धवलागिरी क्याम्पसको स्ववियु अध्यक्ष बन्न तम्सिएकी आश्मिन शेख


पोखरा । बागलुङ नगरपालिका- ३ किराना टोलको मुस्लिम समुदायकी आश्मिन शेख २०७९ को निर्वाचनमै धवलागिरी बहुमुखी क्याम्पसकाे स्ववियु अध्यक्ष हुन चाहन्थिन्, तर सर्वसम्मत नेतृत्व चयन हुने भएपछि उनी पछि हटिन् । उनी क्याम्पसको सर्वसम्मत स्ववियु सदस्य बनिन् ।
अनेरास्ववियुको जिल्ला सचिवालय सदस्य रहेकी आश्मिनले यस पटक पनि अध्यक्ष हुने दावेदारी प्रस्तुत गरिन् । यो पटक भने उनलाई संगठनले नै विश्वास गर्यो ।
उनी अहिले चैत ५ गते हुने स्ववियु निर्वाचनमा अध्यक्ष उम्मेदवार छिन् । आश्मि अखिल संयुक्त प्यानलमार्फत चुनावी मैदानमा उत्रिएकी छन् । उनलाई अखिल संयुक्तअन्तर्गत एमाले, माओवादी, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का विद्यार्थी संगठनले साथ दिएका छन् ।
एमए समाजशास्त्र अध्ययनरत आश्मिन सानैदेखि सार्वजनिक फोरुममा सहभागी हुँदै आएकी छन् । दुई छोरालाई सरकारी स्कुलमा पढाएका आश्मिनका बाबुआमाले उनलाई निजी स्कुलमा पढाएका थिए । अमृत आदर्श माध्यमिक विद्यालयबाट एसएलसी गरेकी उनले अमर आदर्शबाटै कक्षा १२ पूरा गरिन् ।
विद्यार्थी राजनीतिमा भने उनी क्याम्पस आएपछि मात्रै जोडिइन् । २०७८ सालमा उनी अनेरास्ववियुको सचिवालय सदस्य बन्दै विद्यार्थी राजनीतिमा प्रवेश गरेकी हुन् । त्यसपछि २०७९ मा उनी सर्वसम्मत स्ववियु सदस्य बनिन् । उनको चाहना अध्यक्ष बन्ने भए पनि सदस्य चुनिइन् । यसपटक पुरानो इच्छालाई पूरा गर्ने अवसर उनी सामु आइपुगेको छ ।
क्याम्पस प्रशासन केही परिवर्तन गर्न सक्ने विश्वासका लागि स्ववियु अध्यक्षमा उम्मेदवारी दिएको आश्मिन बताउँछिन् ।
‘पहिला पनि स्ववियुमा भएका कारणले र स्ववियुमा हुँदा धेरै एक्पोजर पाएको कारणले फेरि पनि मैले केही परिवर्तन गर्न सक्छु भन्ने विश्वास छ’, उनले भनिन्, ‘विद्यार्थीको कुरा सुनेर प्रशासनलाई विद्यार्थीमैत्री बनाउन सक्छु भन्ने विश्वासका साथ मैले उम्मेदवारी दिएको हुँ ।’
स्ववियु अध्यक्ष भइसकेपछि आफूले प्रशासनलाई पारदर्शी र जवाफदेही बनाउन पहल गर्ने उनले बताइन् । ‘अरु क्याम्पसहरुमा भन्दा फी केही बढी छ । अतिरिक्त शुल्क लिने विषयको हामीले बारम्बार क्याम्पस प्रशासनसँग पारदर्र्शिता र जवाफदेहिता माग्दाखेरि उहाँहरु जवाफदेही हुनुभएन’, उनले भनिन्, ‘प्रशासनलाई पारदर्शी र जवाफदेही बनाउन नै मेरो उम्मेदवारी हो ।’
परिवारकै साथमा आफू राजनीतिमा आएको आश्मिन बताउँछिन् । ‘छोरीलाई पढाउनु हुन्न भन्ने कुरालाई चिर्दै दुइटा छोरालाई सरकारी स्कुलमा पढाइराख्दा पनि मलाई निजी स्कुलमा पढाउनुभएको हो’, उनले भने, ‘मेरो परिवारकै सपोर्टमा म राजनीतिमा आएको हुँ । यो सबै एक्पोजर पाउँदाखेरि परिवारले यति सपोर्ट गर्नुभएपछि अगाडि बढ्नुपर्छ भन्ने लाग्दोरहेछ ।’
स्ववियुमा निर्वाचित भएपछि क्याम्पसमा विद्यार्थी घटिरहेको अवस्थालाई कम गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको आश्मिनले सुनाइन् ।
‘धेरै समस्या भनेको क्याम्पसहरुमा विद्यार्थीहरुको संख्या घटिरहेको छ । त्यो अवस्थालाई हामीले कम गर्न सक्छौं कि’, उनले भनिन्, ‘केही विद्यार्थीलाई शिक्षासँगै पढ्दै, रमाउँदै, कमाउँदै भन्ने कार्यक्रम सञ्चालन गरेर प्रेरित गर्न सक्छौं कि भनेर हामीले एजेन्डा बनाएका छौं ।’
असफल हुने विद्यार्थीलाई एक्स्पर्टबाट मार्गनिर्देश गर्ने जस्ता एजेन्डा राखिएको उनले उल्लेख गरिन् ।
अखिल संयुक्त प्यानलबाट आश्मिनले उम्मेदवारी दिँदा नेविसंघबाट सृष्टि आचार्यले उनलाई टक्कर दिएकी छन् । दीपक सुवेदीले स्वतन्त्र रुपमा अध्यक्ष उम्मेदवारी दिएका छन् ।