स्ववियु निर्वाचन–महाराजगन्ज नर्सिङ क्याम्पस प्रमुखको भूमिका निष्पक्ष नभएको आरोप


काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल अन्तर्गत महाराजगन्ज नर्सिङ क्याम्पसको स्ववियु निर्वाचनमा क्याम्पस प्रमुखको भूमिकामाथि प्रश्न उठाउँदै विद्यार्थी संगठनहरुले ध्यानाकर्षण गराएका छन् ।
क्याम्पस प्रमुख मुना राना थापाले राजनीतिक आस्थाका आधारमा चुनाव प्रभावित पार्नका लागि विद्यार्थीको भर्ना गर्ने र नलिनेजस्तो विभेदकारी कार्य गरेको तथा क्याम्पसको सम्पत्तिको दुरुपयोग गरेको आरोप लगाइएको छ ।
नर्सिङ क्याम्पस महाराजगन्जको स्ववियु इतिहासमा सधैं जित्दै आएको र अहिले पनि स्ववियुको नेतृत्व गरिरहेको अनेरास्ववियुले क्याम्पस प्रमुखको भूमिका निष्पक्ष नभएको भन्दै लिखित ध्यानाकर्षण गराएको छ ।
निर्वाचनमा सहभागी हुन फागुन २० गतेभित्र पूरै शुल्क तिरिसकेको प्रमाण पेश गर्नुपर्नेमा क्याम्पस प्रमुखले एउटै व्यक्ति अनेरास्ववियुमा हुँदा आधा शुल्क बुझाउँदा अमान्य गरेको र उसैले नेविसंघको उम्मेदवार बन्दा आधा शुल्क बुझाउँदा पनि मान्यता दिएको आरोप अखिलको छ ।
स्ववियु निर्वाचनका लागि नर्सिङ क्याम्पसको इन्चार्ज तथा अनेरास्ववियु स्थायी कमिटी सदस्य प्रेमिका राज्यलक्ष्मी शाहीले महाराजगन्ज नर्सिङ क्याम्पस प्रमुखको भूमिका निष्पक्ष नदेखिएको बताइन् । उनले निष्पक्ष र पारदर्शी निर्वाचनका लागि आफूहरुले ध्यानाकर्षण गराएको जानकारी दिइन् ।
नेविसंघसँग नजिक विद्यार्थीले नियम अनुसार शुल्क नतिरे पनि मतदाता र उम्मेदवार बन्न दिइएको तर अरु विद्यार्थीले पूरा शुल्क तिरेर पनि मतदाता सूचीमा समावेश नगरिएको आरोप छ । यसमा क्याम्पस प्रमुखको भूमिका निष्पक्ष नभएको उन्ीहरुको भनाइ छ ।
त्रिविले निर्वाचन अनुगमनका लागि गरेको व्यवस्थाविपरित क्याम्पस प्रमुनख आफैंले अनुगमनको काम समेत गर्न खोजेको भन्दै अनेरास्ववियुले विरोध जनाएको छ । कार्यविधी अनुसार अनुगमनको जिम्मेवारी तोकिनुपर्ने माग आफूहरुको रहेको प्रेमिकाले बताइन् ।
चैत ५ गते निर्धारित स्ववियु निर्वाचनमा महाराजगन्ज नर्सिङ क्याम्पसमा अनेरास्ववियु र नेविसंघका दुई प्यानलबीच प्रतिस्पर्धा रहेको छ । ५३३ जना मतदाता रहेको सो क्याम्पसमा अनेरास्ववियुबाट मनकुमारी बुढा र नेविसंघबाट विन्दु पोखरेलको प्यानलबीच प्रतिस्पर्धा छ ।
यसैबीच महाराजगञ्ज नर्सिङ क्याम्पसकी क्याम्पस प्रमु मुना राना थापाले व्यक्तिगत काममा क्याम्पसको गाडी तथा साधन स्रोत दुरुपयोग गरेको आरोप समेत यसअघि नै स्ववियु पदाधिकारीले लगाएका थिए ।
गत माघ २८ देखि ३० गतेसम्म भ्रमण आदेश स्वीकृत नगरी निजी काममा बागलुङ जाँदा क्याम्पसको गाडी तथा तेल खर्च गरेको तथा मास्टर्स नर्सिङका विद्यार्थीको अबलोकनको लागि भनेर फागुन २१ देखि २३ गतेसम्म गाडीसहित साधन स्रोत दुरुपयोग गरेको आरोप लगाइएको छ ।
अवलोकनका लागि गएका अर्का शिक्षक जमुना अधिकारीलाई प्लेनमा पठाएर क्याम्पस प्रमुखले सरकारी गाडी निजी प्रयोजनमा लगाएको जस्ता आरोप लगाइएको छ । यसबारेमा जानकारी लिन खोज्दा क्याम्पस प्रमुख थापा भने सम्पर्कमा आउन चाहिनन् । क्याम्पस सहायक प्रमुख तथा सूचना अधिकारी अर्चना पाण्डे विष्टसँग पटकपटक प्रयास गर्दा पनि सम्पर्क हुन सकेन ।
क्याम्पस प्रमुख थापा यसअघि पनि आर्थिक विवादमा परेकी थिइन् । विश्वविद्यालयबाट विद्यार्थी कल्याणकोषका लागि आएको १० लाख रुपैया उनले २०८० भदौदेखि फागुनसम्म आफ्नो व्यक्तिगत खातामा राखेको पाइएपछि अख्तियार र सतर्कता केन्द्रले छानविन थालेपछि फिर्ता गरेकी थिइन् ।