ज्ञानेन्द्र शाहीले संसदमै भने- प्रजातन्त्र नमासिने गरी राष्ट्रपतिको ठाउँमा राजा ल्याइन्छ (भिडिओ) – Nepal Press

ज्ञानेन्द्र शाहीले संसदमै भने- प्रजातन्त्र नमासिने गरी राष्ट्रपतिको ठाउँमा राजा ल्याइन्छ (भिडिओ)

‘५ हजार मान्छे मारेको हुँ भन्नेलाई प्रधानमन्त्री स्वीकार्ने व्यवस्था किन चाहियो ?’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसदमै राजतन्त्रको खुला वकालत गरेका छन् । नेपालमा गणतन्त्र र संघीयता पूर्णरुपमा असफल भइसकेको भन्दै उनले प्रजातन्त्र नमासिकन राष्ट्रपतिको ठाउँमा र राजा ल्याउने उद्घोष गरे ।

आज प्रतिनिधिसभा बैठकमा एमाले सांसद रघुजी पन्तले नेपालका राजतन्त्रको बदख्वाइँ गरेपछि शाहीले उठेर प्रतिवाद गर्न खोजेका थिए । तर, सभामुखले उनलाई अनुमति दिएनन् । त्यसपछि आफ्नो पालोमा शाहीले गणतन्त्रको बदख्वाइँ गरे ।

रघुजीलाई कटाक्ष गर्दै शाहीले भने, ‘केही साथीहरू यही व्यवस्था राख्नुपर्छ भन्दै उफ्रिरहनु भएको छ । यो स्वभाविक पनि हो । यो यस्तो व्यवस्था हो, जहाँ चुनाव हारेर पनि सांसद, मन्त्री प्रधानमन्त्री हुन पाइन्छ । यो व्यवस्था आएको १६ वर्षमा १४ पटक सरकार परिवर्तन भए, १ हजार मन्त्री भए, ३ हजार सांसद भए । सबै मिलेर खान पाएपछि यही व्यवस्था उत्तम हो भन्नु स्वभाविक हो ।’

शाहीले अहिले व्यवस्थाको पक्षमा बोल्ने अधिकांश गणतन्त्रवादी नेताका छोराछोरी युरोप अमेरिकामा रहेको बताए ।

उनले थपे, ‘यिनीहरूका छोराछोरी युरोप-अमेरिकामा पढिरहेका छन्, गरिब-दुखीका छोराछोरी दुबई र खाडीमा बेल्चा हानिरहेका छन् । यो १६ वर्षमा १४ हजार नेपाली रातो बाकसमा फर्किए । देशको ऋण २६ खर्ब पुग्यो । कर्मचारी, नेता, सांसद, मुख्यमन्त्री, मन्त्री सबै पाल्दापाल्दै १ वर्षमा १५ खर्ब खर्च हुन्छ । यसैका लागि यो व्यवस्था जोगाउन खोजिएको हो । यो व्यवस्था जनतालाई चाहिएको होइन ।’

‘माननीयज्यूले हत्याराको कुरा गर्नुभयो । मदन भण्डारीको हत्या कसले गर्‍यो ? त्यही पार्टीका प्रधानमन्त्री हुनुहुन्छ, उहाँलाई छानबिन गर्न कसले रोकेको छ ? साथीहरूले काण्डको कुरा गर्नुहुन्छ । म काण्ड सम्झाइदिऊँ ? निर्मला पन्तको बलात्कारपछि हत्या भयो । यत्रा गृहमन्त्री भए, एक जना निर्मलाको हत्यारा पत्ता लगाउन सक्या छौँ ? बाँदरमुढे घटना याद छ ? लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीका हत्यारा यही संसदमा छन् । खुलामञ्चमा उभिएर बसेर ५ हजार मान्छे मारेको हुँ भन्ने व्यक्ति प्रधानमन्त्री बन्न पाउने व्यवस्था हो यो । आज कति छ जनतामाथि कर ? तीन सय वटा कर लगाइएको छ । पैतृक सम्पत्तिमा समेत लाभकर लगाउन थालेका छन् ।’

शाहीले राजतन्त्रमा सबै मानिसहरू अटाउने र प्रजातन्त्र नमासिने उल्लेख गरे । उनले भने, ‘प्रजातन्त्र, लोकतन्त्र केही पनि मासिँदैन । राष्ट्रपतिको ठाउँमा राजा राखिन्छ । जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाइन्छ । यसमा खुल्लमखुल्ला बहस गर्न तयार छौँ ।’


प्रतिक्रिया

One thought on “ज्ञानेन्द्र शाहीले संसदमै भने- प्रजातन्त्र नमासिने गरी राष्ट्रपतिको ठाउँमा राजा ल्याइन्छ (भिडिओ)

  1. शाहीले जनता मार्ने हत्यारा र काण्ड मचाउनेहरुलाई दिए है दनक !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर