लुम्बिनीका स्पिनर चम्किँदा बागमती प्रदेश ६७ रनमा अलआउट


रुपन्देही । लुम्बिनीका स्पिनर चम्किएसँगै लो स्कोेरिङ लक्ष्य बचाउँदै बाग्मती प्रदेशविरुद्ध ४८ रनको सानदार जीत हासिल गरेको छ ।
दाङको देउखुरीमा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ अन्तरगत लुम्बिनी प्रदेशले दिएको ११६ रनको सामान्य लक्ष्य पछ्याएको बाग्मती प्रदेश २२ दशमलव ५ ओभरमा अलआउट हुँदै ६७ रनमा समेटियो ।
लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा प्रतियोगिताको आठौँ दिनको २० औँ खेलमा जवाफी ब्याटिङ गरेको वाग्मतीले पहिलो पावर प्लेमा ४ विकेट गुमाएर ३६ रन बनाएको थियो ।
दोस्रो पावर प्लेमा आई पुग्दा बाग्मती अलआउट भयो । बागमतीलाई लो स्कोर टारगेटमा पनि रोक्न लुम्बिनीका स्पिनरले उत्कृष्ट बलिङ गर्दै ६ ब्याटरलाई बोल्डआउट गरे । एक ब्याटर एलबीडब्लूको सिकार हुँदा २ ब्याटर क्याचआउट हुँदा १ जना स्टम्पिङ आउट भए ।
११६ रनको विजयी लक्ष्य पछ्याएको वाग्मती प्रदेशका लागि कप्तान पृथु बास्कोटाले २६ बलमा २ चौकासहित १५ रन बनाउँदा विप्रसन केसीको बलमा बोल्ड भए । पहिलो विकेटका रुपमा रित गौतमलाई दोस्रो ओभरको अन्तिम बलमा स्पिनर निर्मल गुरुङ शून्य रनमा आउट गरेपछि शुरु भएको विकेट पतनको सिलसिला स्पिनरको धारिलो बलिङले कायम राख्यो ।
ओपनर आशुतोष घिरैया १५ बलमा २ चौकाको मद्दतमा ११ रन बनाएर रमेश कुर्मीको बलमा आउट भए । शुभ कंशाकार निर्मल गुरुङको बलमा २ रनमा बोल्ड भए । ईशान पाण्डे शून्य रनमा रमेश कुर्मीको बलमा थापाले स्टम्पिङ आउट गरे । सूर्य तामाङ १० बलमा ६ रन बनाएर अजय चौहानको बलमा बोल्ड हुँदा विवेक मगरलाई विप्रसन केसीले ३ रनमा बोल्ड गरे । सुमन सुनार ११ रन बनाएर अजय चौहानको बलमा नरबहादुर सार्कीको हातबाट मिडअनका उत्कृष्ट क्याचआउट भए ।
गौतम केसी ८ रनमा अविजित रहँदा सोनु देवकोटालाई विप्रसन केसीले शून्य रनमा आउट गर्दा र रिजन ढकाललाई अजय चौहानले अन्तिम विकेटका रुपमा शुन्य रनमा पेभेलियन फर्काएपछि २२ दशमलव ५ ओभरमा लुम्बिनीले खेल आफ्नो पक्षमा पार्यो । लुम्बिनीका अजय चौहानले ५ दशमलव ५ ओभरमा २ मेडनसहित १४ रन दिएर ३ विकेट लिए ।
विप्रसन केसीले पनि ६ ओभर बलिङ गर्दै १३ रन खर्चेर ३ विकेट लिए । निर्मल गुरुङले ५ ओभरमा २ मेडनसहित १९ रन खर्चेर २ विकेट लिँदा रमेश कुर्मीले ५ ओभरमा ३ मेडनसहित १५ रन खर्चेर २ विकेट लिए ।
प्रतियोगितामा कसिलो बलिङ गर्दै जीतको आधार तय गरेका लुम्बिनीका विप्रसन केसी प्लेयर अफ द म्याच भए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी प्रदेश ३२ दशमलव ४ ओभरमा अलआउट हुँदै ११५ रन बनाएको थियो ।
लुम्बिनीलाई सस्तैमा समेट्न वाग्मतीका सबै बलरले उत्कृष्ट बलिङ गरे । पाँच बलर प्रयोेग गरेको वाग्मतीका सबै बलरले विकेट लिए । छैठौं ओभरबाट शुरु भएको विकेट पतन ३३ ओभरमा पुगेर टुंगियो । आकाश त्रिपाठीले ३३ रन जोड्नु बाहेक अरु खेलाडीले धैर्यता देखाउन सकेनन् ।
छैठौं ओभरको पाँचौं बलमा रिजन ढकालले ओपनर मृनाल गुरुङलाई व्यक्तिगत ५ रनमा पेभेलियन फर्काए । स्लो रन शुरुवात गरेको लुम्बिनी प्रदेशका खेलाडीले पहिलो पावर प्लेमा २ विकेटको क्षतिमा ३५ रन जोडेका थिए । अर्को ओपनर मनिष थापा ३५ बलको सामना गर्दै १ चौकाको मद्दतमा १५ रन बनाउँदै ईशान पाण्डेको बलमा ढकालको हातबाट क्याच आउट भए ।
लुम्बिनीका कप्तान देव खनालले २७ बल खेल्दै १ चौकासहित १५ रन बनाएर सूर्य तामाङको बलमा तेस्रो विकेटका रुपमा आउट भए । प्रज्वल थापा ६ रन जोडेर ईशान पाण्डेको बलमा बोल्डआउट भए ।
विप्रसन केसी २० बल खेलेर जम्मा ९ रन बनाउँदै गौतम केसीको बलिङमा विकेट किपर विबेक मगरबाट क्याच आउट भए । कृष्ण कार्की १५ बल खेल्दै १ छक्कासहित ७ रन बनाएर गौतम केसीको बलमा लङअनमा सोनु देवकोटाको उत्कृष्ट क्याचमा पेभेलियन फर्किए । निर्मल गुरुङ पाँच बल डट खेलेर शुन्य रनमा आउट हुँदा नरबहादुर सार्की सूर्य तामाङको बलमा रित गौतमको हातबाट क्याच आउट भए ।
रमेश कुर्मी ८ बल खेलेर गौतम केसीको बलमा बोल्ड भए । लुम्बिनीलाई लो स्कोरमा समेट्न गौतम केसीले पाँच दशमलव ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए । सूर्य तामाङले ८ ओभरमा १ मेडनसहित जम्मा १४ रन दिएर २ विकेट लिँदा ईशान पाण्डेले पनि ७ ओभरमा १ मेडनसहित १९ रन खर्चेर २ विकेट लिए ।
रिजन ढकालले २४ रन दिएर १ विकेट लिँदा सोनु देवकोटाले ३७ रन खर्चेर १ विकेट लिए । जारी प्रतियोगितामा लुम्बिनी ४ खेलमा ३ मा जीत निकाल्दै ६ अंकका साथ चौथो स्थानबाट तेस्रो स्थानमा उक्लिएको छ । उता, वाग्मती प्रदेश चार खेलमा १ मा जीत निकाल्नु बाहेक अरु खेलमा सुखद नतिजा निकाल्न सकेको छैन ।
अब प्रतियोगिता अन्तरगत भोली सोमबार लमहीमा लुम्बिनी प्रदेश र मधेश प्रदेशबीच बिहान ९ बजेपछि खेल हुनेछ । नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगितामा ३ विभागीय टीम आर्मी क्लब एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टीमले खेलीरहेका छन् ।
फागुन २५ गतेबाट लुम्बिनी प्रदेशको रुपन्देही र दाङमा प्रतियोगिता जारी छ । दाङसहितमा रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशाला र एक्स्ट्राटेक ओभल मैदानमा एकैसाथ शुरु भएको प्रतियोगिताका खेलहरु राउण्ड रोविनका आधारमा भइरहेका छन् । हरेक टीमले एक अर्को टीमसँग खेल्नेछन् । आगामी चैत १६ गतेसम्म चल्ने प्रतियोगिता अन्तरगत दाङमा १४ वटा खेल हुने तालिका रहेको छ ।