गौमुखीमा अनेरास्ववियुबाट छात्राको मात्र टीम तयार, ३ दलको गठबन्धनलाई लगाउलान् पार ? – Nepal Press
स्ववियु चुनाव

गौमुखीमा अनेरास्ववियुबाट छात्राको मात्र टीम तयार, ३ दलको गठबन्धनलाई लगाउलान् पार ?

रुपन्देही । प्यूठानको गौमुखी क्याम्पस मच्छीमा नेकपा एमालेनिकट अनेरास्ववियुले सबै उम्मेदवारमा छात्रालाई अघि सारेको छ ।

छात्राको मात्र प्यानल बनाएर मैदानमा उतारेपछि यो क्याम्पसप्रति सबैको ध्यान तानिएको छ । स्नेहा केसीको नेतृत्वमा अनेरास्ववियुले प्रत्यक्ष र समानुपातिक गरी १३ जनाको टीम तयार पारेको हो ।

प्युठानसँगै बागलुङ, गुल्मी, अर्घाखाँची, रोल्पा, रुकुमका विद्यार्थी अध्ययन गर्ने यो क्याम्पसमा धेरै छात्राहरू नै छन् । शिक्षा र व्यवस्थापन पढाइ हुने यहाँ ३६६ जना मतदाता छन् ।

बीबीएस दोस्रो वर्षमा अध्ययरत कोषाध्यक्षकी उम्मेदवार अबिना श्रेष्ठ भन्छिन्, ‘हामीसँग पढ्ने धेरै पुरुष साथीहरु पनि हुनुहुन्छ तर उहाँहरूले नेतृत्वको लागि त्यति धेरै चासो देखाउनुभएन अनि हामीहरू बसेर अगाडि बढ्नुपर्छ भन्ने योजनाका साथ टोली बनाएका हौं, काम गर्न सकिन्छ, नयाँ सन्देश दिन सकिन्छ भन्ने हिम्मतका साथ मैदानमा आएका छौं’ उनले भनिन् ।

बीबीएस तेस्रो वर्ष पढ्दै गरेकी सचिव उम्मेदवार गिता जिसी पनि महिलाहरू नेतृत्वमा जान पाए केही नयाँ काम गर्न सक्छन् भन्ने उदाहरण देखाउन टीम तयार पारेको बताउँछिन् । सभापति उठेकी स्नेहा बीएड तेस्रो वर्षमा पढ्दै छिन् ।

उनीहरूसँग प्रतिस्पर्धामा नेविसंघ, क्रान्तिकारी र अनेरास्ववियू छैठौंको संयुक्त प्यानल बनेको छ । संयुक्त प्यानलको नेतृत्व प्रविन जिसीले गरेका छन् । अन्य संगठन एकातिर भएपनि आफूहरूको स्पष्ट अवधारणाले सहजै जित्ने दाबी केसीको प्यानलले गरेको छ ।

त्यो प्यानलमा पदाधिकारीमा महिला अनुहार छैनन् । ०६३ सालमा स्थापित यो क्याम्पसमा अहिले ३६६ मतदातामध्ये २९१ जना छात्रा र ७५ जनामात्रै छात्र छन् ।

प्यूठानबाट संघीय सांसद बनेका नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्य थापाले सबै छात्रा उम्मेद्वार रहेको नमूना टीम भन्दै प्रशंसा गरेका छन् । उनले ॲाट र हिम्मत भएका विद्यार्थी नेतृहरू सम्मिलित स्नेहा केसी नेतृत्वको जुझारू टीमलाई सबैले सम्मान गर्नुपर्ने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर