बाँकेको बाल सुधार केन्द्र : दुई वर्षमा चार पटक झडप, के हो आन्तरिक कारण ? – Nepal Press

बाँकेको बाल सुधार केन्द्र : दुई वर्षमा चार पटक झडप, के हो आन्तरिक कारण ?

रुपन्देही । बाँकेको डुडुवा गाउँपालिकास्थित जयेन्दु बाल सुधार गृहमा शुक्रवार र शनिवार भएको झडपमा ४९ जना घाइते मात्र भएनन् त्यहाँको भवन आगलागी र तोडफोड भयो ।

४९ जनालाई प्रहरीले त्यहाँस्थित भेरी अस्पताल र नेपालगन्ज मेडिकलमा उपचार गरायो । होलीमा रमाइलो गर्ने विषयमा उनीहरुबीच भएको विवादले उग्ररुप लिएको हो । त्यसो त यहाँको विवाद यो पहिलो होइन ।

दुई वर्षमा यहाँका बन्दीहरुबीच चार पटक यस्तो समस्या आइसकेको छ ।

पछिल्लो घटना कसरी भयो ?

चैत १ गते रातिदेखि नै बालबन्दीबीच झगडा सुरु भएको थियो । त्यसले झडपको रूप लिँदा उनीहरू घाइते भए । उनीहरूले बाल सुधार गृहमा आगजनीसमेत गरे ।

शुक्रवार रातिबाट सुरु भएको तनाव शनिवार दिउँसो प्रहरी प्रवेश गर्न पाएपछि मात्र नियन्त्रणमा आएको हो । बालबन्दीले प्रहरीमाथि इँटा र ढुंगा प्रहार गरेपछि नियन्त्रण लिन हम्मेहम्मे परेको थियो । यसबीच केही प्रहरी पनि घाइते भएका छन् । प्रहरीले बल प्रयोग गरेर शनिवार दिउँसो ५० जनालाई नियन्त्रणमा लिएपछि विवाद साम्य भएको बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले जानकारी दिए ।

झण्डै १६–१७ घण्टापछि स्थिति नियन्त्रणमा आए पनि बाल सुधार गृहबाट उद्धार गरिएका बालबन्दीलाई राख्ने समस्या भएको उनले बताए । प्रहरीले वरिपरिबाट घेरा हालेर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

झडपको मुख्य कारण: क्षमताभन्दा बढी बालबन्दी

बाँकेका प्रमुख जिल्ला अधिकारी जोशीका अनुसार बाल सुधार गृहमा क्षमताभन्दा चार गुणा बढी बालबन्दी छन् । ‘‘बाल सुधार गृहमा ४० देखि ५० जनालाई मात्र राख्नुपर्छ, तर अहिले २५५ जना बालबन्दी छन् ।’’ जोशीले भने ।

उनका अनुसार १८ वर्षभन्दा माथिका धेरै बालबन्दी छन्, जसमा कसैको उमेर २६ वर्षसम्म पुगेको छ । जबकि, १८ वर्ष नपुगेलाई मात्र बाल सुधार गृहमा राख्ने व्यवस्था छ ।

जोशीले बाल सुधार गृहमा प्रहरीले बल प्रयोग गर्न नमिल्ने र हतियारबिना सादा पोशाकमा मात्र प्रहरी बस्ने भएकाले पनि समस्या आएको बताए ।

उनले बालबन्दीहरुलाई सुधार गृहमा आएका र सुध्रिनुपर्छ भन्ने महसुस गराउनुपर्ने जोर दिए । त्यसो त यहाँ मनोचिकित्सक सुविधा पनि केही छैन । उनीहरूलाई कारागार मात्रै नभएको र एकै ठाउँमा धेरै जनालाई थुनेर राखेजस्तो भएपछि यस्तो समस्या आइरहेको अधिकारकर्मीको भनाइ छ ।

एड्भोकेसी फोरमका बाँकेका अध्यक्ष वसन्त गौतमका अनुसार यो केन्द्रमा बालन्यायको सिद्धान्तअनुसार व्यवस्थापन नभएकाले मुख्य समस्या आएको हो । ‘नाम मात्रै बाल सुधार केन्द्रको छ, १८ वर्ष माथिका अधिकांश बसेका छन्, त्यहाँ उनीहरूलाई थुन्ने मात्रै भएको छ, अरू कुनै व्यवस्थापनबारे हेरिएको छैन, क्षमताभन्दा निकै धेरै राखिएकोले समस्या भएको हो’ उनले भने ‘बालन्यायको सिद्धान्त लागू भएन, सुरक्षाको उस्तै समस्या छ, प्रहरीको कुनै दरबन्दी छैन, लागूऔषधको कारोबार भएको छ, त्यो पाउने र नपाउनेबीच झगडा हुन्छ ।’

सुधार केन्द्रमा राखिएका बच्चाहरुलाई असल नागरिक बनाउने अभ्यास नै नभएको, भौतिक पूर्वाधार केही नभएको र क्षमताभन्दा धेरै एकै ठाउँमा राखिदिएपछि यस्ता समस्याको कारण भएको गौतमको भनाइ छ ।

पछिल्लो दुई वर्षमा चौथो पटक झडप

बाँकेको बाल सुधार गृहमा पछिल्लो दुई वर्षमा यो चौथो पटक झडप भएको हो । यसअघि २०८० असोज ४ मा झडप भएको थियो, जसमा एक बालबन्दीको मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए । त्यतिबेला रुपन्देहीको कञ्चन गाउँपालिका–४ का २१ वर्षीय सुलभ केसीको मृत्यु भएको थियो ।

उनी अदालतबाट जेल सजाय भएर २०७९ असार १० मा बाल सुधार गृह आएका थिए । अपहरण, शरीर बन्धक र जबरजस्ती करणी कसुरमा दोषी देखिएका थिए । त्यो झडपमा १० जना घाइते भएका थिए ।

त्यसको चार महिनापछि २०८० पुस १६ मा फेरि झडप भयो, जसमा बाल सुधार गृहमा ठूलो क्षति भएको थियो । त्यसपछि केही महिनामा फेरि झडप भएको थियो, जसमा तीन प्रहरी घाइते भएका थिए ।

समस्या समाधानका उपाय

प्रमुख जिल्ला अधिकारी जोशीले बाल सुधार गृहमा क्षमताभन्दा बढी बालबन्दी राख्नु नै समस्याको मुख्य कारण बताए ।

उनले १८ वर्षभन्दा माथिका बालबन्दीलाई अन्य कारागारमा सार्ने कानून बनाउनुपर्ने र बाल सुधार गृह बाहिर प्रहरीलाई हतियारसहित सुरक्षामा खटाउने व्यवस्था गर्नुपर्ने जोड दिए ।

बाँकेको बाल सुधार गृहमा बारम्बार हुने झडप र समस्याको स्थायी समाधान नभएसम्म यस्ता घटनाहरू दोहोरिने अधिकारकर्मीले पटक पटक यो विषय उठाइरहेका छन् ।

आगलागीले क्षतविक्षत भवनमै राखियो

झडपपछि आगलागी भएको यो भवन बस्न योग्य नभएको प्रमुख जिल्ला अधिकारी जोशीले शनिवार दिउसो नै बताएका थिए । तर रातीसम्म उनीहरूलाई कहाँ राख्ने केही टुंगो लागेन ।

राती अलिकति सरसफाइ गरेर उनीहरूलाई त्यही भवनमै राखियो । अहिले घाइतेहरू अधिकांश अस्पतालबाट डिस्चार्ज भएको र सबैको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर