विद्यालय व्यवस्थापन समिति छनोट : कांग्रेस-एमाले गठबन्धनलाई हराउँदै माओवादी-समाजवादी प्यानल विजयी – Nepal Press

विद्यालय व्यवस्थापन समिति छनोट : कांग्रेस-एमाले गठबन्धनलाई हराउँदै माओवादी-समाजवादी प्यानल विजयी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सबैभन्दा पुरानो विद्यालयमा विद्यालय व्यवस्थापन समिति छनोटमा कांग्रेस एमाले गठबन्धनलाई हराउँदै माओवादी–समाजवादी गठबन्धनको प्यानल नै विजयी भएको छ ।

विद्यालय व्यवस्थापन समितिको नयाँ पदाधिकारी छनोटका लागि शनिवार निर्वाचन भएको थियो । प्रमुख राजनीति दलहरू गठबन्धन बनाएर निर्वाचनमा होमिएका थिए ।

सत्ता गठबन्धन एमाले र काँग्रेसका उम्मेदवार निमेश श्रेष्ठको प्यानलाई हराउँदै माओवादी र समाजवादी प्यानलबाट उम्मेदवार भएका ईश्वरी प्रसाद श्रेष्ठको प्यानल विजय भएको हो ।

कुल १३ सय ८९ मतदाता रहेकोमा ८ सय ६४ मत खसेको थियो । माओवादी–समाजवादी गठबन्धनका ईश्वरी श्रेष्ठले ३५८,उनकै प्यानलबाट राजन बुढाथोकीले ३ सय ९६, लक्ष्मी श्रेष्ठले ३ सय ८२ निर्मला श्रेष्ठले ३ सय ८२ मत प्राप्त गरेकी थिइन ।

त्यस्तै एमाले, कांग्रेस प्यानलबाट उम्मेदवार भएका निमेश श्रेष्ठले ३ सय २२, निमा लामा २ सय ७७, बिन्दा पुरी ३ सय २४ र लजिता श्रेष्ठले ३ सय ३९ मत प्राप्त गरेकी थिइन ।

माओवादी र समाजवादी गठबन्धनबाट निर्वाचित भएका ईश्वरी श्रेष्ठ एमाले नै हुन् । एमालेले उम्मेदवार नबनाएपछि उनी विद्रोह गरेर अर्को गठबन्धन बनाएर निर्वाचनमा भाग लिएका थिए । त्यस्तै एमाले र कांग्रेसबाट निमेश श्रेष्ठको प्यानल अघि सारिएको थियो ।

ईश्वरी श्रेष्ठ केही वर्ष एमाले छाडेर समाजवादमा गएको केही समयपछि उनी पुन: एमाले मा नै फर्किएका थिए । उनलाई समाजवादी सहित समाजवादी एमालेको लिगेशी बाट पनि धेरै मत आएको नेताहरूको दाबी छ । एमाले केन्द्रीय सदस्य एवं पूर्वसासंद सुवास कर्माचार्य लगायतका नेताहरूको भित्री समर्थन श्रेष्ठलाई रहेको स्रोतको दाबी छ ।

एमाले र कांग्रेसबाट उम्मेदवार भएका निमेश श्रेष्ठलाई भने एमाले नेता एवं पूर्व सासंद कृष्णराज श्रेष्ठ लगायत नेताहरूको समर्थन रहेको थियो ।

कृष्ण रत्न गंगा माविको विव्यस छनोटमा भएको निर्वाचनमा माओवादीले समर्थन गरेका एमाले प्यानलले जितेको छ भने कांग्रेसले समर्थन गरेको एमाले उम्मेदवारहरू पराजित भएका छन् ।

गठबन्धनलाई पराजित गरेर आफूहरूको प्यानल नै जित भएको र चौतारा क्याम्पसको स्ववियु निर्वाचनमा पनि सत्ता गठबन्धनलाई पराजित गर्ने दाबी माओवादी केन्द्रीय सदस्य माधव सापकोटाको दाबी छ । स्ववियु निर्वाचनमा सिन्धुपाल्चोकमा कांग्रेस र एमाले बिच गठबन्धन रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर