एन्टाले मनायो अस्ट्रेलिया भव्य होली – Nepal Press

एन्टाले मनायो अस्ट्रेलिया भव्य होली

काठमाडाैं ।  एशोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलिया (एन्टा)ले शनिबार  ग्रानभिल पार्कमा आयोजना गरेकाे होली हंगामा हजारौं नेपालीहरुले रंगकाे हाेली  मनाउँदै शुभकामना आदान प्रदान गरे ।

ह्वाइट स्पट ग्रुपको प्रस्तुती रहेको सो होली मेलामा अस्ट्रेलियाका चर्चित नेपाली कलाकारहरुको प्रस्तुतीसहित नेपाली खाना र तराई, मधेश झल्किने विशेष प्रस्तुती समेटिएको थियो ।

स्थानीय ग्रानभिल क्षेत्रकी सांसद जुलिया फीनले औपचारिक रुपमा होली पर्वको शुभारम्भ गर्दै बहुसांस्कृतिक समाजको सुन्दरता भनेको सबै धर्म, जात र कला संस्कृतिको सम्मान गर्नु रहेको बताइन् । यसमाथि पनि रंगको पर्वको रुपमा मनाइने होलीले अस्ट्रेलियामा समेत चर्चा पाइसकेको जिकिर गरिन् ।

कार्यक्रममा एनआरएन ओसेनियाका उप संयोजक अरुण ठाकुरले रंगको तिहारका रुपमा रहेको होली राष्ट्रिय पर्व बनिसकेको र बिदेशमा बस्दैगर्दा पनि यसको महत्व बिर्सनु नहुने बताए । ठाकुरले रंगको मिश्रणसँगै रंगिने होलीले नेपालीबीच पनि आपसी सद्भाव र अपनत्व कायम राख्न थप मद्दत पुग्ने बताए ।

एन्टाका अध्यक्ष रन्जित शाहले नेपालबाट सात समुन्द्रपारी बिदेश आएपनि हामीले आफनो कला संस्कृति बिर्सनु नहुने बताउँदै सहयोग र सद्भावका साथ भब्य रुपमा सफल बनाउन सहयोग गर्ने मनहरुलाई धन्यवाद ज्ञापन गरे ।

रंगहरुको पर्वका रुपमा नेपाल तथा भारतमा मनाइने होली पर्व थप लोकप्रिय बन्दै गएको छ । यो एउटा हाम्रो महत्वपूर्ण चाडै बनिसकेको एन्टाका अध्यक्ष शाहले बताए ।

अध्यक्ष शाहले नेपाली कला संस्कृतिको जर्गेना गर्ने उद्देश्यका साथ पनि सीडनीमा एन्टाले होली पर्व आयोजना गर्दै आएको सुनाए । एन्टाका बोर्ड अफ डाइरेक्टर अंगद मिश्राले कार्यक्रमको सफलताको कामना गर्दै अस्ट्रेलियामा आएर पनि होली मनाउन पाउनु गर्वको विषय रहेको बताए ।

कार्यक्रममा गायक सुदीन पोखरेलको गीतले युवावर्गमा निकै रंग ल्याएको थियो । यस्तै निर्देशक सोभित बस्नेतले बन्दै गरेको नयाँ चलचित्र पीआरको चर्चा गर्दै यसका कलाकारलाई स्टेजमा उतारेका थिए ।

होली हंगामामा कलाकारहरु आरीफ रौफ, शुसान्त गौतम, सन्ध्या जोशी , उल्सन श्रेष्ठ , समय ब्यान्ड, डीजे नटकेस, मानस राज , जेनिशा गौतम लगायतको बिशेष प्रस्तुती रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *