‘राजा’- वनको होइन, मनको बाघमात्र – Nepal Press

‘राजा’- वनको होइन, मनको बाघमात्र

उहिल्यैदेखि अहिलेसम्म पनि घुर्की लगाउने केटाकेटीलाई हाउ आयो, हाउ… भन्दै हाउगुजीको डर देखाएर खाना खुवाइप्याइ गराउँछन् अधिकांश आमा । त्यो हाउ कसैले देखेको, भोगेको र व्यहोरेको छैन । शायद आमालाई पनि हजुरआमाले यस्तै केही गर्दै आउनुभयो होला ! आज पनि हातहातमा मोबाइल थमाउन नसक्ने आमाले आफ्ना सन्तानका लागि गर्ने काम र रच्ने उपाय यही हो । वस्तुतः यो आमा र सन्तान दुवैको घुर्की नै हो ।

नेपाली राजनीतिमा पनि हाउ र हाउगुजी सिर्जना गरिएको छ । यो घुर्कीको कोर्सअन्तर्गत कसैले आफूलाई एउटा ठहरावको विन्दुमा ल्याउन खोजेका छन् भनेले राजनीतिकमा नयाँखालको स्पेस लिन चाहेका छन् ।

आमसञ्चारदेखि चिया पसलसम्म र आम नागरिकदेखि राजनीतिक नेता नेतृत्वसम्म ‘राजा’ फर्किने चर्चा एकाएक चुलिएको छ । राजा आउने भनेको के हो ? तीर्थाटनमा निस्कनुभएका राजा आफ्नो निवास आउने अर्थात् फर्कने भनिएको हो कि, सत्ताशीन बन्न राजगद्दीमा आउने भनिएको हो द्विविधा छ । अलिक अस्तिमात्र राजा आउने भनियो, चर्चा एकाएक चुलियो राजधानी र आसपासको अलिअलि मानिस काठमाडौंमा सडक पेटीमा जुट्यो तर राजा त आफ्नो भ्रमण सकेर पोखराबाट काठमाडौंसम्म आउनेमात्र रहेछन् भन्ने पुष्टि हुन पुग्यो ।

राजनीतिक परिवर्तनको लडाइँ जितेपछि राजनीतिक सत्ता र राजकीय सत्तामा पदासीन कतिपय व्यक्तिलाई यो चर्चाले छुने, जोड्ने र घरिघरि झस्काउने गरेको छ । राजनीतिक व्यवस्था परिवर्तनपछि पनि सामाजिक अर्थअवस्था परिवर्तनको अनुभूति गर्न नपाएको व्यक्तिलाई यससम्बन्धी कुनै मतलब छैन ।

मनको बाघको डर

पूर्वराजा राज्य सञ्चालनका लागि आउने, राजनीतिक सत्ताको विकल्पका रूपमा वैकल्पिक शक्ति बनेर आउने, राजगद्दीमा आउने, राजकाजको प्रमुख बनेर आउने, विद्यमान राजनीतिक प्रणालीविरुद्ध अग्रसरता लिन आउने भनेको परिवर्तनका पक्षधर राजनीतिक शक्तिको वरव्यवहारले निर्धारण गर्ने विषय हो । आज हामीले प्राप्त गरेको समाजवादउन्मुख लोकतान्त्रिक गणतन्त्रमा पूर्वराजाको स्थान, स्थानमान र सम्मान आमनागरिकसरह छ ।

आजको राजनीतिक व्यवस्थामा रहनुपर्ने अर्थपूर्ण राजनीतिक पृष्ठभूमि, अनुमोदन अभावको जनादेश र संवैधानिक व्यवस्थामा नभएको ठाउँ लिएर यत्तिकै राजा आउने विषय फगत हल्ला हो । उक्साहटमा उक्सनु र हो-हल्लामा रमाउने कसैको रुचि अभिरुचिको विषय होला तर पूर्वराजा राजकाजको प्रमुख राजा बनेर आउने विषय दलीय व्यवस्थाको खिलाफ हो, असम्भव हो । यो वनको बाघले खाओस्, नखाओस् मनको बाघले खान्छ भने झैँ हो ।

समानतामूलक समाज निर्माणमा राजतन्त्रले महत्त्व दिएन । यसले समाजमा वर्गीय विभाजन आयो । सबै नागरिकलाई समान अवसर दिन लोकतन्त्रका रक्षकले के कति प्रयत्न गर्नुभयो ? आत्मसमीक्षा गर्नुपर्छ र सबै नागरिकलाई समान अवसर प्रदान गर्नुपर्छ । नत्र, आर्थिक, जातीय वा सामाजिकरूपमा जुनसुकै पृष्ठभूमिबाट आएका भए पनि तिनको मनोविज्ञान भड्कन सक्छ ।

यो नेपाली उखानको निकै गहिरो अर्थ लाग्छ । राजश्रीपन, ठाँटबाँठ लिएर राजनीतिकसत्ताको ठालु पल्टिएका मानिसलाई पूर्वराजाको झस्कोले सताएको छ । वनको बाघ पूर्वराजा हो । मनको बाघ आफू वनको बाघभन्दा भयावह बन्ने खतरामाथिको तुषरापात हो । कथमंकदाचिद् वनको बाघ आइदियो भने मनको बाघ कमजोर हुने डर, त्रास, चिन्ता, लोभ, रिस र अन्य कतिपय मानसिक विकारले तनावग्रस्त छ ।

अरु कुनै खतराभन्दा कतिपय नेतृत्वलाई उसको आफ्नै मानसिक डर, तनाव र कमजोरीहरूले बढी सताउने गरेको देखिन्छ, भेटिन्छ । फलस्वरूप वास्तविक बाघले नखाए पनि डर, त्रास, तनाव र असुरक्षाले घेरिएको नेतृत्वले भित्रभित्रै आफूलाई खाइरहेको छ, खियाइरहेको छ । भूतको वस्तु प्रेत बनेर आउने पो हो कि पुरानै झझल्को आफ्नै आँखाअघि उभिएका कारण वनको बाघले सताएको छ ।

व्यावहारिक जीवन र शब्दार्थ

राजा आउने चर्चालाई जनस्तरबाट हेर्दा वास्तवमा केही छैन । छ भने जनस्तरमा गुनासोमात्र छ । जनमतले भन्छ- मेरो वडाध्यक्षले मेरो फोन उठाउँदैन, मेरो मेयरले मेरो फोन उठाउँदैन, मेरो प्रदेशमन्त्रीले मेरो फोन उठाउँदैन, प्रदेशको मुख्यमन्त्रीले मेरो फोन उठाउँदैन, मेरो संघीय मन्त्रीले मेरो फोन उठाउँदैन । अर्थात् मेरो जनप्रतिनिधि मेरो पहुँचमा छैन, मेरो कुरा सुन्दैन, कुनै चासो लिँदैन । यदाकदा ममाथि तीनको दासत्वको बोझ बोकेको रैती झैँ पेश हुन्छ र व्यवहार गर्छ ।

निर्वाचन अघिको सदाचार आकर्षित जनप्रतिनिधिको आचरणमा ह्वात्तै परिवर्तन आएको छ । स्वयंमा जीवन व्यवस्थापन अपत्यारिलो छ, सहजै भन्न सकिने अर्थमा सजिलो छैन, पारदर्शी छैन । नागरिक अपेक्षासँग नेतृत्व नजिकिन सकेको छैन । फलतः राज्य र नागरिकबीचको सम्बन्धको रूपमा रहेको कर रहर हुनुपर्ने, नेतृत्वकै तडकभडकका कारण बोझ बनेको छ ।

संघीयता कार्यान्वयनका लागि चुनिएको जनप्रतिनिधिले यसो राजकाज सम्हाल्ने मौका पायो कि घरको स्थायी हुलिया राजधानीतिर हुन्छ, गाउँ अस्थायी बन्छ । गाँठो सुर्किएको समय एकादेशको कथा बन्छ, जादूशैलीमा सुकिलोमुकिलो दिनचर्या आरम्भ हुन्छ । बालबच्चाको न्वारनदेखि अन्त्येष्टि संस्कारसम्मका १६ वटा कर्ममा नेतृत्वको दिनचर्यामा फड्को मार्न सक्ने भड्किलो अनुभूति हुन्छ । यसबेला स्वाभाविक हो कि आममानिसले आशंकाको नजरले हेर्छ । प्रश्न उठेका बखत उल्टै हाँक, धाँक आदि लगाउने गर्छ ।

आजको राजनीतिक व्यवस्थामा रहनुपर्ने अर्थपूर्ण राजनीतिक पृष्ठभूमि, अनुमोदन अभावको जनादेश र संवैधानिक व्यवस्थामा नभएको ठाउँ लिएर यत्तिकै राजा आउने विषय फगत हल्ला हो । उक्साहटमा उक्सनु र हो-हल्लामा रमाउने कसैको रुचि अभिरुचिको विषय होला तर पूर्वराजा राजकाजको प्रमुख राजा बनेर आउने विषय दलीय व्यवस्थाको खिलाफ हो, असम्भव हो ।

मूलतः परिवर्तनको ज्वार सिर्जना गर्न निर्भीक देखिएको जनमत नेतृत्वको कमजोर उपस्थिति र विषयगत प्रस्तुतिका कारण निराश, हतास र आक्रोशित बनेको छ । यो वातावरण बनाउने रसायनतत्व लिएर बसेको आजको हाम्रो नेतृत्वमा नै राजा ल्याउनुपर्छ भन्ने होहल्ला र चर्चाको प्रेरकपात्र हो । एउटा सुक्ष्म स्रोत हो । यो नेपाली राजनीतिको मूल समस्या हो ।

परिवर्तनका संवाहक शक्तिस्वरूप रहेका हामीभित्र अँटाएको यो राजश्रीपन, नसुहाउँदो ठाँटबाट केही नहुने हो भने राजा आउने कुराको हल्लाले खासै अर्थ राख्दैन । जनमतले हाम्रो राजश्रीपन रुचाएको छैन । आज प्राप्त व्यवस्थाअनुरूप हामी शासक हो कि सेवक ? व्यवस्थाअनुरुप हाम्रो दिनचर्या छ कि छैन ? हाम्रो कार्यास्थलप्रतिको जवाफदेहिता छ कि छैन ? कार्याचरणले हामीलाई पदासीन सुहाएको छ कि छैन ? चुनाव जितेपछि प्राप्त गरेको राजकीयसत्ता सम्हाल्दै गर्दा जनअपेक्षालाई कति प्रतिशत सम्बोधन र व्यवस्थापन गर्न सकेका छौँ ? जस्ता विषयोपर गम्भीर आत्मचिन्तन र मन्थनबाट सामूहिकतामा अग्रसरता लिन नसकेका हामीलाई वनको बाघले भन्दा पनि मनको बाघले खाएको मात्र हो । आ-आफ्ना दलगत आस्था र मान्यताको ब्यानरमुनि उभिएका हामी तत्काल सुध्रिए पुग्छ । लोकतन्त्रको विकल्प सुधारिएको लोकतन्त्र हो, राजतन्त्र होइन र हुन सक्दैन ।

राजा इतिहासमा थन्किएको छ, राजबाजबाट जरोकिलोसहित उखालेर फालेका छौँ । अब किन राजन चाहियो यहाँ ? मात्र कुरा के हो भने राजकाजमा नरहेका हामी कोही पनि राजा नबनौं त ! कसरी आउछ राजा ? नत्र तपाईँ हाम्रो राजश्रीपन मातहत को बन्छ अब यहाँ रैती ? संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल कार्यान्वयनमा आत्मविश्वास गुमाएको नेतृत्व प्राप्त अवसर दीर्घकालपर्यन्त नरहने चिन्ताले थलिएको छ, डर र त्रासले त्रसित छ । राजा आउने बकमफुसे हल्लाले हल्लन खोज्नु भनेको मनको बाघले खानु मात्र हो ।

आजको राज्य व्यवस्था र हाम्रो राजश्रीपन

ऐतिहासिक संविधानसभाद्वारा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्देशित राज्य व्यवस्था समाजवादउन्मुख गणतन्त्रात्मक लोकतान्त्रिक प्रणालीमा आधारित छ, जहाँ नागरिकले प्रत्यक्ष वा परोक्ष रूपमा आफ्ना प्रतिनिधि चुन्छन् र प्रतिनिधिमाझबाट सरकार बन्छ । जनप्रतिनिधिमाझबाटै बनेका कार्यकापालिका, विधायिका र न्यायपालिकाको पृथकताबीच सन्तुलित भूमिका छ ।

जनादेश लिएर आउँदा राजा पनि यसमध्ये कुनै एउटाको अभिन्न अंग बन्न सक्नुहुन्छ । हाम्रो न संवैधानिक राजतन्त्रका रूपमा संरचना बेलायत, जापान, स्वीडेनजस्तो छ न निरंकुश राजतन्त्रका रूपमा साउदी अरेबिया, बु्रनेईजस्तो छ ! अनि पनि किन फगत राजाको पुनरगमनको चर्चा चुलिएको ? बरु नेपालको सन्दर्भमा नेपाल २०६२/०६३ को जनआन्दोलनपछि संघीय लोकतान्त्रिक गणतन्त्र भएको छ । यसअघि नेपालमा शाहवंशको राजतन्त्र थियो, जसलाई २००७ सालमा प्रजातान्त्रिक आन्दोलनले संवैधानिक बनाएको थियो । २०६५ सालमा औपचारिकरूपमा राजतन्त्र समाप्त भएसँगै गणतन्त्र स्थापना भएको छ ।

छ भने हामीकहाँ राजतन्त्रका श्रीपेचधारक पूर्वराजाको जस्तो ठाँटिलो वरव्यवहार, हैकम जमाउने स्वभावशैली, ठालु पल्टने आचरण आदि छ । सामाजिक-सांस्कृतिक अन्तरघुलन र संस्कारमा सामन्तवाद कायमै छ । जडगत रूपमा सामन्तवादी चेतनाले काम गरेको छ । म यसलाई राजश्रीपन भन्न रुचाउने गर्दछु । आजको नेतृत्वमा देखिने राजतन्त्रकालीन सोच, परम्परा वा शासकीय शैलीलाई गणतन्त्रमा पनि जस्ताको तस्तै विद्यमान छ ।

सँगैको साथी वडाध्यक्षदेखि संघीय माननीयसम्म हुनुहुन्छ, पालिका प्रमुखदेखि संघ र प्रदेशको मन्त्री हुनुहुन्छ । उहाँहरू यो पदमा आएयता सामान्य संवाद छैन, टुट्यो । फोन गर्दा उठ्दैन । सामाजिक सरोकारका विषयहरू साझा बन्दैनन् । आमरूपमा मतदाताको वरिपरि होइन, अपवादबाहेक अधिकांश कर छल्ने व्यापारी व्यवसायिक वर्गको घेराबन्दीमा हुनुहुन्छ । लुच्चालफुङालाई संरक्षण दिन भ्याइनभ्याई छ मेरो साथीलाई । यो राजाजस्तै झल्कने राजश्रीपन नभएर के हुन सक्छ त ?

समुदायसँग सरोकार राख्ने सामाजिक मुद्दाभन्दा पनि व्यक्तिपूजाबाट आकर्षित नेतृत्व राजशैलीबाट मुक्त हुन सकेको छैन । राजतन्त्रकालमा राजा र शाही परिवारलाई देवत्वकरण गरिन्थ्यो । अहिले लोकतन्त्रमा पनि कतिपय नेताहरूलाई असाधारण रूपमा महिमामण्डित गरिन्छ, देवत्वकरणमा नेतृत्व खुशी देखिन्छ । जनताको प्रतिनिधि भनेको जनताको सेवक मात्र हो भन्ने मानसिकता अहिले विलासिताका रूपमा विकास भएको छ, जुन सुधार्न आवश्यक छ । नत्र वनको बाघभन्दा पहिल्यै मनको वाघलाई उसैलाई खाएको छ ।

शासकीय संरचनाअन्तर्गत हामीले शक्ति केन्द्रीकरणको परम्परा तोडेका थियौँ । व्यवहारमा तोडिएको छैन । राजतन्त्रमा जस्तै शक्तिलाई एकाधिकारमा बुझिन्छ, एक व्यक्तिमा केन्द्रिकृत गर्न खोजिन्छ । अहिले पनि कुनै व्यक्तिलाई वा संस्थालाई अत्यधिक शक्ति दिने पात्र विशेष प्रवृत्ति बढेको देखिन्छ । यसले क्रमशः विधायिका, कार्यपालिका र न्यायपालिकाबीचको सन्तुलन बिगारेको छ, कमजोर पारेको छ र अनुत्तरदायी बनाएको छ ।

हिजो अनिर्वाचित शासन व्यवस्थाको शासक र जनताबीचको दूरी बढेको हुन्थ्यो । आज ह्वात्तै घट्नुपर्ने तर बढेकै छैन । कम हुनुपर्ने तर झन टाढिएको छ । राजतन्त्रात्मक राज्य व्यवस्थामा जनता शासक वर्गबाट टाढा हुन्थे । कतिपय वडाध्यक्ष, पालिका प्रमुख, मन्त्री, मुख्यमन्त्रीलाई किटेर भन्न सकिन्छ, यसको सिको आज पनि भएको छ ।

विडम्बना ! आजको परिस्कृत लोकतन्त्रमा पनि सरकार र जनताको सम्बन्ध झन् टाढिँदै गएको देखिन्छ । टाढा रहेर होइन, नजिकैबाट आधारभूत तहको जनताको अभाव, माग र समस्यालाई सम्बोधन गर्ने कार्यलाई प्राथमिकता दिनुपर्छ । नत्र तपाईँ नेतृत्वको विकल्पमा एकमात्र राजा हुने व्यवस्थालाई चाहर्नु नागरिकको बाध्यता हुनेछ ।

पूर्वराजा राज्य सञ्चालनका लागि आउने, राजनीतिक सत्ताको विकल्पका रूपमा वैकल्पिक शक्ति बनेर आउने, राजगद्दीमा आउने, राजकाजको प्रमुख बनेर आउने, विद्यमान राजनीतिक प्रणालीविरुद्ध अग्रसरता लिन आउने भनेको परिवर्तनका पक्षधर राजनीतिक शक्तिको वरव्यवहारले निर्धारण गर्ने विषय हो ।

समानतामूलक समाज निर्माणमा राजतन्त्रले महत्त्व दिएन । यसले समाजमा वर्गीय विभाजन आयो । सबै नागरिकलाई समान अवसर दिन लोकतन्त्रका रक्षकले के कति प्रयत्न गर्नुभयो ? आत्मसमीक्षा गर्नुपर्छ र सबै नागरिकलाई समान अवसर प्रदान गर्नुपर्छ । नत्र, आर्थिक, जातीय वा सामाजिकरूपमा जुनसुकै पृष्ठभूमिबाट आएका भए पनि तिनको मनोविज्ञान भड्कन सक्छ ।

जनउत्तरदायी शासन प्रणाली विकास गर्नुपर्ने आजको पहिलो र प्रमुख शर्त हो । यदाकदा देखिँदैन, भेटिँदैन । अख्तियारले डामेका, जेलनेल बस्नुपरेका र फरार सूचिमा रहेकाबाट उत्तरदायित्व बहन हुन सकेन । समाजवादउन्मुख लोकतान्त्रिक शासन व्यवस्थामा पनि पारदर्शिता र जवाफदेहिताको अभाव देखियो । आफ्नो भूमिकाको प्रभावकारिता वृद्धि गर्न ध्यान गएन । यस्तै हो भने धेरै राजाका रूपमा हाँक र धाँक लगाउने तपाईँ नवोदित राजास्वरूपको नेतृत्वलाई राज्यले किन पाल्न पर्छ र ? प्रश्न उब्जनु स्वभाविक हुन्छ । लोकतन्त्रको विकल्प राजतन्त्र होइन, सुधारिएको लोकतन्त्रमात्र हो ।

ओखतीले काम गर्छ भने चिरफार कसैलाई मन पर्दैन । अनावश्यक दुखाई सहन कोही पनि सक्दैन । ओखती नै प्रयोग गरौँ ! गणतन्त्र पक्षधर शक्ति पहिला आफैँमा सुध्रौँ ! शासकीय प्रणालीलाई सुधारौँ ! यसैमा हामी सबैको कल्याण अन्तरनिहित छ । हाम्रा वरव्यवहारका कारण मौलाएको राजा आउने हल्ला समयक्रममा पानीका फोकासरह विलय हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *