन्देही । गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पसमा तीन मुख्य संगठन नेविसंघ, अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीको सहमतिमा स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व सर्वसम्मत चयन गरिएको छ ।
संयुक्त प्यानलबाट नेविसंघले नेतृत्व लिने भएको छ । सुरुमा नेविसंघ र अनेरास्ववियुको तालमेल गरिएकोमा शनिबार क्रान्तिकारीसहितका संगठनलाई मिलाएर जाने सहमति भएपछि नेविसंघले नेतृत्व लिने गरी सर्वसम्मत नेतृत्व टुंगो लगाइएको हो ।
नेविसंघका केन्द्रीय सदस्य झविन्द्र पाण्डेले शनिबार सबैको सल्लाहमा क्याम्पसमा राजनैतिक वातावरण नविथोलिने गरी सबै दलको नेतृत्व पंक्ति बसेर साझा प्यानल बनाएर निर्विरोध स्ववियु कार्य समिति घोषणा गर्ने निर्णय भएको बताए ।
उपप्राध्यापक तथा स्ववियु निर्वाचन अधिकृत गोपालप्रसाद पाण्डेले संयुक्त प्यानलबाट नेविसंघका सुदीप खत्री अध्यक्षमा निर्विरोध निर्वाचित भएको जानकारी दिए ।
उनका अनुसार सचिवमा अनेरास्ववियुका निशान टण्डन र कोषाध्यक्षमा नेविसंघकै विश्वास बञ्जाडे निर्विरोध भएका छन् । सदस्यहरुमा नेविसंघकी अनिता पाण्डे र खुमबहादुर खत्री, अनेरास्ववियु क्रान्तिकारीका सागर सुनार, अनेरास्ववियुबाट सन्तोष भण्डारी, नेविसंघबाट सुष्मा पन्थी निर्विरोध भएका छन् ।
त्यस्तै कार्य समितिमा समानुपातिकबाट नेविसंघका सुशील पन्थी, विशाल पाण्डे, अनेरास्ववियुबाट अस्मिता सदा, विनिता कार्की र मुनाल अधिकारी तथा अनेरास्ववियु क्रान्तिकारीबाट प्रियांक पन्थी, अमृता सुनार र सागर सुनार निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत पाण्डेले जानकारी दिए ।