राजावादी शक्तिहरु सर्वस्वीकार्य नेतृत्वको खोजीमाः निर्मल निवासले अघि सार्यो ८६ वर्षीय नवराज
लिङ्देनलाई बाइपास गर्दै पशुपतिशम्शेरको निवासमा राप्रपाका संस्थापनइतर नेताहरूको बैठक


काठमाडौं । राजसंस्था पुनर्स्थापनाको आन्दोलनलाई प्रभावकारीरूपमा अघि बढाउनका लागि राजावादी शक्तिहरु एकजुट हुने प्रयासमा लागेका छन् । उनीहरुबीच सर्वस्वीकार्य नेतृत्वको खोजी सुरु भएको छ ।
गत साता पूर्वराजालाई स्वागत गर्ने कार्यक्रम ‘अभुतपूर्व’ सफल भएपछि हौसिएका राजावादीहरुले गणतन्त्रलाई धक्का दिनेगरी एकतावद्ध आन्दोलनको तयारी गरेका हुन् ।
तर, यसको नेतृत्व कसले गर्ने भन्नेमा अन्योल छ । राजसंस्था पक्षधर सबैभन्दा ठूलो राजनीतिक शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) हो, जसको अध्यक्षमा युवा नेता (तुलनात्मकरुपमा) राजेन्द्र लिङ्देन छन् । राप्रपाले यो आन्दोलनको नेतृत्व आफैँले गर्न चाहेको थियो । तर, पार्टीभित्रैको इतर गुटले समेत लिङदेनलाई बाइपास गर्दै अर्को कथित सर्वस्वीकार्य व्यक्ति खोजी गरिरहेको छ ।
राजावादी शक्तिहरुलाई एक ठाउँमा ल्याउन पूर्वराजा स्वयम्ले कसरत गरिरहेका छन् । स्रोतका अनुसार एकीकृत आन्दोलनको नेतृत्व गर्न निर्मल निवासले ८६ वर्षिय महेन्द्रकालीन नेता नवराज सुबेदीलाई अघि सारेको छ । रामेछाप निवासी सुबेदी तत्कालीन राष्ट्रिय पञ्चायत (हालको संसदजस्तै) का अध्यक्ष हुन् ।
पञ्चायतकालमा पटक–पटक मन्त्री बनेका उनले परराष्ट्र र शिक्षाबाहेक सबै मन्त्रालय चाखेका छन् । २०४६ सालमा प्रजातन्त्र नआएको भए उनी प्रधानमन्त्री बन्ने लाइनमा थिए । बहुदलीय प्रजातन्त्र पुनस्र्थापनपछि धेरै पूर्वपञ्चहरु यही भेलमा मिसिए पनि सुबेदी भने लामो समय निस्क्रिय बने ।
सुबेदीलाई अघि सारिएकोमा राप्रपाको संस्थापन पक्ष भने त्यति सन्तुष्ट छैन । युवा पुस्ताले चिन्दै नचिन्ने ‘डेट एक्सपायर’ व्यक्तिले यो आन्दोलनको नेतृत्व गर्न नसक्ने संस्थापन पक्षका नेताहरु बताउँछन् ।
पार्टीका एक पदाधिकारीले भने, ‘उहाँ सम्मानित व्यक्ती हो, तर उमेर र स्वास्थ्यका हिसाबले यति ठूलो आन्दोलनलाई सक्रिय नेतृत्व गर्न सक्ने अवस्थामा हुनुहुन्न । राजसंस्था फर्काउने आन्दोलनमा अहिले युवा पुस्ताको ठूलो उपस्थिति छ । उहाँको नामले ती युवाहरुमा कुनै आकर्षण पैदा गर्न सक्दैनन् । धेरैले त उहाँलाई चिन्दैनन् पनि ।’
त्यसो त अहिले सुबेदी राप्रपाकै जिम्मेवार पदमा छन् । उनी पार्टीको कार्यसम्पादन समिति सदस्य र अनुशासन समिति अध्यक्ष समेत हुन् । लिङदेनले नै उनलाई केन्द्रीय कार्यसमितिमा मनोनित गरेर ल्याएका थिए । पार्टीमा आफू मातहत काम गरिरहेका नेताकै नेतृत्व स्वीकारेर आन्दोलनमा जान लिङ्देनलाई प्राविधिकरुपमा कठिन पनि छ । यद्यपि, उनले खुलेर असहमति भने राखेका छैनन् ।
राजा फर्काउने आन्दोलनकै विषयमा छलफल गर्न राप्रपाले आज केन्द्रीय कार्यसम्पादन समितिको वैठक बोलाएको छ । उक्त बैठकले आन्दोलनको मोडालिटीबारे निस्कर्ष निकाल्ने बुझिएको छ ।
‘आन्दोलन कसरी अगाडि बढाउने र कसले संयोजन गर्ने भन्ने लगायतका समग्र विषयहरुमा छलफल हुन्छ,’ अर्का एक पदाधिकारीले भने ।
यसैबीच, सुवेदीले भने पूर्वराजाबाट इशारा भएसँगै भेटघाटमा सक्रिय बनिसकेका छन् । उनले राप्रपा अध्यक्ष लिङदेन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, दुर्गा प्रसाईं, केशरबहादुर विष्ट लगायतसँग बेग्लाबेग्लै भेट गरेको स्रोतले बतायो । सबै भेटघाटहरु सकारात्मक रहेको बताइएको छ ।
हिजो मात्रै उनले राप्रपाका संस्थापनइतर नेताहरूसँग सामूहिक छलफल गरे । पशुपति शम्शेर राणाको निवासमा सो छलफलको आयोजना गरिएको थियो । छलफलमा राणासहित राप्रपाका संस्थापनइतर नेताहरु डा.प्रकाशचन्द्र लोहनी, डा. धवलशम्शेर राणा, विक्रम पाण्डे र हरिबहादुर बस्नेतको उपस्थिति थियो । यो छलफलका विषयवस्तुहरु सार्वजनिक भएका छैनन् ।
वाईयात ! देश काल परिस्थितलाई बुझाैँ, ।
ज्ञाजेन्द्रेलाई ल्याउन पाए उसका खुट्टा मफेर खान पाईन्थ्यो भनेर कुदेका यी सबै सामन्ती, दुनियालाई रैती बनाउन हिडेका फटाहाहरू हुन् ।