अन्तर उपत्यकाव्यापी क्लब स्तरीय व्हीलचियर बास्केटबल प्रतियोगिता हुने


काठमाडौं । नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघको आयोजना तथा बागमती प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा अन्तर उपत्यका व्यापी क्लब स्तरीय व्हीलचियर बास्केटबल प्रतियोगिता हुने भएको छ ।
२०८१ चैत्र ४ र ५ गते दशरथ रंगशालाको कबर्डहलमा हुने उक्त प्रतियोगितामा पुरुषका ७ टिम र महिलाको ६ टिम बीच आआफ्नो विधामा प्रतिस्पर्धा हुने नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघका अध्यक्ष देवी आचार्यले बताए ।
अध्यक्ष आचार्यले प्रथम हुने क्लबलाई ५० हजार द्वतीय हुने क्लबलाई ४० हजार र तृतीय हुने क्लबलाई ३० हजारका दरले नगद पुरस्कार राशि रहेको बताए । त्यसै गरी प्रतियोगिताभरि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी र सबैभन्दा धेरै स्कोर गर्ने खेलाडीलाई पनि छुट्टै नगद पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष आचार्यले बताए ।
अन्तर उपत्यकाव्यापी क्लब स्तरीय व्हीलचियर बास्केटबल प्रतियोगिताका मुख्य रेफ्री समेत रहेका वरिष्ठ रेफ्री प्रेम सुन्दर होनाका अनुसार प्रतियोगिता लिग चरणमा हुने र प्रत्येक पोलका विजेता र उपविजेता सेमिफाइनलमा पुग्ने बताए ।
रेफ्री होनाका अनुसार लिग चरणका खेलहरू ६ मिनेट सेमिफाइनल र तेस्रो स्थानका लागि हुने खेलहरू ७ मिनेट अनि फाइनल खेलहरू ८ मिनेटमा खेलाइने छ ।
प्रतियोगितामा महिला र पुरुष गरी १५० जना भन्दा बढी खेलाडीहरूको सहभागिता रहने आयोजक संस्थाले जानकारी दिएको छ ।