नेता उत्पादन गर्ने पीएन: १६ वर्षपछि हुँदै स्ववियु निर्वाचन (भिडिओ) – Nepal Press

नेता उत्पादन गर्ने पीएन: १६ वर्षपछि हुँदै स्ववियु निर्वाचन (भिडिओ)

पोखरा । देशकै सबैभन्दा धेरै विद्यार्थी रहेको पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसमा १६ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुँदैछ । चैत ५ गते हुने निर्वाचनका लागि अध्यक्षमा ८ प्रतिस्पर्धी मैदानमा छन् ।

एमाले, कांग्रेस, माओवादी निकटका विद्यार्थी संगठनसहित केही स्वतन्त्र रूपमा पनि मैदानमा उत्रिएका हुन् । ९ हजार २७० मतदाता रहेको पीएनको स्ववियु निर्वाचनलाई महत्वपूर्ण रूपमा हेरिएको छ । यहाँ स्ववियु सभापति भएको विद्यार्थी नेता देशकै उच्च पदमा पुग्ने गर्छन् ।

पीएनमा पछिल्लो पटक विसं. २०६५ मा स्ववियु निर्वाचन भएको थियो । त्यसयता स्ववियु निर्वाचन हुन सकेको छैन । यसबीचमा दुई पटक उम्मेदवारी दर्तासम्मको प्रक्रिया भए पनि निर्वाचन हुन सकेन ।

पछिल्लो पटक पीएनको स्ववियु सभापति भएका रश्मि आचार्यले अनेरास्ववियुको केन्द्रीय उपाध्यक्ष हुँदै एमाले गण्डकी प्रदेशको उपसचिवको कार्यकाल सकाएका छन् । त्यसपछि पीएनले नयाँ स्ववियु सभापति पाउन सकेको छैन ।

हरेक दुईदुई वर्षमा स्ववियु निर्वाचन हुने गर्छ । पीएनमा पनि हरेक दुईदुई वर्षमा स्ववियु निर्वाचनको तयारी हुन्छ, तर कुनै न कुनै विवादमा अल्झिएर यहाँ १६ वर्षयता स्ववियु निर्वाचन हुन सकेको छैन । यसपटक भने निर्वाचन हुनेमा विद्यार्थीहरू आशावादी छन् । सोहीअनुसार सबै विद्यार्थी संगठन चुवानी मैदानमा होमिएका छन् ।

एमाले निकट अनेरास्ववियुबाट अध्यक्ष उम्मेदवार विष्णु पोखरेलले कुनै पनि हालतमा यस पटक स्ववियु निर्वाचन हुने विश्वास व्यक्त गरे । उनले पीएन क्याम्पसलाई जिताउन स्ववियु निर्वाचन गराउनुपर्नेमा जोड दिए ।

‘आचारसंहिता कडाइका साथ पालना र निर्माण गर्ने गरेका छौं । त्यसकारण कुनै पनि हालतमा स्ववियु निर्वाचन हुन्छ । सबै विद्यार्थी संगठन के कुरामा प्रस्ट हुनुहुन्छ भने कुनै पनि निर्वाचन नभएर कुनै संगठनले जित्न नपाएरमात्रै नभएर १६ वर्ष यो पीएन क्याम्पसले हारेको हो’, उनले भने, ‘१६ वर्षपछि पीएन क्याम्पसले जित्नुपर्छ । त्यसकारण हामी सबै संगठन पीएन क्याम्पसलाई जिताउन स्ववियु निर्वाचन गराउँदैछौं ।’

विद्यार्थीलाई प्रतिनिधित्व गर्नेहरू विद्यार्थीबीचबाट आउन आवश्यक रहेको नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघबाट अध्यक्षमा उम्मेदवारी दिएका सुशील न्यौपाने बताउँछन् ।

‘विद्यार्थीको जितका निम्ति अहिले स्ववियु निर्वाचन आवश्यक छ । त्यसको निम्ति सबै विद्यार्थी संगठनबाट जिम्मेबार ढंगबाट अहिलेको स्ववियु निर्वाचन हुन्छ भन्नेमा हामी ढुक्क छौं’, उनले भने ।

पछिल्लो पटक २०६५ सालमा पीएनको स्ववियु सभापति बनेका रश्मि स्ववियु नहुँदा लोकतन्त्रको अधिकारमाथि धावा बोल्न खोज्ने प्रवृत्ति हावी भएको बताउँछन् ।

उनी भन्छन्, ‘विश्वविद्यालय र क्याम्पसहरूले विद्यार्थीका साझा मुद्दाहरूमा कुनै एउटा वैधानिक संस्थामार्फत विद्यार्थीको मुद्दा बुझ्न सक्थ्यो भने त्यो स्ववियुमार्फत बुझ्न सक्थ्यो । त्यो कुरा योबीचमा रोकियो । त्यसले विद्यार्थीलाई क्षति भएको छ, ।’

नेता उत्पादन गर्ने पीएन

पीएन क्याम्पसलाई नेता उत्पादन गर्ने थलोको रूपमा लिइन्छ । पीएनका करिब एक दर्जन स्ववियु सभापति अहिले देशकै स्थापित नेता बनिसकेका छन् । २०४०-४१ मा पीएनको स्ववियु सभापति भएका खगराज अधिकारी एमाले गण्डकीका संसदीय दलका नेता हुन् । उनी गण्डकीका मुख्यमन्त्रीदेखि गृहमन्त्री, स्वास्थ्यमन्त्रीसमेत बनिसकेका छन् ।

पीएनको २०५१ सालमा स्ववियु सभापति भएका धनराज आचार्य अहिले पोखरा महानगरपालिका मेयर छन् । उनी तत्कालीन समयमा एमाले निकट अनेरास्ववियुबाट स्ववियु सभापति निर्वाचित भएका थिए । अहिले उनी नेकपा एकीकृत समाजवादीबाट पोखरामा मेयर छन् ।

नेपाली राजनीतिमा स्थापित नेता कृष्णबहादुर महरा, गणेश तिमल्सिना, पदम गिरी, रवीन्द्र अधिकारी, सोमनाथ अधिकारी ‘प्यासी’, राजीव पहारी, झलक सुवेदी, रश्मि आचार्य पनि पीएनकै उत्पादन हुन् । महरा पूर्वसभामुख र तिमल्सिना राष्ट्रियसभाका पूर्वअध्यक्ष हुन् ।

पदम संघ सरकारमा मन्त्री भइसकेका छन् । सोमनाथ प्रदेश प्रमुख छन् । स्वर्गीय रवीन्द्र पर्यटनमन्त्री र राजीव गण्डकी प्रदेशका सांसद भएका थिए ।

पछिल्लो पटक २०६५ सालका पीएन स्ववियु सभापति रश्मिले १६ वर्षसम्म स्ववियु निर्वाचन रोकिँदा देशलाई नै क्षति पुगेको बताए ।

‘स्ववियुलाई लिडरशिप निर्माणको कारखाना भनिन्छ । लिडरशिप निर्माणको प्रक्रिया रोकिँदाखेरि समग्र देशलाई नै क्षति पुगेको छ’, उनले भने ।

चुनाव विद्यार्थीको, परीक्षा नेताको

गत फागुन २७ गते स्ववियु निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउने क्रममा विद्यार्थीको साथमा सम्बन्धित दलका नेता उपस्थित थिए । त्यतिमात्र होइन, नेताहरू स्ववियु निर्वाचनमा टिकट कसलाई दिने भन्नेमा समेत सामेल भए ।

मनोनयन दर्ता गर्ने दिन एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्री, कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल र माओवादी केन्द्रका केन्द्रीय सदस्य रामजीप्रसाद बराल पीएनमा विद्यार्थीसँगै उपस्थित थिए । त्यसयता पनि पार्टीका नेता विद्यार्थीलाई जिताउन लागिपरेका छन् ।

स्ववियु निर्वाचनमा पार्टीको हस्तक्षेप कहीँ पनि नभएको कास्की कांग्रेसका सभापति बराल दाबी गर्छन् । विवाद मिलाउने कुरामा भने पार्टीले सहयोग गरेको उनको तर्क छ । कुनै पनि डरत्रासविना स्वःस्फुर्त रूपमा स्ववियु निर्वाचन हुनुपर्नेमा बरालले जोड दिए ।

राजनीतिक दलका भ्रातृ तथा शुभेच्छुक संगठन भएकाले दलको प्रभाव रहनु स्वाभाविक भएको राजनीतिशास्त्रका प्राध्यापक कपिलमणि दाहाल बताउँछन् ।

तर निर्वाचन भएर स्ववियुमा गएपछि भने भ्रातृ संगठन भनेर बिर्सनुपर्ने उनी सुझाउँछन् । भ्रातृ संगठनहरूलाई जिताउन पार्टीले सहयोग गर्नु दलीय प्रणालीमा अस्वाभाविक मान्न नहुने दाहालकोे तर्क छ ।

विरासत जोगाउने र भत्काउने होड

पीएनमा १६ वर्षपछि निर्वाचन हुन लागेसँगै अहिले क्याम्पस परिसर निकै व्यस्त देखिन्छ । विद्यार्थी नेतादेखि पार्टीका नेता कार्यकर्ता अधिकांश समय क्याम्पसमा बिताइरहेको देख्न सकिन्छ । ९ हजार मतदाता रहेको क्याम्पसमा ४ हजारदेखि ४ हजार ५०० सम्मको संख्यामा मतदानमा सहभागी हुने विद्यार्थी संगठनको आँकलन छ ।

पीएनमा ६ दशकको स्ववियु इतिहास हेर्दा एकाध समयबाहेक अधिकांश समय एमाले निकट अनेरास्ववियुले बाजी मार्दै आएको छ । त्यसकारण पनि अनेरास्ववियुका उम्मेदवार जित्नेमा अलि बढी आशावादी देखिन्छन् । अनेरास्ववियु आफ्नो विरासत जोगाउने र अन्य संगठन उसको विरासत भत्काउने दाउमा छन् ।

अनेरास्ववियुले ७०० देखि एक हजार मतान्तरले जित्ने दाबी गरेको छ । अन्य संगठनले पनि आफूहरूले जित्ने दाबी गर्दै आएका छन् । विशेषगरी पीएनमा अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीबीच मुख्य प्रतिस्पर्धा हुने धेरैको अनुमान छ ।

अनेरास्ववियुबाट अध्यक्ष उम्मेदवार विष्णुले आफ्नो संगठनले गरेको काम नै अहिलेको निर्वाचन जित्ने आधार भएको बताए । अनेरास्ववियुसँग करिब ४ हजार २०० संगठित सदस्य रहेको उनको दाबी छ ।

होस्टेल निर्माणदेखि प्रशासकीय जटिलता अन्त्य गरी डिजिटल युग सुरु गराउन आफ्नो उम्मेदवारी भएको पोखरेलले सुनाए ।

नेविसंघका अध्यक्ष उम्मेदवार सुशीलले न्यूनतम शुल्कमा पढाउन, पुस्तकालय, खानेपानी, प्रशासनलाई व्यवस्थित गर्न आफ्नो उम्मेदवारी रहेको बताए ।

उनले सरकारीकरण हुन लागेको २२२ रोपनी जग्गा क्याम्पसको नाममा फिर्ता ल्याउन आफूले पहल गर्ने उल्लेख गरे ।

झमेलाखालको प्रशासन प्रणालीलाई सुधार्दै डिजिटल प्रशासनिक प्रणाली बनाउने मुख्य एजेण्डा रहेको अखिल क्रान्तिकारीका अध्यक्ष उम्मेदवार नवीन अधिकारीले बताए ।

विद्यार्थीलाई इन्टर्नको व्यवस्थादेखि डिजिटल ह्यान्ड राइजमार्फत आफ्नो आवाज उठाउने विषयमा ध्यान जाने अधिकारीले सुनाए ।

अनेरास्ववियू, अखिल समाजवादी र अखिल क्रान्तिकारी वैद्यको तर्फबाट संयुक्त प्यानलमार्फत उम्मेदवारी दिएका सन्तोष पौडेलले झन्झटिलो प्रक्रियालाई विस्थापित गर्दै डिजिटल प्रक्रियाको थालनी गर्न आफूले उम्मेदवारी दिएको उल्लेख गरे ।

प्राज्ञिक विद्यार्थी परिषद्बाट उम्मेदवारी दिएका दिप्सन गुरुङ, स्वतन्त्र उम्मेदवार कमल सुवेदी र विप्लवी न्यौपानेले विश्वविद्यालयमा दलीय भागबन्डा अन्त्य गर्न आफ्नो उम्मेदवारी रहेको बताए । राष्ट्रिय जनमोर्चा निकट अखिल छैटौंका मिलन सुनारले पनि अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर