सार्वजनिक जग्गाको संरचना रोक्न पुगेका वडाध्यक्षमाथि रड प्रहार (भिडिओ)


पोखरा । पोखरा महानगरपालिका- २१ का वडाध्यक्ष दिपक सुवेदीमाथि एक पुरुषले रड प्रहार गरेका छन् ।
आइतबार सार्वजनिक जग्गामा बनाउँदै गरेको संरचना रोक्न गएका बेला आफूमाथि बाझिपोखरीका भूपेन्द्र गिरीले रड हानेको वडाध्यक्ष सुवेदीले बताए ।
‘सार्वजनिक जग्गामा संरचना नबनाउन हामीले धेरैपटक आग्रह गरियो । तर, रातारात संरचना बनाउने काम भयो । त्यसलाई रोक्न नगरप्रहरीसहित त्यहाँ पुगेका थियौं । कुरा गर्ने क्रममा उहाँले रड प्रहार गर्नुभयो,’ उनले भने ।
वडाध्यक्ष र उनीसँग गएका एकजनाले प्रतिरोध गरेकाले रडले भने लाग्न पाएन । अहिले यही विषयमा छलफल गर्न वडा समिति र सर्वपक्षीय बैठक डाकिएको सुवेदीले बताए ।
पोखराका मेयर धनराज आचार्यले यो घटनाको निन्दा गरेका छन् । घटनाले विकास र न्यायको मार्गमा ठूलो अवरोध सिर्जना गरेको भन्दै उनले संरचना हटाउन अनुरोध गर्दै कागजपत्र लिएर कार्यालय आउन अनुरोध गर्दा अटेर गरी उल्टै जनप्रतिनिधिलाई हातपात गरेको सामाजिक सञ्जालमा लेखेका छन् ।